चैत १२,
भैरहवा । प्रदेश पाँचमा औद्योगिक लगानी बढ्दै गएको छ र ठूला लगानीका उद्योग थपिँदै गएका छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीका अनुसार यहाँ उद्योग स्थापना गर्न उद्योगीहरू आकर्षित बनिरहेका छन् । कच्चा पदार्थ आयात र उत्पादन निर्यात सहज भएकाले सीमा क्षेत्रका जिल्लामा उद्योग खुल्ने क्रम बढेको हो । पश्चिम नवलपरासीदेखि नेपालगन्जसम्म उद्योग सञ्चालन भइरहेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा मात्र प्रदेशमा ५३ वटा ठूला उद्योग थपिएका थिए । ती उद्योगमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपियाँ लगानी भएको छ ।
उद्योगमा विदेशी लगानी उत्साहजनक वृद्धि भइरहेको छ । प्रदेश सरकारको वस्तुस्थिति विवरणअनुसार यहाँ १७८ वटा विदेशी लगानीका उद्योग छन् । तीमध्ये ११० साना, ३९ मझौला र २९ ठूला हुन् । ती उद्योगमा १३ अर्ब ६३ करोडको लगानी छ । गत आर्थिक वर्षमा मात्रै चार अर्ब ३८ करोड २९ लाख १० हजार वैदेशिक लगानी भित्रिएको थियो । प्रदेशमा सबैभन्दा धेरै वैदेशिक लगानी पश्चिम नवलपरासी र रुपन्देहीमा छ । यहाँका उद्योगमा भारत, चीन, जापान, अमेरिका, डेनमार्कलगायत देशले लगानी गरेका छन् । पछिल्लो समय उद्योगमा लगानीका लागि आउने चिनियाँ कम्पनी पनि बढेका छन् ।
प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेश वस्तुस्थिति विवरणअनुसार यहाँ ५८२ वटा ठूला उद्योग छन् । ठूला सिमेन्ट उद्योग बढ्ने क्रममा छन् । देशका क्लिङ्कर आयात गरी सिमेन्ट उत्पादन गर्ने ३६ मध्ये २१ उद्योग यहाँ छन् । आफ्नै क्लिङ्कर उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने ११ मध्ये पाँच उद्योग यो प्रदेशमा छन् । देशका १८ वटा छड उद्योगमध्ये आठवटा यहाँ छन् । मैदा, कुखुराको दाना, ह्याचरी, प्लास्टिकजन्य उत्पादन, कागज, प्लाइउड, फोम, फुटवेयरजस्ता ठूला उद्योगसमेत अहिले बढेका छन् ।
खाद्यान्नमा चाउचाउ, बिस्कुट, चप्पल, जुत्ता, दाल, मैदा तथा औषधि, बियरलगायत उद्योग थपिएका छन् । यस वर्ष भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा १८ उद्योगीले उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गरिरहेका छन् । औद्योगिक सहजताका लागि पछिल्लो समयमा बाँके र रुपन्देहीमा नयाँ औद्योगिक क्षेत्र सञ्चालनको तयारी भइरहेको छ । तीनमा करिब एक हजार उद्योग थपिने छन् ।
प्रादेशिक योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठका अनुसार विशाखापटनम् बन्दरगाह सञ्चालनमा आएपछि वीरगञ्जको साटो बेलहिया नाकाबाट कच्चा पदार्थ ल्याउन सहज भइरहेको छ । छोटो दूरीका कारण बेलहिया नाका हुँदै ल्याइने कच्चा पदार्थका लागि यस क्षेत्रमा उद्योग सञ्चालन व्यवसायीका लागि लाभदायक हुने भएकाले चिनियाँ लगानीकर्ता आकर्षित भएका हुन् ।
प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीमा ठूला उद्योग ३२० वटा छन् । बाँकेमा १८५ र कपिलवस्तुमा ११० ठूला उद्योग छन् । बर्दिया, दाङ, पश्चिम नवलपरासी औद्योगिक क्षेत्रका रूपमा अघि बढेका छन् । दाङ र रुपन्देही सिमेन्ट हबका रूपमा विकास भएका छन् । प्रदेशका करिब ४५ हजार बासिन्दा ठूला उद्योगमा संलग्न छन् । -लक्ष्मण पौडेल /गोरखापत्र
प्रतिक्रिया