भाद्र महिनाको शुल्क पक्ष तृतीया तिथी हिन्दु महिलाको महान धार्मिक चाड हरितालिका तीजको आफ्नै सामाजिक, सांस्कृतिक एवम् आध्यात्मिक महत्व रहेको छ । देवी पार्वतीले महादेव भगवान शिवलाई पतिको रुपमा पाउन आफू शिवको लागि योग्य बन्न तपस्या गरेकी थिइन । हिन्दूहरुको दजर्नौ चाड पर्वमा संभवतः सबैभन्दा धेरै दिन रमाइलो गर्ने परिवारबाट फराकिलो बनेर संघ, संस्था एवम् समाजमा समेत राम्रो सद्भाव फैलाउन सक्ने चेली र माइतीको सम्बन्ध गाँसिएको चाड तीज हो ।
तीज विशेष गरी चेलीहरु माइत जाने, दरखाने, पतिको लागि व्रत बस्ने, नयाँ रातो लुगा लगाउने, गहना लगाउनेसँग बढी चर्चामा आउँछ । तीजको सम्बन्ध तीजको गीतसँग अझ बढी छ । तीजको गीतमा आफ्नै शव्द, लय तथा नाँच रहेको छ । तीजको गीतका शब्दहरुमा भगवानको बारेमा, चेलीको गुनासो र चिन्ताको, लुगा गहना, श्रृगार, सुन्दरता, माइतीको माया एवम् घरको जिम्मेवारी, पति प्रतिको माया, चेलीको इच्छा, आकांक्षालाई गीतको सरल शब्दमा लय हालेर गाइन्छ र नाचिन्छ तीज गीत तीजकै सबभन्दा सुन्दर पाटो हो ।
पछिल्लो समयमा राजनीतिक आस्था, घटना, गुनासो, आदिमा पनि तीजका गीतहरु बनेका छन् । धेरैजसो गीत साह्रै राम्रो छन् तर केही गीत साह्रै चित्त नबुझ्दो एवम् महिलाको महान चाडमा महिलालाई नै अपमानित गर्ने खालको देखाइएको छ । जसमा पशुपति शर्माको “मेरो बुढा युकेमा टन्न पैसा खान्छ, आओ साथी पार्टी गरम मेरो केनै जान्छ, बेला भयो, पजेरो गुडाउने, पोई कमाउने स्वास्नीले उडाउने”, “कार किनेर ल्याउ बुढा मोटरसाइकल झ्याउ ” । श्रीदेवी सापकोटाको “वान पिस लाको देखे, विचबाटोमा खोली दिन्छु ।” दामोदर भण्डारीको “चाइनिज लुगा” । रमिता न्यौपानेको “पंखा चलाइदेउ” । नवराज पाण्डेको शब्दमा “तेरी स्वास्नी पोइल गई” । राधिका हमालको “मेरी सानी साह्रै गुणी, माया चाहिए माया दिन्छिन, पैसा चाहिए पैसा ” “ घरमा बुढी बाहिर तरुनी, सँगै राख्दा दुईटीको झगडा लौन म कसो गरुनी ” ।
खुमन अधिकारीको “माछो माछो भ्यागुतो गराई मलाई ” “अफिस जान्छु घरमा आउँछु आफैं पर्छु भान्से, मोवाइलको चार्ज सकेर बल्ल भात खान्छे ” । कञ्चन अधिकारीको “कतिले भन्छ अरे, कति केटा फेरी, भन्छन रे मयुर दाईले भूपु गल्फ्रेण्ड मेरी ” । सन्तोष केसीको “जगल्टाले दुःख पाको होला, तेरो डंकीनी जस्ले सिन्को भाँच्दैन उही सन्किनी ” । “जता राख तिम्री आमा म सक्दिन है” विपना मगर र टीका देवी शाहको “के कस्तो छ, थाहा छैन तिमीलाई घरमा बसी खाको छौ ऋण लगाइ” । रेशम सापकोटाको “आईमाईलाई चिठ्ठा हो रे साउदी कतार” “म त हाकिमनी हाकीम मेरो पोइ, अब घरमा नोकर खोई” “तेरो हो कि मेरो पोइ आइज हेरम ओइ” । शर्मिला रायमाझीको “छेउमा परे गोजी भित्र छिराई हाल्छे हात, करोडबाट रोडमा ल्याउने यही आईमाईको जात” जस्ता गीतहरु छन् । यस्ता गीतहरुका शब्दले महिलाको महान पर्वमा महिलाको इज्जत अस्तित्व कस्तो देखाउन खोजेको हो ?
गीतको मौलिकतासँग महिला खुसी हुने रमाउने गीतमा गीतकै शब्दले महिलालाई चरित्रहिन, झुटी, गैरजिम्मेवार, परनिर्भर, कामचोर, विवेकहिन, बुद्धिहिन, पापीनी, अत्याचारी, निष्ठुरी, चोर्नी, अबुझी, अज्ञानी, खराब, दुष्ट, झगडालु, खर्चालु, जस्तो देखाइ तीजको गीतमा महिलालाई नै यति धेरै अपमान किन ? आफ्नै मौलिक संस्कृति बोकेको महान पर्व तीजको शब्दमा महिलालाई हदभन्दा बढी अपमानित शब्द प्रयोग गरिएको छ ।त्यो भन्दा नराम्रोसँग गीतको दृष्यांकन गरिएको छ । कुनै गीत त परिवारसँग बसेर हेर्न नसक्ने छन् । यस्ता गीतले समाजमा तीजको महत्व दिन कसरी खोजेको छ ? समाजलाई यस्ता गीतले कस्तो सन्देश दिन खोजेको छ ? समाजमा सयौं सामाजिक समस्याहरु त छन् तर केही नगन्य विकृतिलाई तीजको संस्कृतिसँग घोलेर धमिल्याउन कति उचित छ ? यस्ता गीतले समाजको मानसिकतामा कस्तो प्रभाव पर्ला ?
संस्कृति जोगाउन गाइने गीत संस्कृतिलाई नै औंला उठाएको जस्तो लाग्छ । गीतहरु बजारमा आउनसाथ विवादित बनिरहेका छन् । । यि सब तीजमा नै किन ? यो अब संस्कृतिक बहसको विषय बन्नैपर्छ । तीज गीतका शब्द लेख्नुभन्दा अगाडि महिलाको महानता तीजको आध्यात्मिक, सामाजिक र सांस्कृतिक महत्वको विषयमा समयसँग महिलामा आएको सकारात्मक परिवर्तनको बारेमा, महिलाले निभाउन सक्ने दुवै घरको जिम्मेवारीको बारेमा, परतन्त्र स्वीकार गर्दै खुसी हुन सक्ने अद्भूत शक्तिको बारेमा अध्ययन गरियोस । त्यसै अनुसार गीत गाईयोस्, नाचियोस् । चाडपर्व सद्भाव, मेलमिलाप र खुसीको लागि मनाइन्छ । आफ्नै सांस्कृतिक, आध्यात्मिक महत्व बोकेको महिलाको महान पर्व तीज पनि यसरी मात्र मनाइयोस । (लेखक मस्याम माबिकी शिक्षक हुन् )
प्रतिक्रिया