धेरैले पम्फा र मायाको गाउँ भनेर चिन्छन् बेरुवालाई । हुन त सूर्य, मनोज, बेनुमायाहरु पनि यस गाउँका नाम चलेका सामाजिक अभियन्ता हुन् । बेरुवा गाउँमा पुग्न झुम्साबाट उत्तरतिर हान्निनुपर्छ भने अचेल रुपन्देहीको चरङ्गेबाट खोलिएको नयाँ बाटो हुँदै चौकी भञ्ज्याङ्ग, ज्यामिरेलाई साथ लिएर बेरुवा पुग्न सकिन्छ । बेरुवा गाउँको उत्तरतिर सत्यवती बजैको गाउँ र ताल देख्न सकिन्छ भने पश्चिमतिर हात्तीकोट र हात्तीकोटबाट हिमालका चुचुराहरु छर्लङ्गै देखिन्छ । हात्तीकोटको दक्षिणतिर देवदह,खैरेनी,बुटवल, शंकरनगर, मणिग्राम,भैरहवासम्म सजिलै देख्न सकिन्छ ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेका बेरुवा,हात्तीकोट,फिर्फिरे गाउँ लगभग एउटै क्षेत्रमा फैलिएका बस्ती हुन् । एकघर दलित,एकघर ब्राह्मण, दुईचार घर क्षेत्री र सात/आठ घर गिरीहरुको बसाइ रहेको यी गाउँमा मगरहरुको घनाबस्ती पाइन्छ । गाउँमा करिव ६० घरधूरीहरु छन् भने जनसंख्या तीन सय बढी छ । गाउँमा पाँच कक्षासम्म पढाई हुने गौतबुद्ध आधारभूत विद्यालय छ । चुरडाँडामा रहेको उक्त विद्यालय चिरीच्याट्ट परेको छ । सरर हावा चल्छ । शान्त ठाउँमा रहेको उक्त विद्यालयमा यतिबेला शेरबहादुर गाहा प्रधानाध्यापक छन् भने आधा सय जति विद्यार्थी छन् । गाउँमा दालचिनीले धेरैलाई पालेको छ । त्यहि भएरपनि गाउँका युवाहरु परदेश कम गएका छन् ।
एउटा हातको औंलामा गन्नेहरुमात्र तेस्रो मुलुक गएका छन् भने भारत जानेको संख्या शून्य छ । एकपटक कान्तिपुर पत्रिकाका पाल्पा संवाददाता माधव अर्यालले साविकको दोभानको वडा नं.२ को गाउँलाई ऋणमुक्त गाउँ भनेर लेख लेखेका थिए । साँचिक्कै उनको लेखले आज समेत सार्थकता पाएको छ । गाउँका युवा गाउँमै छन् । गाउँमा भीमबहादुर,पुरन काउचा,मनबहादुर सर्वुजाहरुले वर्षमा तीन लाख बढी दालचिनीबाट आम्दानी गर्छन् भने औषतमा ३०/४० हजार रुपैयाँको दालचिनी बेचेर घरव्यवहार चलाउनेहरु बाँकी सबै छन् । अर्जुन (लालबहादुर) आले र गोमा थापा जस्ता उद्यमशील व्यक्तिहरु त्यसै गाउँमा छन् । उनीहरुमध्ये अर्जुनले माउ बाख्रामात्र ३०/३५ र पाठापाठी गरेर ६० वटा बाख्रापालन गरी नमूना पशुपालक बनेका छन् । बाख्रा फर्म समेत दर्ता गरी राज्यले दिने सेवा सुविधा समेत पाएका छन् ।
एकपटक खोर सुधारमा सहयोग पाएका हुन् भने अर्कोपटक बोयर्स जातको बोका पाएका हुन् गाउँपालिकाबाट अर्जुनले । त्यसैगरी एकल महिलाका रुपमा रहेकी गोमा थापाले आफ्नै जग्गामा ८ वटा बंगुर पालेकी छिन् भने माछापालन र ब्रोइलर कुखुरा पालेर गतिलो आयआर्जन गरेका छन् । यी नमूना पात्रहरु गाउँकै नक्षत्र हुन् । मकै खेती राम्रै हुन्छ । दुईचार घरले कोदो खेती गर्छन् । तोरी पनि राम्रै हुन्छ । पिंडालु, अदुवा,बेसार र केरा खेती व्यवसायिक हुन सकेको छैन । घर खर्चका लागि मात्र लगाएका छन् । यसैलाई निर्यातमुखी बनाउन सक्ने हो भने गाउँमा प्रशस्त आर्थिक लेनदेन हुन सक्थ्यो ।
स्थानीय समाजसेवी एवम् सोही वडाकी वडा सदस्य पम्फा मगरले गाउँको विकासका लागि कृषि,पशुपालन र पर्यटनका दीर्घकालीन योजना आवश्यक रहेको र त्यसका निम्ति सम्बन्धित सबैले आर्थिक,प्राविधिक एवम् भौतिक सहयोग गर्नुपर्ने बताइन् । गाउँमा बाटो पुग्यो तर कच्ची । ग्राभेल हुने तरखरमा छ । बिजुली झलमल छ । खानेपानीको खासै समस्या त छैन तर सिंचाईको अभावले धानखेतीलाई असर पुगेको पम्फाले बताइन् । उत्पादन भएका खाद्यबस्तुहरुले वर्षभरि पुग्ने १० घरजति छन् । बाँकी सबैले बेसाएरै खानुपर्ने बाध्यता छ । दालचिनीबाट आएको आम्दानी दालचामल, चिनी, चियापत्ती, लत्ताकपडा, औषधोपचार र शिक्षादीक्षामा खर्चिन्छन् गाउँलेहरुले । कम्तिमा दुईचार रोपनीदेखि २५/३० रोपनी जग्गाजमीन हुनेहरु छन् गाउँमा ।
भूमिहीन कोही छैनन् । आधाभन्दा धेरै खेतीमा सिंचाईको अभाव छ । पूर्णरुपमा कुलो बन्न सकेका छैनन् । किसानहरुले अहिले पनि धान रोप्नेमास आकासतिर फर्केर महादेव गुहार्नुपर्ने बाध्यकारी अवस्था नभएको पनि होइन । तैपनि गाउँलेहरु खुसी नै छन् । स्थानीय वडापालिकाको सहयोगमा फिर्फिरे, बेरुवा, बेसारेघाटको कूलो निर्माण थालिए पनि अर्को वर्षमात्र पूरा हुने छाँट छ ।
एकजना नेपाल प्रहरी र एक जना नेपाली सेनामा कार्यरत छन् भने एकजना भारतीय सेनाका पेन्सनर छन् सो गाउँमा । गाउँको विकासका लागि स्थानीय रुपमा गठित जनजागृति युवा क्लव छ । सो क्लवले संस्कृति संरक्षणका लागि पञ्चेबाजा बजाउँदै आएको छ । १२ जनाको टीमले व्यवसायिक रुपमै बाजा बजाउन थालेको पाँच वर्ष पुग्यो ।
उनीहरुले आफै बाजा बनाएर आफैले गाउँघरमा बजाउन थालेको पनि हिसाव गर्दा २० वर्ष पुग्यो । पछिल्लो समयभने उनीहरु अर्घाखाँचीको ठाडा, पाल्पाको प्रवास,रुपन्देहीको खैरेनीसम्म पुगेका छन् । उनीहरुले विहेमा बाजा बजाए वापत २५ देखि ३२ हजार रुपैयाँसम्म पाउने गरेका छन् । यसरी उनीहरुले नेपाली लोक परम्परागत बाजा र संस्कृति संरक्षणमा टेवा पुराएका छन् भने व्यवसायिक रुपमा आफूहरुलाई उतारेका छन् । बेरुवामा बाजा बजाउनेहरु सबै मगर युवाहरु नै छन् ।
बाजा टोलीका प्रमुख लालु थापाले बाजा बजाउँदाका तीतामीठा व्यवहार सहेका छन् । कतिले तिमीहरु दलित त होइनौं वा तिमीहरुको टोलीमा कोही दलित त छैनौं । दलित भए बाहिरै बसेर खाना खाओ है भनेर विहेमा भनेको कुराले आफ्नो मन दुखेको लालुले बताए ।
आखिर बाजा जसले बजाए पनि र जुन जातका भएपनि विभेद गर्ने संस्कार अझै हाम्रो समाजबाट हट्न सकेको छैन भन्दै थिए लालुले । गाउँको विकासका लागि पूर्णिमा महिला समूह,हात्तीकोट र प्रगतिशील महिला सामुदायिक वन उपभोक्ता समूहहरु छन् । स्थानीय बासिन्दाहरु मिलेर गाउँको विकासका लागि कम्मर कसेर लागेका छन् । २०६८ सालमा स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरुको संयोजन र व्यवस्थापनमा पहिलो पटक एकदिने दालचिनी मिनी महोत्सव सम्पन्न भएको थियो । जसले दालचिनी उत्पादक, मध्यस्थकर्ता र खरिदकर्ताका बीच समन्वय, सहकार्य भई स्थानीय उपभोक्ताहरुले दालचिनीको उचित मूल्य समेत पाउन सकेका थिए । त्यस्तो खालको मिनी महोत्सव सम्भवतः नेपालकै इतिहासमा पहिलो पटक भएको थियो ।
गाउँबाट बसाइँ सरेर जाने चलन खासै छैन । अन्य ठाउँबाट जग्गाजमीन किन्न आउनेहरु पनि खासै छैनन् । गाउँकै बासिन्दा गाउँमै छन् । जेनतेन जीवन निर्वाह गरेकै छन् । प्रायगरेर यहाँ गुल्मी, बाग्लुङ्गबाट पहिले नै बसाइँ सरेर आएकाहरु नै छन् । गाउँका दिदीबहिनीहरु पछिल्लो पटक कृषि, पशुपालन र होमस्टे सञ्चालनको तयारीमा जुट्दैछन् । कृषिका लागि आवश्यक तालिम लिइसकेका छन् । कृषि र वडापालिकाको सहयोगमा करेसाबारीमा लगाउने तरकारीका बीउबिजन स्थानीयहरुले प्राप्त गरेका छन् । हरिया तरकारी उत्पादन गरेर हरिया नोट बटुल्ने योजना बुनेका छन् । स्वरोजगारका अवसरहरु खोजीरहेका छन् ।
प्रतिक्रिया