ताजा अपडेट »

गाउँको डायरी : मरामकोट मसानकोट नबनोस्

बुधबार, ०३ भदौ २०७७

पहाडी गाउँ मरामकोट । हेर्दै सुन्दर । मनमोहक । पूरै मगरबस्ती । ५५ घरधूरी भएपनि ४८ घरमा मानिस बस्दै आएका छन् । पुगनपुग तीनसय जनसंख्या रहेको छ । गाउँका दुई/तीन घरपरिवारमा त १५/१६ जना सदस्यसम्म बस्छन् । तीन पुस्ता एउटै धूरीमूनि बस्छन् र एउटै चुल्होमा खाना पकाएर खाने गर्छन् । पारिवारिक मिलनको नमूना हो यो । गाउँबाट हेर्दा उत्तरतिर हिमालका चुचुराहरु मन्द मुस्कानमा देखिन्छन् । स्थानीय युवा गणेश दर्लामीका अनुसार तुँवालो फाटेको बेला माछापुछ्रे, गौरीशंकर, धवालागिरि हिमालहरु यहाँबाट सजिलै देखिन्छ ।

तराईका फाँटहरु लमतन्न परेर सुतेका छन् । बुढापाकाहरु भन्दै थिए-उहिलेउहिले गाउँबाट भैरहवादेखि सुनौलीसम्म सजिलै देखिन्थ्यो । मधेस झिलीमिली उस्तै रमाईलो । अचेल तुँवालोले गर्दा त्यो तस्वीर कहाँ देखिन्छ र ? मरान्च भनेको मगर भाषामा रमाईलो अर्थ लाग्दो रहेछ । संस्कृतिविद् राजेन्द्रकुमार आचार्यका अनुसार सामान्य अर्थमा कोट भन्नाले हातहतियार राख्ने ठाउँ वा जहाँ साधुसन्तहरु बस्छन् त्यसलाई कोट वा कुटी भनिन्छ । मरान्चबाट मराम हुन गएको अनुमान लगाउँछन् ७२ वर्षीय स्थानीय समाजसेवी पूर्णबहादुर खाम्चामगर । उनका अनुसार गाउँ रमाईलो छ । सुन्दर र रहर लाग्दो छ । त्यसैले मरामकोट हुन पुग्यो होला ।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. पाँचमा पर्ने मरामकोट समुद्रीसतहदेखि एक हजार दुईसय मीटर उचाइँमा छ । प्रायः यहाँ चिसो सिरेटो चल्छ । उस्तै जाडो हुन्छ । साउन भदौमा पनि राति सिरक ओढ्नु पर्छ । डुम्रे, जोरधारा (नयाँबजार, अमित होटल)लाई आधार बनाएर त्यहीबाट मोटरबाटो हुँदै सो गाउँ पुग्न सकिन्छ । गाउँमा मोटरको बाटो पुगेको चारवर्ष भयो तर बाटो पूर्णरुपमा ग्राभेल र पक्की हुन सकेको छैन । यतिबेला गाउँमा पुग्नेहरुको लर्को देखिन्छ । स्थानीय आन्तरिक पर्यटकहरु गाउँ घुम्न थालेका छन् । गाउँमा पर्यटक पुग्दा मन पुलकित भएका छन् गाउँलेहरुका ।

गाउँमा होमस्टेको प्रारम्भ हुन थालेको छ तर व्यवस्थित भइसकेको छैन । भ्यू पोइन्ट बनिसकेको छ । पहाडलाई संरक्षण गर्न र पर्यटकीय गन्तव्य बनाउनका लागि तिनाउ गाउँपालिकाले सो भ्यू पोइन्ट बनाएको हो । गाउँलेहरु सो पहाडलाई मिराङलुङ्ग भन्छन् । मगरभाषामा मिराङ भनेको सिङ् र लुङ्ग भनेको ढुङ्गा भन्ने अर्थ लाग्छ । अर्थात् जनावरका सिङ् जस्तै आकार भएको ढुङ्गा भन्ने अर्थ लाग्छ । स्थानीय सरकारले पर्यटकलाई आकर्षित गर्नका लागि फलामको रेलिङ्ग र सेड बनाई सकेको छ । त्यति संरचनाले समेत आकर्षण थपेको छ ।

मरामकोटमा २०२८ सालमा स्थापना भएको भूमिशाला आधारभूत विद्यालय करिव पाँच दर्जन विद्यार्थी पढाउँदै बसेको छ । यहाँ आठ कक्षासम्म पढाई हुन्छ । सोही विद्यालयमा प्रधानाध्यापक भएर निवृत भएका दलबहादुर दर्लामी मगर अहिले सोही वडाका अध्यक्ष भएका छन् । उनी भन्दैथिए-मैले पढाउने बेला यस स्कूलमा डुम्रे, केराकारी, सिसुवा, झाक्से, चर्चरे, जन्तीलुङ्गबाट समेत पढ्न आइपुग्थे तर अहिले जन्तीलुङ्ग र गाउँकै विद्यार्थीमात्र पढ्छन् । उनी थप्छन्-गाउँमा विकासको लहर आइरहेको छ । लिफ्टिङ्ग सिस्टमबाट घरघरमा धाराबाट पानी पुगेको छ । होमस्टेको व्यवस्थापन हुँदैछ । विजुली, बाटो पुगेकोले पनि गाउँमा रमाईलो भएको छ ।

आफ्नै संस्कार, संस्कृति र सभ्यता बोकेको गाउँ हो मरामकोट । खासगरी यहाँ दशै, तिवार, श्रीपञ्चमी र चण्डीपूजा गर्ने चलन छ । पहिले पहिले विहे, व्रतवन्ध र चाडपर्वहरुमा बारा(बटुक) पकाउने चलन थियो । मास, मस्याङ्ग(सिल्टुङ्ग) मिसाएर बारा बनाएर पाहुना उम्काइन्थ्यो । अचेल गाउँमा पुलाउ पकाउने चलन आयो भन्दै थिए पूर्णबहादुर खाम्चा । मागी र भागी विहे गर्ने चलन भएपनि आजभोलि भागी विहे गर्ने र ढोगभेट गर्ने चलन बढ्न थालेको उनले बताए । केटी भागेको तीन दिनमा माइतीघरमा ठेकी ल्याउने र दुबै घरतिरको सल्लाह अनुसार बढीमा एक/डेढ महिनाभित्र ढोगभेट फर्काउने परम्परा भएको बताउने उनले विहेमा नाचिने झ्याउँरे र सालै जो कम हुँदै गएको सुनाए ।

बरु डेक लगाएर नयाँ पुस्ता नाच्ने चलन मौलाएको रहेछ । विहेमा मगरचलन अनुसार बंगुर, सुंगुरको मासु, घरपाला र मटर अनि लतरीको बटुक खुवाउने चलन भने हराएको छैन । मामा/फुपूचेलीका छोराछोरीहरुबीच विहे गर्ने चलन यहाँ पाउन सकिन्छ । गाउँका थोरै युवाहरु कोरिया,जापान पुगेका छन् । धेरैजसो तेस्रो मुलुक कतार, दुबई, मलेसिया, साउदी, बहराईन लगायतका देशमा रोजगारीका लागि गएका छन् । नेपाल प्रहरी, नेपाली सेना र भारतीय सेनामा गरी २०/२५ कार्यरत र केही सेवा निवृत्त समेत भइसकेका छन् ।

गाउँमा आम्दानीको बाटो साँघुरो छ । त्यसैले त युवाहरु देश/परदेशमा कामको खोजीमा भौतारिएका छन् । गाउँलेहरुले दालचिनी बेचेर (वर्षमा कम्ति बेच्नेले ३०/४० हजार र धेरै बेच्नेले दुई/ढाई लाख रुपैयाँसम्म पार्छन्।) जीविकोपार्जन गरेका छन् । मुख्य बाली मकै हो । जौं, कोदो, तोरी, केराउ समेत उत्पादन हुने भएपनि वर्षैभरि खान पुग्नेको संख्या शून्य छ । मकै बेचेर चामल किन्ने चलन गाउँमा भित्रिएको छ । हुन त मस्याङ्ग, गहत खुब फल्ने गथ्र्यो तर अचेल चौगोडा (खरायो)ले बेर्ना नै खत्तम गरिदिने र मृगले दाना लाग्नेबेला माडेर भुसुक्कै नोक्सान गरिदिन थालेपछि ती खेती गर्नै छाडेको गाउँलेहरुले बताए ।

गाउँको विकासका लागि यूवा क्लव, महिला समूह, सामुदायिक वन उपभोक्ता समूह लगायतका सामाजिक संघसंस्थाहरु समेत छन् । मरामकोटको विकास कृषि र पर्यटनबाट सम्भव देखिन्छ । स्थानीय, प्रदेश तथा संघीय सरकारले बेलैमा सचेत भएर स्थानीयहरुलाई गाउँमै टिकाउनका लागि उत्पादनशील र रोजगारमुखी योजना नल्याउने हो भने स्थानीय बासिन्दाहरु सुख, सुविधा र सन्तान पढाउने नाममा सहर वा मधेस जाने छन् अनि रमाईलो गाउँ अर्थात् मरामकोट मानिसविहीन हुन सक्नेछ । त्यतिबेला मसान नाच्ने थलो नहोला भनेर कसले पो भन्न सक्छ ? बेलैमा सोचौं । प्यारो मरामकोट मसानकोट नबनोस् ।