ताजा अपडेट »

गाउँको डायरी : झिगामारा सेरोफेरो

मंगलबार, ०२ भदौ २०७७

पाल्पाको तिनाउ वडा नम्बर एकमा पर्ने झिंगामारा रमणीय पहाडी गाउँ हो । समुद्रीसतहदेखि करिव आठसय मीटर उचाइँमा रहेको यो गाउँमा ७६ घरधूरी रहेका छन् भने पुगनपुग पाँचसय जनसंख्या छ । साविक कचल गाविसमा पर्ने यो गाउँमा एउटा आधारभूत विद्यालय रहेको छ । सरस्वती आधारभूत विद्यालयमा आठ कक्षासम्म पढाई हुन्छ भने विद्यार्थी संख्या करिव सय जना छन् ।

गाउँमा बिजुली पुगेको तर भोल्टेज कम भएको कारण धारा भएरपनि मोटर चल्न नसकेर पानी आउन सकेको छैन । गाउँलेहरुले खानेपानी आयोजना सम्पन्न गरेपनि बिजुलीका कारण समस्या झेल्नुपरेको गुनासो सुनाउँदै छन् । गुनासो कसले कसलाई कहिलेसम्म सुनाउने हो थाहा छैन ।
झिगामारा गाउँमा काम्लेटटरी र सिद्धचुहार नाम गरेका दुईवटा सामुदायिक वनहरु छन् । २५ घरधूरीमा दलित जातिको बसोबास रहेको पाउन सकिन्छ भने पाँच घर ब्राह्मण,चार घर क्षेत्री र बाँकी सबै मगरजातिको बसोबास रहेको तथ्याङ्क छ ।

झिगामारामा आजभन्दा पाँच वर्षअघि एकसय १० घरधूरी थिए । आज ७६ मात्र कसरी भयो ? उनीहरु कहाँ बसाइँ सरेर किन गए ? यो चासोको विषय हो । बसाइँ सराईको कारण विद्यालय चल्न त परै जाओस् गाउँ उजाड बन्दै जाने र भएका जग्गाहरु बाँझा हुन थालेका छन् । गाउँमा नयाँ मान्छेहरुले जग्गा खरिद गर्ने तर आफुहरु नआउने र खेती नगर्ने भएकाले मरुभूमि जस्तै हुन थालेका छन् ।

झिगामाराबाट देखिने तराई

यस गाउँका तीनजना भारतीय आर्मीमा छन् । केही नेपाली सरकारी जागिरमा छन् । नेपालका केही सहरहरुमा होटल र डकर्मी काम गर्न यहाँका नागरिकहरु पुगेकै छन् । भारत जानेहरुको संख्या र तेस्रो मुलुक जानेहरुको संख्या उस्ताउस्तै छन् । दिनप्रतिदिन जनसंख्या घट्दै छ । जग्गा किन्नेहरुको ओईरो छ । प्रदेश सरकारले पहाडी क्षेत्रहरुलाई पर्यटकीय हीलस्टेशन बनाउने भनेपछि मारामार छ झिंगामारामा । गाउँमै रेन्बो पार्क निर्माणाधीन अवस्थामा छ । भ्यू टावरको काम लभगभ सम्पन्न भइसकेको छ । पूजाआजा गर्न बौद्धविहार सिद्धबाबा मन्दिर छँदैछन् ।

गाउँमा रोजगारी खासै छैन । सामुदायिक वनमा काठ खुल्दा केही समय स्थानीय युवाहरुले रोजगार पाउने गर्छन् । केही सरकार विकास वजेट आउँदा बाटोघाटो,स्कूलका भवनहरु निर्माण गर्ने काम पाइएता पनि यसले खासै जीवन निर्वाहलाई टेवा दिन सकेको छैन । झिगामारामा रहेका रामपाटा, माझटोल, खरकमारा, डाँडाटोलमा धान, मकै र कोदो खेती गरिन्छन् । स्थानीयहरुले पशुपालनतर्फ भैंसी, गाई, बाख्रा, बंगुरपालनमा समेत जोड दिएका छन् । गाउँमा केही पोल्ट्री फर्महरु समेत छन् । लोकल कुखुरापालनमा समेत गाउँलेहरुको ध्यान गएको छ । केहीले चोंयाबाट डोका–डाला बुन्छन् ।

खरकमारा गाउँ

२०३५/०३६ सालतिर गुल्मीको ठूलो लुम्पेकबाट मगरहरु यहाँ बसाइँ सरेर आएका हुन् भने दलित जातिहरु पाल्पाका ख्याहा, मुझुङ्ग अनि ब्राह्मण/क्षेत्री स्याङ्गजाबाट यतै आएका थिए । उनीहरुको जातीय मेलमिलाप र सहिष्णुता प्रशंसनीय नै छ । गाउँमा स्थानीयहरुले दशैं, तिहार, तीज, बुद्धपूर्णिमा भव्यरुपमा मनाउँछन् भने विहे, पूजा र अन्य रमाईला कार्यक्रमहरुमा सांस्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरिन्छन् ।

रानीबगियाबाट उत्तरतर्फ झिंगामारा, ठूलीउदाङ्ग, चहलासम्म बनेको कच्ची बाटो ग्राभेल हुने हो मात्र पनि झिंगामारा गाउँबाट बसाइँ सर्ने सम्भावना घटेर जाने थियो । गाउँमा रोजगार छैन, आधारभूत तह उत्तीर्ण गरेपछि कि कचलफाँट कि सैनामैना झर्नुपर्ने बाध्यता भएपछि यहाँका बासिन्दाहरु मधेश झर्न थालेका छन् । यहाँका करिव १५/२० घरधूरीको मधेस सैनामैना र पहाड झिंगामारामा दोहोरो बसाइँ रहेको पाउन सकिन्छ ।

वर्षामा रुख ढलेर अवरुद्ध रानीबगिया–झिगामारा मोटर बाटो

लकडाउन खुल्ने बित्तिकै तीन/चार घर तराई बसाइँ सर्दैछन् भने केही समयपछि ८÷१० घर मधेस झर्दैछन् । यो कुरा बताइ रहँदा स्थानीयबासिन्दा तथा वडासदस्य अमर तरामू भन्छन्–गाउँमा रोजगारीको बाटो छैन । खेती गरेर पूरा महिना खान पुग्ने गाउँभरिमा ३÷४ घर मुस्किलले होलान् । कमाउने बाटो नभएपछि बसाइँ सर्नुको कुनै विकल्प छैन र बाध्य पारेर गाउँमै बस भन्न समेत सकिने अवस्था छैन । गाउँसम्म बाटो ग्राभेल हुने हो भने बसाइँ सराई रोकिने सम्भवना देख्छु मैले ।

हेर्दै मनमोहक गाउँ झिंगामारामा एउटा रिसोर्ट छ । पर्यटकीय गन्तव्यहरु समेत छन् । तराईका समथर फाँट र हिमालका अग्ला चुचुराहरु सजिलै देख्न सकिन्छ एकैपटक । पहाडी बस्ती, पहाडी बसाइ रहर लाग्दो छ । तरपनि रोजगार र बाटोको कारण गाउँलेहरु तराई, मधेस झर्दैछन् ।

झिगामाराको सरकारस्वती आधारभूत विद्यालय

कुनैदिन यस्तै बसाइँ सराइको तीब्रताले झिगामारामा झिंगा(माखा)मात्र भन्किने त होइन ? बेलैमा स्थानीय सरकारले भूमिसम्बन्धी व्यवस्थापन ल्याउन सकेन भने बसाइँ सरी जाने र भूमि बाँझा रहने अवस्था रहने छ । प्रदेश सरकार र संघीय सरकारले रैथाने गाउँलेहरुलाई गाउँमै अडाउने खालका रोजगारी तथा उत्पादनमुखी कार्यक्रमहरु तय गरी कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।