ताजा अपडेट »

तीज पर्व : सभ्यता हराउँदै, विकृति मौलाउँदै

मंगलबार, ०२ भदौ २०७७

हरितालिका तीज नेपाली नारीहरुको महान पर्व हो । तीजमा विवाहित चेली आफ्नो माइतीमा गएर वर्षभरीका पिर, ब्यथा वा थकान आमा बुवा तथा दाजुभाई दिदिबहिनी वा अन्य साथी सङ्गिहरुलाइ भेटघाट गरि कुराकानी वा गितको माध्यम बनाएर पोख्ने गरेको पाइन्थ्यो । यस पर्वमा चेली माइतीघर आउँदा घर नै पवित्र हुने र सो घरमा लक्ष्मीले सधैं बास गरिरहने पनि धार्मिक विश्वास रहेको छ । गीतमार्फत संगीसाथीहरुसँग आफ्ना दुःख, पीडा र कष्टकर व्यक्त गरिन्थे ।
“दुःखै मात्र पर्छ बाबा जान्न म त माइत
राम्रोसँग खान पनि छैन मलाई त

“स्वामी पनि हिड्छन् बाहिर छैन मेरो वास्ता नि
ठूला आँखाले हेर्छिन् सासू एकछिन् बस्दा नि “

यी र यस्तै नारीका ब्यथाहरुले भरिएका मौलिक तीजका गीत बनाएर गाइएका गीतहरु जति सुने पनि सुनु सुनु लाग्ने मार्मिक भाकाहरु हिजोआज दुर्लभ भैसकेका छन् । यसको विपरीत आजभोलि यो परम्परामा करिब पूर्ण परिवर्तन आएको छ । दरखाने बहानामा फजूल खर्च गर्ने र भड्किलो तथा धन सम्पत्ति प्रदर्शन गर्ने परिपाटीको विकास भएको छ । जसले गर्दा एउटै आमाको कोखबाट जन्मेका छोराछोरीहरु बीचमा समेत एक किसिमको प्रतिष्पर्धा जस्तै भएको पाइन्छ । यस किसिमको परिपाटी हाम्रो प्राचिन तथा मौलिक प्रथाको विपरित हो । यसले हाम्रो समाजमा दिदी बहिनीहरु बीचमा रहेको माया, सद्भाव, सहयोग, साथित्व, सहिष्णुता, आदर र सम्मान समेत हराएको छ । यसरी भड्किलो तीजको कारणले सामाजिक सहयोग भन्दा पनि बढि विरोध हुने गरेको छ ,जुन भविष्यमा समकालिन नेपाली समाजको लागि ठूलो र गम्भीर सामाजिक समस्या नबन्ला भन्न सकिँदैन।

अधिकांश दिदी बहिनीहरु बिवाह गरेपश्चात् सहर जाने अनि कमजोर पारिवारिक अवस्थामा पनि अरुको देखासिकी गर्दै भड्किलो खानपान र पहिरन गर्ने गरेको पाइन्छ । यसले एकातिर पैसाको फजूल खर्च भएको छ भने परिवारको खुशीको लागि विदेशमा रातदिन दुःख गर्दै बगाइएका पसिनाको अपमान भएको छ । धार्मिक तथा सामाजिक पर्वको बहानामा भड्किला गतिविधिले विकृति निम्तिएको छ भने अर्काेतर्फ यी लगाएत यस्ता अन्य बहानामा हुने खर्च र व्यव भारका कारणले पनि अन्य लाखौं युवाहरुलाई विदेशिन बाध्य बनाएको छ । यसरी देशमा त रेमिटेन्स (विप्रेषण) भित्रिएको छ भने यहि रेमिटेन्सको लोभमा अधिकांश यूवाहरुले विदेशमै अकालमा ज्यान गुमाउने र नेपालमा रहेका सयौं परिवारको बिचल्ली हुँदै आएको छ ।

मैले हाम्रो गाउँकी धेरै पहिले सानै उमेरमा बिहे भएकी छिमेकी दिदीलाइ पहिले तीज आउँदा र अहिले आउँदा कति फरक छ ? भनेर सोधेकी थिएँ । उहाँले भन्नुभयो पहिले तीज लाग्यो भनेपछि मखमलको चोली, घलेक, खुर्पेटो, २,३ रुपैँयामा तिजलाइ भनेपछि जहाँबाट जसरी पनि जुटाउने गथ्र्याै । साउने संक्रान्तीदेखि तीजको रमझम हुन्थो । जुन घर रमाइलो गर्ने हो त्यो घर कटहरको बियाँ, आलुको,काँक्राको अचार, सेलसँगै बनाइएका खानेकुराको परिकारसँगै मनैमनले जुराएर गाइएका गीत रुँदै भनिन्थे कहीँ पुल भत्के पनि गीत , पहिराले पुरेर मरेपनि गीत बन्थे , कोइ पोइला गएनी गित बन्थे , कहीँ केहि घटना भएपनि गीत गाइन्थे । दिदी स्कूल जानेक्रममासँगै गएकी साथी भिरबाट लडेर मृत्यु भएपश्चात् यो गीत गाइयो अरे ।

“भित्र जन्छु कमला तिम्रै किताब फरर
बाहिर आउँछु कमला रुन्छु धरर“

त्यसै गरी माइत जान पाइन्छ बा आमा दाजुभाई दिदीबहिनी सबैलाई देख्न पाइन्छ, आमासँगै वेदनाको पोको खोल्न पाइन्छ र तामाको अचार , झिनिया,अनदिका खाजा खान पाइन्छ भनेर मनले मनमै उधुम मचाउँथ्यो । सँधै जसो तीजमा माइत जान भन्दा दुइचार दिन अगाडि देखिनै माथि निस्तिको घाँस सकिनसकी दिनको चार भारी बोकेर घाँस पुर्याएर पञ्चमीको अर्को दिन आउथ्यांै । हिजोआज त्यस्तो हुँदैन सामाजिक संजालले हरेक कुरा साथैमा जस्तो गरायो र यातायातले टाढाको पाई पनि नजिक गरायो । अझ पहिले तल्लाघरे आमाले गाउनी नन्द भाउजुको कहानी गीतमा

“नन्दलाइ मारेर मलखातमा फालिछन्
रगतको बलेनी सोर्न थालिछन्“

निकै सुनुसुनु लाग्ने कहानी सुन्दा सुन्दै आँशुका ढिकाले काखको पछ्यौरी भिज्थो,दिदीले भन्नू भयो । सासू बुहारी,श्रीमान श्रीमतीका कहानी नन्द अमाजु देवर र छरछिमेकी सबैको कहानी सबै गीतबाटै गाइन्थे । अचेल त्यस्तो हुँदैन हिजोआजको तीजले मौलिकता बिर्सायो , अश्लिलतासँगै विकृति मौलायो, तीज नलाग्दै देखि दर खाने कार्यक्रम दर भनेको हाम्रा आमाहरुले अनदी,झिनुवाका खाजा हातबाट घ्यू चुहिने गरि बनाउँथे तामा,करेलाको अचार ,घिरौँला, लौकाको तरकारी केके हो केके हुन्थे । हिजो आज रोष्ट,चिकन लेगपिस, बियर भएन भनेर पार्टी नै चल्छन् । एकमहिना अगाडिदेखि यसले एकछिन् रमाइलो बनाएपननि नारीका बेदना र आमाको हात कहिल्यै दिलाउँदैन । भन्दै छिमेकी दिदी निराश बनेर अझै केके आउने हो बरै भन्न लाग्नुभयो ।

हामी नेपालीहरु आफ्नो परम्परा र मौलिकतालाई चटक्कै बिर्सन खोजेका त हैनौ ? डर लाग्छ , यसर नै बर्षेनी हाम्रा चाडबाडमा देखासिकी भयो भने अब आउने पुस्ताले के सिक्ने वा के सिकाउने ? एकछिन सोचांै त । देखासिखीको नाममा हाम्रा परम्परा र चाडवाडको अर्थलाई अनर्थ गराउनु त हामी शिक्षित भएर पनि अज्ञानी बन्नु सराबर हो । नारीलाइ पीडा नभएका त हैनन् नि दुव्र्यवहार,बलात्कार ,हत्या हिंसा, आक्रमण,जबर्जस्ती करणी यी घटनाहरु हिजो आज मनमा लुकाइन्छ र मुखमा “ढल्क्यो मेरो जवानी“ भन्ने जस्ता गीत गुनगुनाइन्छन् । तर,यसो भन्दैमा घटना र वेदनाका मात्र तीज गीत हुनुपर्छ भन्नू पंक्तिकार अभिप्राय होइन । गीत जुनकुनै पनि हुन सक्छन् मात्र उत्ताउलो त अपाच्य हुने खालका भाका बढ्दै जान थाले भने सभ्यता शब्दको अर्थ के होला ?


माया,सद्भाव र प्रेमको चाड भनिने तीज आजभोलि श्रीमानको क्षमता र सम्पत्ति प्रदर्शन गर्ने चाडको रुपमा विकशीत हुँदै गइरहेको छ । विशेषत तीजमा श्रीमती व्रत बस्ने,घरमा सुख , शान्ति र परिवारिक जीवन खुशियालीमय होस् भन्ने हेतुले भगवान शिवको पूजा गर्ने ,माछा मासु सेवन नगर्ने , तथा शिवजीको पूजा गर्दै श्रीमानको खुट्टाको जल खाने गरिन्थ्यो जसले गर्दा श्रीमान श्रीमती बीच माया र सम्बन्ध अझ बढि प्रगाढ भई पारिवारिक बातावरणनै खुसियाली हुन्थ्यो । तर,आज भोल मदिरा मासु दरको नाममा प्रयोग गर्नुपर्ने अनि श्रीमतीले बोलकबोल गरे बमोजिम सुन, धन, लत्ताकपडा अन्य बिलासिताका सामग्री आदि तीजमा देखाउनकै लागि भएपनि हुनुपर्ने र अनेकन फजुल खर्च गरेर चाडबाड मनाउने क्रियाकलापले गर्दा धेरै विकृतिहरु देखिन्छन् र यस्ता प्रवृत्ति हाम्रो समाजमा देखिरहेका नै छन् । त्यसैले त आजभोलिको तीजमा सभ्यता हराउँदै,विकृति मौलाउँदै छ ।