ताजा अपडेट »

रुपन्देहीमा संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालयका सेवा स्थगित

सोमबार, ०१ भदौ २०७७

बुटवल । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शान्ति सुरक्षासँग सम्बन्धित अत्यावश्यकीय सेवा बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा समुदायस्तरमा संक्रमण बढ्न सक्ने सम्भावनालाई ख्याल गरी प्रशासनले आगामी भाद्र ५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सोमबार एक सुचना जारी गर्दै सेवा बन्द भएको जानकारी गराएको छ । यस अघि रुपन्देहीमा कोभिड–१९ को संक्रमण बढ्न थालेको भन्दै जिल्ला स्तरिय कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ र पालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा “ईमिडिएट रेस्पोन्स टिम’ गठन गरेको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय पालिका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा प्रमुख, पत्रकार महासंघ लगायत सदस्य रहने गरि ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको गरिएको थियो ।

कोभिड महामारीमा जिल्ला स्तरीय रुपमा यसले काम गर्नेछ । यस्तै पालिका स्तरीय रुपमा ‘ईमिडिएट रेस्पोन्स टिम’ ले काम गर्नेछ । यसमा सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानिय प्रहरी, स्वास्थ्यकर्मि लगायतको टिम सदस्यको रुपमा रहने छ ।