भैरहवा । बढ्दो कोभिड-१९ संक्रमणलाई हेरेर रोहिणी गाउँपालिकाले आफ्नो गाउँपालिकामा समुदाय स्तरीय पिसिआर परीक्षण सुरु गरेको छ । सोमबारबाट सुरु भएको परीक्षणको पहिलो चरणमा गाउँपालिका अन्र्तगत वडा कार्यालयमा काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, बजार क्षेत्रका पसल सञ्चालन गर्ने व्यक्ति, बैंकका कर्मचारी लगायत गरी १ सय ५ जनाको स्वाब संकलन गरिएको रोहिणी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरीले जानकारी गराए । स्थानीय रामनरेश यादव आदर्श माध्यमिक विद्यालयमा स्वाब संकलन गरिएको थियो ।
रोहिणी गाउँपालिकाको पूर्वमा रहेको रामग्राम नगरपालिका र पश्चिममा रहेको सिद्धार्थनगर नगर पालिका तथा छिमेकी मुलुक भारतमासमेत कोभिड-१९ संक्रमितहरुको संख्या बढ्दै गइरहेकोले रोहिणी गाउँपालिकामा परिक्षण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जनाए । उनले गाउँपालिका अन्र्तगतका कर्मचारी मात्र हैन जोखिममा रहेका सर्वसाधारणहरु पनि आवश्यकता अनुसार परीक्षण गर्न सक्ने सुविधा रहेको बताए ।
भारतीय सीमामा रहेकोले रोहिणी गाउँपालिका पनि उच्च जोखिममा रहेको बताउँदै यादवले जोखिममा रहेका नागरिकको पहिचानको लागि पनि परिक्षण अपरिहार्य रहेको बताए । उनले पहिलो दिन बजार केन्द्रित रहेपनि आगामी दिनमा गाउँपालिका अन्र्तगतका ग्रामीण क्षेत्रका बासीन्दालाई लक्षित गरि परिक्षण गरिने बताए । यसका साथै गाउँपालिकामा रहेका बैंक तथा अन्य वित्तिय संघ संस्थाका कर्मचारी, बढी भिडभाड हुने पसलका सञ्चालकहरुको पिसिआर परिक्षण गरिने दावी गरे ।
“हामी आफ्नो-आफ्नो नागरिकको स्वास्थ्यप्रति संवेदनशिल छौं, आवश्यकता महशु गर्ने गाउँपालिकाका जो सुकै स्थानीयले स्वाब परिक्षण गराउन सक्छ ।” यादवले भने “अहिले गाउँपालिकाको प्राथमिकता बिकास भन्दा पनि स्थानीहरुको स्वास्थ्यमा रहेको छ ।” परीक्षणको लागि आवश्यक पर्ने भिटिएम किट गाउँपालिकाले नै खरिद गरेर पिसिआर परिक्षण गरिरहेको छ । परीक्षण कार्य भोली मंगलबार र आवश्यकता अनुसार अन्य दिन पनि सञ्चालन गरिने गाउँपालिकाले जानकारी दिएको छ ।
प्रतिक्रिया