तत्कालीन दोभान गाउँ पञ्चायतका प्रधानपञ्च र उपप्रधानपञ्च भएका थिए जुमानसिंह जीसी । पहाड घर उनको प्युठान, ओखरकोट थियो । उनका बाबा ललितबहादुर जीसी २०२३ सालमा पाल्पा दोभानको डढेगाउँ हालको तिनाउ गाउँपालिका हरियाली गाउँमा बसाइँ सरेर आएका थिए । उनीसँग आफ्ना पुख्र्यौली गाउँका करिव १० घरजति आफन्तीहरु समेत आएका थिए । उनीहरु सबै मिलेर डढेगाउँमा ९० रुपैयाँमा गाउँभरिकै जग्गा किनेर बसेका थिए । ललितबहादुर बौद्धिक व्यक्तित्व समेत थिए भनेर उनका आफन्ती पर्ने हुकुमबहादुर जीसी बताउँछन् । उनीसँग नेता मोहनविक्रमसिंहका बाबा खिमबिक्रम समेत डराउँथे रे । हक्की र बौद्धिक व्यक्तित्व ललितबहादुर जीसी दोभानको डढेगाउँमै बिते ।
जुमानसिंह जीसी १९९३ सालमा जन्मिएका थिए । सामान्य लेखपढ गर्न सक्ने उनी दोभानमा २०२३ सालमा बाबासँगै आइपुगेका थिए । उनी आउने साल मै दोभान गाउँ पञ्चायतको निर्विरोध उपप्रधानपञ्चमा चुनिएका थिए । दोभान गाउँपञ्चायतको उनी पटकपटक प्रधानपञ्च समेत भए । विचारमा उनी नेकपा मसाल समर्थित भएपनि प्युठान छाडेर आएपछि पञ्चायतलाई स्वीकार गरी प्रधानपञ्च भएका थिए भन्न सकिन्छ ।
सम्वत् २०४३ सालमा उनले आफ्नो उत्तराधिकारीका रुपमा दोभानकै लालसिंह शेरचनलाई दोभान गाउँ पञ्चायतको प्रधानपञ्चमा जिताएर आफू जिल्ला पञ्चायत पाल्पाको जिल्ला पञ्चायत सदस्यमा उम्मेदवारी दिए तर जित्न भने सकेनन् । २०४९ सालमा दोभान गाविसमा उनी सबै वामपन्थीहरुको साझा उम्मेदवारका रुपमा अध्यक्षको उम्मेदवार भए तर आफैले राजनीतिमा तातेताते गराएका लालसिंह शेरचनसँग थोरै मतले पराजित हुन पुगेका रोचक घटनाहरु आज पनि ताजै छन् ।
मोहनविक्रमसिंह उमेरले समकक्षी थिए र आफन्ती थिए नाताले जुमानसिंहका । ४० को दशकमा उनी मोहनविक्रमसँग भेट्न भारतको गोरखपुरसम्म पुगेको कुरा खुल्न आउँछ । त्यहाँ पुगेर एमबीलाई भेटेपछि पार्टीप्रति थप क्रियाशील हुने जाँगर उनमा पलाएको थियो भन्ने कुरा पार्टीका निकटवर्ती साथीहरुले बताउने गर्छन् । हुन त २०१५ सालको आमनिर्वाचनमा प्युठानमै हुँदा उनले गोर्खा परिषदलाई रुचाएर भोट हालेका थिए भनेर उनका भतिज पर्ने हुकुमबहादुर जीसीले बताउँछन् ।
दोभानमा जुमानसिंहलाई नचिन्ने कमै छन् । पञ्चायतकालमा प्रधानपञ्च हुँदा पनि उनलाई भेट्न भूमिगत मसाल पार्टीका नेता, कार्यकर्ताहरु समेत आउने गर्थे । एक किसिमले उनी पञ्चायती व्यवस्थामा लागेर पनि सोही व्यवस्थाको विरुद्धमा भूमिगत रुपमा लागेका थिए भन्न सकिन्छ । मोहनविक्रम र मोहन वैद्य समेत जुमानसिंहलाई भेट्न आइपुग्थे । यसले पनि उनको राजनीतिक हाइट झल्काउँछ ।
२०५४ सालको स्थानीय निर्वाचनमा जुमानसिंह दोभान गाविसको उपाध्यक्ष निर्वाचित भए । त्यतिबेला भने उनी तत्कालीन एमालेमा समाहित भईसकेका थिए । मसालसँग उनको सामीप्यता भएपनि पछि उनलाई तत्कालीन वडाध्यक्ष इन्द्रबहादुर खड्का, ईश्वरीप्रसाद बस्याल, दोभान गाविसका तत्कालीन अध्यक्ष लक्ष्मण थापा र जिल्ला नेता एकप्रसाद भण्डारीले तत्कालीन एमालेमा बस्न र नेतृत्वमा रहन आग्रह गरेका रहेछन् । दोभानको चिसापानी गाउँमा रहेको क्षेत्रबहादुर बस्नेतको घरमा बसेर उक्त राजनीतिक भेटघाट गरेको खुलासा लक्ष्मण थापाले गरेका छन् ।
पद र प्रतिष्ठाका लागि भन्दा पनि उनी जहाँ बसेर जनताको हित हुन्छ त्यहीँ ठाउँमा जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्छ भन्ने स्वभावका थिए । यो कुरा उनकै भतिज हुकुमबहादुरले भन्दै थिए । जुमानसिंहका दुई श्रीमती थिए । दुई श्रीमतीबाट पाँच छोरा र चार छोरी भएका थिए । नातीनतिना त गनेर साध्य छैन । जुमानसिंह हँसिला र फरासिला थिए । बोलक्कड थिए । नेतामा हुनुपर्ने गुणहरु उनमा भेटिन्थे । खासगरी उनको क्षमता वा सीप जे भनेपनि उनी असल मध्यस्थकर्ता थिए । अर्थात् गाउँघरमा हुने झैंझगडा वा बेमेललाई उनले सहजै मेलमिलाप गराई दिन सक्ने खुबी थियो । त्यो समन्वयकारी भूमिकाले नै उनी आफूलाई राजनीतिमा टिकाई राख्न सहज भयो ।
संयोगले मनीष पन्थ, म र हुकुमबहादर जीसी एकदिन उनकै घरमा पुगेका थियौं । उनी बगाह गाउँमा बस्दै आएका थिए । डढेगाउँ छोडेको पनि वर्षौ भएको थियो उनले । मैले उनलाई धेरे प्रश्नहरु गरें तर उनी रोगले थलिएका कारण बोल्न सकिरहेका थिएनन् । धेरै कुरा इशाराका माध्यमले बुझ्ने गरेका थियौं हामीले । पत्रकार मनीष पन्थले हाम्रो वार्तालाप खिचिरहेका थिए । मैले थप उपचारका लागि काठमाडौं जाने कि भनेरभन्दा उनले इशाराले अब कहि नजाने संकेत गरिरहेका थिए । कारसिनोमाका कारण उनको मृत्यु भयो । दुर्भाग्य, हामी पुगेर फर्किएको भोलिपल्ट नै उनको मृत्युको खबर सुन्नु पर्यो । मृत्युपछि हामीले उनको छोटो भिडियो बनाएका थियौं । अहिले छ कि छैन होला त्यो भिडियो उनका आफन्तीहरुसँग ?
गाउँको विकास निर्माणमा र राजनीतिमा उनको एकछत्र राज्य जस्तै थियो कुनैबेला तत्कालीन दोभानमा । उनको राजनीतिक शाखलाई जोगाई राख्न उनका सन्तानहरुले उनको बाटो खासै रोजेनन् । बंशजको राजनीति खासै गरेनन् । इतिहासको एउटा कालखण्डमा आइपुग्दा उनको सम्झना र उनले गरेका राम्रा कामहरुको तारिफ गर्नुपर्दछ । होलान् उनका पनि कति गल्ती कमजोरीहरु तरपनि उनका राम्रा कामहरुलाई अंगीकार गरेर अघि बढेमा पुराना पुस्ताहरुको सम्मान र नयाँ पुस्ताहरुले नयाँ गोरेटो चिन्न सक्ने छन् ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रको लडाइँ सम्पन्न भइसकेको थियो भने संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुन नपाउँदै उनको मृत्यु भयो । राजनीतिमा अग्रगामी विचार राख्ने जुमानसिंह जीसीलाई दोभानबासीहरुले सधैं सम्झि रहने छन् ।
प्रतिक्रिया