दाङ । वर्षाले साथ दिएपछि दाङका किसानले यो वर्ष समयमा नै रोपाई सकेका छन् । विश्वव्यापी कोभिड-१९ महामारीका बीच पनि नरोकिएका कृषक अहिले भने मल अभावले चिन्तित छन् । रोपाइँ सकिएको महिनौ वित्न लाग्दा पनि आवश्यक रासायनिक मल अभावमा कृषक चिन्तित बनेका हुन् । रोपाई गरिएको २० देखि २५ दिन भित्र धानमा युरिया मल हाल्नु पर्ने भएपनि बजारमा मल नपाउँदा किसानहरु भौतारिएका छन् ।
अनुकुल मौसमका कारण गत वर्षको भन्दा उत्पादन वृद्धि हुनेभन्दै हौसिएका कृषक समयमै मल नपाउँदा चिन्तित बन्न थालेका छन् । दाङको शान्तिनगर २ अमुवाका किसान नेवबहादुर खड्काले समय मै पानी पर्दा खेती राम्रो भए पनि समयमा मल नपाउँदा उत्पादनमा घट्ने चिन्ता ब्यक्त गरे । विगतका बर्षहरुमा भन्दा यस बर्ष धान उत्पादनमा धेरै बृद्धि होला भन्ने लागेको थियो तर मल नपाउँदा धान नै नहुनेको कि भन्ने चिन्ता लागेको उनले बताए ।
त्यसैगरी सोही ठाउँका अर्का किसान शेरबहादुर नेपालीले आफुले युरिया मल धान रोप्ने बेला पनि नपाएको र अहिले पनि नपाएको गुनासो गरे । उनले मलको लागि वडा कार्यालयलगायत विभिन्न ठाउँमा गएको भएपनि नपाएको गुनासो गरे । त्यसैगरी अर्का किसान कृष्ण पौडेलले रोपेको २२ देखि २५ दिन भित्र मल धानमा हाल्नु पर्ने भए पनि महिना दिनसम्म मल नपाउँदा धान पहेलो हँुदै गएको बताए । सरकारले दिने अनुदानको मल त पाईदैन, तर बजारमा मंहगो मुल्य हालेर किन्न खोज्दा समेत नपाइएको उनको गुनासो छ ।
त्यसैगरी अर्का किसान नारायण बुढाथोकीले पनि मल नपाउँदा किसानहरु मर्कामा परेको बताए । उनले अनुदानमा युरियालाई १ हजार पर्ने र बजारमा २४ सयसम्म मुल्य रहेको भएपनि नपाउँदा किसानहरुलाई समस्या भएको उनले बताए । उता घोराही २ रामपुरका किसानहरुले मल नपाएको भन्दै केही दिन अगाडी हलो–जुवा बोकेर वडा कार्यालयमा पुगे र आन्दोलन गरे । स्थानीय शेरबहादुर चौधरीले राज्यले दिने अनुदानसमेत नपाएको गुनासो गरे । उनले अहिले धानमा युरिया मल प्रयोग गर्ने बेला नपाउँदा आफुहरु चिन्तिभएको बताए ।
जिल्लामा कृषि सामाग्री लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल वितरण गर्दै आएका छन् । सामाग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत अनुदानको मल पाउने गरेका छन् । दाङमा कृषि सामाग्रीले तुलसीपुर घोराही र लमहीमा मल बिक्री गर्ने गर्दछ, भने साल्ट ट्रेनिङले घोराही क्षेत्रका लागि मात्र बिक्री गर्ने गरेको छ । सामाग्रीका अनुसार केही मात्रमा डिएपी र पोटास मल भए पनि युरिया मल अहिलेसम्म आएको छैन् । भदौको पहिलो साता भित्र मल आउन सक्ने सामाग्रीले जनाएको छ । अहिले किसानहरु मल नपाउँदा समस्यामा रहेको र कोरोना महामारीको कारण मल आउन ढिलाई भएको घोराहीमा रहेको कृषि सामाग्रीकी सूचना अधिकारी सुस्मा बस्यालले बताइन् ।
जिल्लामा यस वर्ष करिब ३५ सय हेक्टरमा धानखेती बढि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गत वर्ष ३७ हजार ७ सय १० हेक्टरमा भएको थियो । यस वर्ष समय मै पानी पर्नु र कोरोनाका कारणले बाहिर रहेका युवाहरु घर आएका कारणले पनि गत वर्षको तुलनामा यस वर्ष करिब ४१ हजार हेक्टरमा धान खेती भएको केन्द्रले जनाएको छ । दाङका १० स्थानीयतहमा करिब २२ हजार मेट्रिक टन रासायनिक मल आबश्यक पर्ने कृषि ज्ञान केन्द्रले बताएको छ ।
प्रतिक्रिया