स्वास्थ्य लाभको कामना गर्दै छुट्टिएर पुनः भेट्न नपाउँदै अञ्जुली भरि आँसुले बिदाई गर्नुको पीडा आफन्त गुमाउने जो कोहीको छातीमा आलै छन् होला । हो ! त्यस्तै एउटा आलो घाउलाई शब्दले मल्हम लगाउने प्रयास गर्दैछु आज । २०७७ साउन ११ गते बिहिवारका दिन । बिहानैदेखि खै ! किन मनमा नजाँनिदो न्यास्रोको कुहिरो लागेको थियो । कसैसँग खुलेर कुरा गर्न त्यति मन लागेको थिएन । मास छर्न गएका हरुका तिता-मिठा यादहरुले मन अन्यासै कुँडिएको थियो दिनभरि । साँझपख मोबाइल एल्बममा साथीहरुको तस्वीर हेर्दा अलि हल्का भएजस्तो लागेर, फेसबुकमा फोटो पोस्टयाउँदै 'छोटो छ जिन्दगी फोटो खिचेर राख' भन्ने status राखेर भान्सातिर लागें ।
मोबाइल छोडेको भर्खर १० मिनेट जति भएको थियो । मेरो स्कुलकी साथी निलमले फोन गरिन् । मैले सन्चो बिसन्चो सोध्न नपाउँदै हतारिदै यशोधा मेमलाई के भाथ्यो र ? तिमी भेट्न गयौ ? भन्दै प्रश्न तेर्साउँदा मनमा चिन्ताको तगारो तेर्सियो । जवाफमा नाई मात्र भन्न के पाएको थिएँ, उताबाट अवाक भइ सुक्सुँकाएको चाल पाएँ। मैले पुनः सोध्नु अघि उनले गयौ होला भनेर सोधेको भनेर सुक्सुँकाउँदै फोन काटिन् ।
स्कुलमासँगै पढेकी साथी र यशोधा मेम कि बुहारी पर्छिन रेनु । गृहस्थिको व्यवहारले अत्यावश्यक काम बाहेक अन्य कुरा गर्न एकदमै कम समय हुन्छ्न, हाम्रा लागि । खै ! कुन्नि के को बिजि हो हाम्रो ? हतारिदै रेनुको फेसबुक वालमा नजर पुग्यो । गुरुमालाई श्रद्धाञ्जली लेखिकी रहेछिन । श्रद्धाञ्जलीका अक्षर उच्चारण गर्न नभयाउँदै पिडाको तिनाउ उर्लिन थाल्यो । बाबू नानी मलाई देखेर अनुत्तरित प्रश्नका जवाफ खोज्न रुन्चे अनुहारले एकतमासले हेरिरहे । यतिबेला केहीछिन पहिला राखेको फेसबुक स्टाटसले मुटुमा सियो बनेर चस्स चस्स घोचिरहेको थियो ।
करिब १ घन्टापछि मात्र दिवंगत आत्माको चीर शान्तिको कामना, हार्दिक श्रद्धासुमन अर्पित गर्दै सामाजिक संजालमा पोस्ट गरेकी थिएँ । धेरै साथीहरुले श्रद्धाञ्जली अर्पन गर्नु भयो कमेन्ट मार्फत । दुस्ख बाँडिदिनु भएकोमा यथार्थमा मन बाँध्न केही सजिलो भएको थियो मलाई । एकदमै माया गर्ने मेरी प्रेरणाकी स्रोत गुरुमा हुनुहुन्थ्यो यशोदा क्षेत्री । दुर्गाभवन मावि भुर्तुङ गुल्मीकी पूर्व शिक्षक । २०६० सालमा सेवा निवृत पश्चात् श्रीमान क्षेत्रबहादुर क्षेत्री लगायत परिवारका साथमा हाल मुर्गियाको स्थायी बासिन्दा हुनुथ्यो । हाम्रो भेट गतवर्षको गुरुपूर्णिमाका दिन २० सालपछि एक्कासी सप्राइज दिन उहाँकै निवास मुर्गियामा भएको थियोे ।
अर्को वर्षपनि आउँछु भनेर बिदा भएको भर्खरै झैँ लाग्थ्यो तर यसपाली विश्वव्यापी कोरोना महामारीका कारण जान पाइएन । गुरुपूर्णिामाको दिन भने सम्झिएको थिएँ । जुन सदाको लागि पूरा नहुने वाचा बन्यो । २०५३ साल ताका भारतदेखि स्वदेश आउँदा नेपाली विद्यालयमा भर्ना भएका थियौं। मलाई नेपाली बोल्न एकदमै गाह्रो हुन्थ्यो । तर त्यसताका राम्रोगरी हिन्दी भाषा बुझ्ने भनेको यशोधा मेम मात्र हुनुन्थ्यो । हामी पहिला पढेको सकुलमा पन्जाबी र हिन्दी माध्यमबाट पढाई हुन्थ्यो । जसले गर्दा मलाई नेपाल आएर नेपाली भाषामा पढ्न अलि समय असहज भएको थियो । आफुलाई परेका समस्याहरु म मेमलाई नै सुनाउँथे र उहाँनै नेपालीमा उल्था गरेर अरुलाई बुझाउनु हुन्थ्यो । यसैगरि दिनहरु बित्दै गए ।
मेरालागि स्कुल र विद्यार्थी सबै नयाँ थिए । जसले गर्दा बल्ल अचेल थाहा भयो कि उतिबेला मसँग रैगिङ पो भएको रहेछ । साथीहरु वास्तविक नामले बोलाउनु भन्दा लाइन(छोकरी भन्थे । छोटा ब्योए कट गरिएका मेरा बाल देखेर साथीहरू जंगली भनेर गिज्याउँथे । त्यो बेला उनीहरुको व्यवहारले साह्रै मन दुखेको थियो । जुन कुरा मैले मेमसँग पनि शेयर गरेको थिएँ । मेमले अब देखि कसैले जिस्काएको थाहा पाएँ सजायँ दिन्छु भनी उर्दि जारी गर्दा भने निकै आत्मबल बढेको महसुस हुन्थ्यो ।
अझैपनि स्मृतिमा पुराना दिनहरु ताजै छन् । कक्षा ४ को समुहमा अभ्यास गर भन्ने कुनै शीर्षकमा मेमले अभिनय गर्न पठाउँदा सबैले शिर निहुँराएर बसेको बेला पछाडिबाट म अभिनय गर्छु भनेर हात उठाउँदा साथीहरु गलल्ल हाँसेका थिए । पछि मेमले मेरो अभिनयको प्रशंसा गरेपछि बल्ल माहोल फरक बन्यो । भारतमा जन्म भएको हुँदा नाम पनि अलि फरक थियो “गीतारानी “ त्यसैले पनि सबैले नाम अनौठो मान्थे । त्यसबेला नेपालमा शासन सत्ता राजामा नीहित थियो । खै ! किन साथीहरू मलाई 'ए ! रानी तिम्रो राजा खोइ ?' रानीले त न पढेपनि हुन्न ? ए ! रानी पैसा देउ न । पाईनापल बिस्कुट खान परो ! भनेर मलाई हमेशा गिज्याएर दिक्क बनाउँथे ।
यशोधा मेम प्रायस् सारी लगाएर चिटिक्कको ब्याग भिर्ने । गोरी राम्री हुनुका साथै दुर्गाभवन मावि की असल शिक्षक हुनुहुन्थ्यो । उहाँको विद्यार्थीलाई बुझाउने शैली अति सरल थियो । जुन मलाई एकदमै मन पर्थ्यो । प्रायस् बिहानको लाईन लाग्दा मिठो स्वरमा श्रीमान गम्भीर नेपाली ….भन्ने उतिबेलाको राष्ट्रियगान गाउनु हुन्थ्यो अनि हामी पछिपछि लयमा गाउँथ्यौं। मेमले हामीलाई ८ कक्षासम्म पूर्व-व्यवसायिक शिक्षा पढाउनु भएको हो । जीवनमा औधी रुचाईएका या भनौं प्रगाढ प्रेम गरेका थुप्रै साथी, आफन्त गुमाएका अनुभव छन् मसँग। जसले गर्दा मलाई घनिष्ठ मित्रता छिटो अतीत बन्छ्न् भन्ने लाग्छ तर अमीटपनि उत्तिकै ।
मेमसँग भेट्न नभएको २० वर्ष भइ सकेछ । पत्तै भएन ।पोहोर सालको गुरुपूर्णिमा नै हाम्रो अन्तिम मिलन तिथि थियो । त्यसदिन साथी अस्मिलाई साथमा लिएर मुर्गिया चोकमा पुगें । बाटो पहिल्याउन न सक्दा करिव १ घन्टा बेस्सरी दुख पाएका थियौँ । बल्लतल्ल साथीको सहयोगमा उहाँसँग सम्पर्क भयो र घरसम्म पुग्न सफल भयौं । रातो मेक्सीमा बुढयौली झल्काउने अनुहारका रेसा कमजोर शरीरसँग मिठो मुस्कान दिने गुरुमालाई लामो समयको अन्तरालपछि भेट्न पाउँदा मन एकदम खुशी थियो । सायद उहाँले पनि आफ्नो प्यारो विद्यार्थी खोज्दै हुनुथ्यो र उहाँले भने भेट्नु भएन । बितेको समय किन पो फर्किन्थ्यो र ? ध्रुवसत्य कुरो चन्द्रसूर्य आकासमा नै रहन्छन् पृथ्वीमा झार्छु भन्ने त केवल हावा कुरो !
केहीबेरको कुराकानीपछि मेमले मलाई चिन्नु नै भएन भन्ने चाल पाएँ । धेरै दुस्ख लाग्यो तर आफ्नो विद्यार्थी त हो कुन चाहिँ भनेर नाम ठम्याउन सक्नु भएन छ । मैले २० साल पछाडिको यादहरु ताजा गराएँ । उहाँ निकै ध्यान दिएर सुन्दै हुनुहुन्थ्यो । आखिरमा मेरो कुरा टुंगिदै गर्दा खुशीका आँसु गालामा झार्दै “गीतारानी “पो भनेर ढाडमा धाप मार्नु भयो । यतिबेला भने मैले रुञ्चे खुशी महसुस गरें। हामी कुरा गर्दै गर्दा छेउमा बसेका उनका श्रीमान भने गुरु(शिष्य प्रेम देखेर निकै सन्तुष्ट देखिनु भयो।
विशेष भेटको खास काम त बाँकी नै थियो । रातो टीकाले तिलक गरि गुरुमालाई खादा लगाइदिएँ । मिठाई खुलाउन खोजे थोरै मात्र लिनु भयो । उहाँ सुगरको बिरामी हुनुहुँदो रहेछ । उहाँलाई सानो कोसेली लगिदिएको थिएँ तर लिन मान्नु भएन, 'के ल्याउनु पर्थ्यो र अबमाथि जानेबेला भएकालाई' भन्नू भयो । गुरु पूर्णिमाको चिनोस्वरूप राख्न आग्रह गरेपछि बल्ल लिन मान्नु भयो ।
त्यसपछि नातिनी बुहारीले मिठो चिया पिलाइन् । कुरा समग्रमा बितेका लामो समयको स्कुलले सम्झनामा नै केन्द्रित भए । 'तिमीलाई देखेर अत्यास पो लाग्यो, उही गीतालाई देख्न मन लाग्यो । अहिले त कति मोटाएकि रहेछौ ? त्यस्तो मान्छे ? यस्तो अजमान हुँदो रैछ है' छक्क पर्नु भो । मैलेपनि उस्तै अनुभव गरेको सुनाएँ ।
“हाम्रो त जानेबेला भयो नानी कतिदिन पो होला र अब तर जति समय मिल्छ भेट्नु पर्छ है । आज यसरी आयौ खुशीको सीमा नै रहेन भन्दै गर्दा मेमका आँखामा आँसु टिलपिलाएका थिए । फागुनमा बुबाको चौरासी पूजा गर्ने हो मैले बोलाउँछु । आउनु है जसरी पनि भन्दै गर्दा बुबाले-हो ! नानी आउनुस है जसरी पनि । अब फेरि बोलाउन पाइन्छ कि पाइँदैन । यो रोगी ज्यानको के भरभन्दा सबै केही बेर भावुक भयौँ । हामी कुरा गरेर बस्दै गर्दा साथी अस्मिले एक रदुई थान हाम्रो फोटो खिचिदिइन्।
मेमसँग अझै बस्ने मन हुँदाहुँदै पनि छुट्टिएर हिड्नु पर्ने भयो । साथीलाई घर छोडेर म बुटवल फर्किनु थियो । हामीले थोरै समयमा यादगार समय बितायौ । हिड्नेबेला दुवैजनाले तल गेटसम्म छोडन आउनु भयो । “घर पुगेर फोन गर्नु है ।" भन्नू भयो-अनि फागुनमा चौरासी पूजाको कुरा दुवै दम्पतिले दोहोर्याए । मैले पनि बोलाउनु होला पक्का आउँछु भनी आश्वासन दिएँ । अन्तिममा आफ्नो ख्याल गर्नुहोला भन्दै बिदा भयौँ।
समय बित्यो । समयसँगै फागुन पनि बित्यो । उहाँको चौरासी पूजाको निम्ता आएन । म आफ्नै दिनचर्यामा व्यस्त भएँ । चैत लाग्यो । देशभर लकडाउन पनि । २०७७ सालको नयाँ वर्ष, बुद्धपूर्णिमा, गुरुपूर्णिमा सामाजिक संजालमा सिमित भयो । साथमा सीमित भयो । यसवर्ष मेरी गुरुमाका, यादहरु । उहाँको निधनको खबर पनि सामाजिक संजालबाट नै थाहा पाएँ । बुबालाई भेटेर संमवेदना दिने अवसर पनि मिलेन । तेह्रौं पूण्यतिथिमा जसरी पनि एकपटक पुग्ने धोको थियो तर गाउँमा ससुरा बित्नु भएको हुँदा त्यो अवसर गुम्यो ।
रेनुलाई फोन गरें । दुस्ख सुनाउनु बाहेक अरु कुनै विकल्प थिएन । उनले समय नै यस्तै पर्यो । पिर नगर भनी सान्त्वना दिएका शब्दले मन बाँधे । मर्नु बाँच्नु त चलिरहन्छ तर मरेका मान्छे फर्किने चलन भने कदापी चल्ने छैन । हामी सबै एक अर्काका लागि विशेष छौं भन्ने कुरा मनन गर्नु सबैका लागि अत्यन्तै जरुरी छ । आफू र आफ्ना परिवार, साथीहरू र आफन्तसँग मिलेर जीवन बिताउने प्रयास गर्नुपर्दो रहेछ । तीतामीठा यादहरु बनाउनु पर्दोरहेछ । जुन तपाई हाम्रो भौतिक शरीर खरानी भएपछि बाँच्नेहरुका लागि एक हुल याद बनेर आउँदा घृणा र तिरस्कारभन्दा माथि बाँच्नेहरुका लागि अदम्य साहस र प्रेरणादायी उत्कृष्ट उदाहरण बन्न सफल हुनुपर्दोरहेछ भन्ने महसुस गर्दैछु ।
त्यसैले आज भन्न मन लागेको छ-अतीतका पानाहरुमा लेखिएका प्यारी गुरुमाका यादहरुप्रति अथाह माया तथा सम्मानसँगै मृतात्माको चीर-शान्तिको कामना तथा हार्दिक श्रद्धासुमन !
प्रतिक्रिया