ताजा अपडेट »

बुटवल उपमहानगरका कर्मचारीसहित १६ जनामा कोरोना संक्रमण

आइतबार, ३२ साउन २०७७

बुटवल । बुटवल उपमहनगरमा कोरोना संक्रमितको संख्या बढ्नुका साथै समुदायस्तरमा समेत देखा पर्न थालेका छन् । बुटवलमा १६ जना नयाँ संक्रमित थपिएको उपमहानगर स्वास्थ्य विभाग प्रमुख कुन्दनकुमार सिंहले जानकारी गराएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको पीसीआर रिपोर्टमा ३ जना कर्मचारीसहित १६ जना संक्रमित थपिएका हुन् ।

शनिबारसम्मको रिपोर्टमा उपमहागरमा ८० जना संक्रमित पुगेका छन् । शनिबार बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण देखिएको थियो । संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आईतबार ३ जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो । आइतबार संक्रमण पुष्टि भएकाहरुको विस्तृत विवरण आइनसके पनि अधिकांश कालिकानगर क्षेत्रको रहेका छन् ।

शनिबारसम्मको तथ्याङ्क अनुसार बुटवल उपमनगरको वडा नम्बर ११ मा सबैभन्दा बढी १८ जना संक्रमित भेटिएका छन् । यस्तै वडा नं १० मा ८ जना, १३ मा ४ जना, १२ मा २ जना संक्रमित छन् । यस्तैगरी वडा नं १ देखि ७, ९ र १६ मा एक÷एक जना संक्रमित रहेका छन् । वडा नं १५, १७, १८ र १९ मा भने शनिबारसम्म संक्रमण देखा परेको छैन ।

संक्रमण देखिएका सक्रिय संक्रमितमध्ये ७ जना होम आइसोलेशनमा छन् । बाँकी लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पताल धागो कारखाना र देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेशनमा उपचाररत छन् ।