ताजा अपडेट »

संक्रमण बढ्दै गएपछि कडाई गर्न सुरक्षा निकायलाई निर्देशन

शुक्रबार, ३० साउन २०७७

काठमाण्डौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई जरुरी सूचना जारी गर्दै निर्देशन दिएको छ ।

पछिल्लो समयमा कोभिड-१९ को सङ्क्रमण र मृत्युदर पनि बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मानिसले लापरवाही गरिरहेकाले समस्या थपिँदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा निर्देशनअनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

२०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा चल्ने सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधनमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरीको पालना गर्न गराउने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउनेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातहतका निकायलाई बिहीबार मन्त्रालयले जरुरी सूचनामार्फत निर्देशन जारी गरेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म मास्क प्रयोग नगरी हिँड्ने चार लाख १९ हजार बढीलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

अनुमति बिना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६३५ वटा सवारी साधन तथा अनुमति बिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा नागरिकबाट भइरहेको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबैबाट थप सकारात्मक सहयोगको लागिसमेत मन्त्रालयले अनुरोध गरेको छ ।