बुटवल । कोभिड-१९ समुदायस्तरमा देखिन थालेपछि रुपन्देही जिल्ला अघोषित रुपमा लकडाउन भएको छ । विभिन्न स्थानीय निकायहरुले अत्यावश्यक बाहेकका सबै सरकारी कामकाज बन्द गर्नुका साथे बजार पसलहरु सञ्चालनका लागि निर्धारित समय तोकेपछि जिल्ला अघोषित लकडाउन भएको हो । प्रदेश ५ को अस्थाई राजधानी बुटवल उपमहानगरपालिका विहिबार रातीदेखि पूर्णरुपमा बन्द भएपछि बन्दको असर बुटवलसँग जोडिएका अन्य पालिकाहरु समेत परेको छ ।
बुटवल उपमानगरमा स्वास्थ्य सेवा बाहेकका सबै बजार पसल बन्द गर्नुका साथै सरकारी कामकाज समेत बन्द छन् । यसैगरी उद्योगहरु सञ्चालनमा ल्याउन त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरहरुलाई बाहिर निस्कन नपाउने, आद्यय स्टोर, दुध तथा डेरी, फलफूल तरकारी लगायतका पसलहरु विहान ७ बजेदेखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन हुन पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । यसैगरी बैंक तथा वित्ति संस्थाहरुले आफ्ना ५० प्रतिशत कर्मचारीलाई मात्रै उपस्थित गराएर विहान १० बजेदेखि २ बजेसम्म सञ्चालन हुन पाउने व्यवस्था छ ।
जिल्लाका अन्य पालिकाहरु तिलोत्तमा, देवदह, भैरहवा, सैनामैना, सिद्धार्थनगर, ओमसतिया, कञ्चनलगायतका पालिकाहरुले अत्यावश्यक बाहेकका सरकारी कामकाज बन्द गरेका छन् । जनतालाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आह्वान गरिरहेका छन् । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले सामाजिक सञ्चालमार्फत नगरबासीलाई सम्बोधन गरी कोभिड-१९ बाट बच्नका लागि अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आह्वान गरेका हुन् । नगरपालिकाले यसअघि नै सुचना जारी गरी सबै वडामा अत्यावश्यक बाहेकका सबै सरकारी कामकाज बन्द गरिने जानकारी गराएको थियो ।
ओमसतिया गाउँपालिकाले पनि बुधबार सुचना जारी गर्दै अत्यावश्यक बाहेकका सरकारी कामकाज बन्द गर्ने जनाएको छ । बुटवल उपमहानगर बन्द भएपछि छोटा दुरीको सवारी साधन प्रभावित भएका छन् भने लामो दुरीका सवारी साधान विगतभन्दा कम चलेका छन् ।
प्रतिक्रिया