ताजा अपडेट »

म यस्तै छु, म जस्तो छु !

शनिबार, २४ साउन २०७७

म आज जहाँ उभिएको छु, म कस्तो छु म आफैले मूल्यांकन गरेकीछैन । म जस्तो छु, हो म यस्तै छु । कति तपाइँले चिन्नुभएको होला कति मैले चिनेकी हुँला । अरुलाई चिन्ने दुनियामा आफूले आफूलाई चिन्ने मौका न तपाइँले पाउनुभएको छ, न मैले नै फुर्सद पाएको छु । थाहा छैन, आफूलाई बुद्धिमान भनौं भने कुनै बिषयमा विशेषज्ञता प्राप्त छैन, आफूूलाई जान्दै नजान्ने भनौ भने एक थान परिवार र जीन्दगी चलाएकै छु । थाहा छैन म परिवारभित्र पनि बुद्धिजिविका रुपमा गनिन्छु कि गनिन्न ।

कुनै बेला आफूलाई एक बुद्धिमान आमा ठान्छु, मेरो सानो-सानो गल्तिमा ८ वर्षको छोराले दिने महत्वपूर्ण सुझावले पनि त्यो भ्रमबाट म मुक्त हुन्छु । पुरानो सोंचका मानिने मेरा बुवा जीवन र प्रेमलाई कथामा उनेर सुनाउँथे । जसले मलाई जीवन बाँच्ने प्रेरणा मात्र दिदैनथ्यो । केहि गर्ने हुटहुटि पनि जगाइदिन्थ्यो अब सोच्नुस् मेरो ८ वर्षको उमेरमा सुनकेशरी मैयाका कथा हालेर उहाँले सिकाएका जीवन उपयोगी कुरालाई उतार्दा मोबाइल र किताबमा रमाउँदै गरेको मेरो छोराको अनुहार सम्झिन्छु । थाहा छैन मेरो छोरा कस्तो बन्ला तर म जस्तो बने अलिकति आफ्ना लागि खुसी खोज्न सक्ने बनें । अलिकति अरुका लागि र अलिकति आफ्ना लागि प्रेम साट्न सकें ।

तपाईलाई लाग्दो हो, बच्चामा सुनाएका दन्ते कथाले निद्रा मात्रै लगाउँदो हो, एकछिनलाई भुलाउँदो हो । तर, सहि कथाहरुले नभुलाउँदा रहेछन् । जिद्धिका आंशु रोक्न सिकाउने मात्र होइन विद्रोहका आंशु बगाउन पनि सिकाउँदो रहेछ । कतिपय अवस्थामा जीन्दगी फगत अरुका लागि मात्रै बाँचेको हो भन्ने लाग्छ । तर, मलाई लाग्छ जब विद्रोहको मुना पलाउन थाल्छ जीवन अरुको लागि होइन आफ्नै लागि बाँचे भन्ने बोध हुँदो रहेछ । मैले ठूलै क्रान्ति गरें भन्ने भ्रममा चाहिँ म छैन । मैले जिन्स पाइन्ट लगाएँ, कुनै क्रान्तिका किताब पढेर होइन, फगत त्यो मेरो किशोर अवस्थामा पलाउँदै गरेको ईच्छा शक्ति हो ।

मेरो ईच्छाका अगाडि समाजको डर मान्ने बुवाको डर हरायो, छोरी बिग्री भन्ने छिमेकीका मुखलाई थकायो, हो अहिले म त्यो जीवनमा फर्किएँ भने मसँगैका साथीहरुले अलि पृथक पाउँथे होला भन्ने लाग्छ किनकि म त्यस्तै थिएँ । ‘यो गर्न हुन्न’ भन्ने हो भने झनै छिटो गर्नुपर्ने । तपाइँमा जस्तै ममा पनि थुप्रै बन्ने चाहनाहरु थिए । कहिले गीत–संगितको पाटोलाई समाउँछु भनेर दोहोरी कार्यक्रमहरुमा सहभागि हुन्थें, अहिले सम्झिदानी रमाइलो लाग्छ, कता–कता हांसोका खित्का छुट्छ, साविकको ठूलो लुम्पेकको चेहेमिमा दोहोरी गाएर प्रथम हुँदा पनि मेरी आमाले ‘अब उतैबाट पोइला जा बाहुनकी छोरी भएर दोहोरी गाउनी मलाई रुवाउन जन्मेकी ।’ यस्तै–यस्तै भन्दै खुब गाली गर्नुभएको थियो । म पनि भगवानको तस्वीर अगाडि राखेर खुब रोएकि थिएँ ।

यो पनि हो म भगवानलाई ढोग्थें त्यो कुनै ग्रन्थ पढेर होइन । त्यो मेरो सुरक्षाका लागि थियो । खै मलाई किन विश्वास लाग्थ्यो, पटक-पटक त्यहि आस्थाले बचाए जस्तो लाग्थ्यो । किनकि म भगवानलाई ढोग्नुमा आफूूलाई सुरक्षित महशुस गर्थें । मेरो आफ्नो मनलाई म कहिलेकाहिँ सोध्छु ‘म आधुनिक बन्न खोजें भगवानलाई किन ढोंगे, छोरीले पाइन्ट लगाए इज्जत र जात जान्छ सँगै बाहिरी कामहरु छोराले सम्हाल्नुपर्छ ।’ भन्थे म प्राय बाहिर नै डुल्न मन पराउँथे बाहुनकी छोरीले दोहोरी गाए नाक काटिन्छ भन्ने गुल्मीको एक बिकट ठाउँमा आफ्नो जीवन बाँचिरहेकी मलाई पाइन्ट लगाएर खुसि खोज्ने प्रेरणा कसले दियो मलाई त्यो पनि थाहा छैन ।

गीत-संगीतमा लाग्छु भनेर म हिँडे पनि बिस्तारै त्यतातिरको रहर त्यो बेलामा अर्थात् २०५९ सालमा पाल्पामा खुलेको श्रीनगर एफ.एमले विस्तारै खाइदिँदै गयो । ऐनामा आफ्नो अनुहार हेर्दै रेडियोमा बोल्ने सपना देखेकी मलाई ऐना अनुहारको साथी मात्र बनेन आवाजको साथी पनि बन्यो । ऐनामा आफनो अनुहार हेरेर दिक्दारी मान्नेहरुलाई यो कुरा गार्हो हुन्छ कि हँदैन । मेरा निम्ति ऐना अनुहार उतार्ने माध्यम मात्र होइन मेरो सपनाको हुट-हुटि उतार्ने माध्यम पनि हो । आफ्ना सङ्गघर्ष गरेका दिनहरु सम्झिँदा लाग्छ, ती दिनहरु साच्चिकै कति छोटा थिए । किनभने अचेल हरेकदिन लामो लाग्छ ।

त्योपनि थाहा थिएन कि म जिद्धि गर्छु र पाल्पासम्म पुग्छु भन्ने किनकि त्यती सजिलो थिएन म पाल्पासम्म आइपुग्न दिनदिन मेरो कार्यक्रम प्रस्तोता बन्ने रहर तानिँदै गयो घरमा कुरा त गरें तर, पठाउने त कुरै थिएन मेरा गाउँका केहि साथिहरु पाल्पा कलेज पढ्ने भन्दै आएका थिए, म पनि सोंचे तिनिहरुसंगै मिलेर बस्छु जे होस् होस् अर्को एउटा आँटले जन्म लियो शुक्रबार बिहान त्यो आँटले पाइला चाल्यो कहाँ जाने हो, म रेडियोमा काम गर्न पाउँछु/पाउँंदिन मलाई केहि थाहा थिएन । बिहिवार राती एक झिमिक ननिदाई शुक्रवार बिहान एक-एक पैसा गरेर संगालेको भुट्की, लगाउने कपडाको बीचमा राखेंर मेरो यात्रालाई अगाडि बढाएँ । बाटोभरी झरेका आंशुहरुले पिडा पखाल्दिएको महशुस हन्थ्यो । आमाले नजा भनेको सम्झिन्थें, सोँच्थें जीवनभरी पछुताउनु पर्ने होकि । तर, सफलताको लालचालाई आँशुुको भेलले रोक्न सक्ने रहेनछ । किनकि ती दिन मेरा निम्ति क्षमता, लगनशिलताबाट आफूलाई अब्बल सावित गर्ने दिनहरु थिए ।

तपाइँलाई के लाग्छ कुन्नी मलाईचाहिँ भगवानले लिएको परीक्षा हो भन्ने लाग्थ्यो । जसले त्यसमा इमान्दारिता देखाउँछ त्यो सफल हुन्छ, जसले इमान्दारीको विश्वास गर्दैन उ सफल हुँदैन । हेर्नुस् सफलताको मापन भनेको धन सम्पत्ति र इज्जत मात्र रहेनछ, साच्चिकै सफलता भनेको मनको खुसी रहेछ । तपाइँलाई के लाग्यो कुन्नी यो अलिकति क्रान्तीकारी भई भन्ने लाग्यो कि, आत्मगान गाई भन्ने लाग्यो कि, यत्रो गन्थन लेख्नुको उद्देश्य एउटै मात्र हो बिद्रोही हुनु भनेको ध्वंशकारी हुनु होइन । आफूलाई चिन्नु हो । आफ्नो रुचिलाई अंगाल्न सक्नु हो । विद्रोहि भनेको सम्बन्धलाई बिगार्नु होइन बनाउनु हो ।

हेर्नुस्, जीवनमा केहि गर्न खोजेपछि दुर्व्यवहार र हिंसा नहुने भन्ने कुरा नहुँदो रहेछ । तपाइँलाई लाग्दो हो केटिहरु आफूमाथि भएका दुर्व्यवहारको गणना गरेर बस्छन् संघर्षमा चाहे महिला होस् चाहे पुरुष कुनै न कुनै किसिमका दुव्र्यवहार भएकै हुन्छन् । कतिपय दुर्व्यवहार यस्ता हुन्छन्, जसले आफूलाई अझै लगनशिल र उर्जाशिल बनाउन पे्ररित गर्ने रहेछ । कसैको गिद्धे नजरले आंशुका भेल मात्रै बगाउँदैन आक्रोशको पहिरो पनि जाने रहेछ । कुनै कुनै निरिहता प्रेरणामा परिणत गर्न गाह्रो हुने रहेछ । अचेल लाग्छ कतिपय मानिसहरु सोच्दा हुन्, फगत महिला भनेको स्तन र यौनी मात्र हुन् । उनीहरु हरेक पल काम वासनाको कल्पना गरेर मात्र बस्छन् । हुनत मलाई पुरुषबादी भन्लान्, निच सोँच भएका पुरुषहरुका अगाडि हाम्रो आमा हृदय प्रतिउत्पादक त बनिरहेको छैन ? कहिलेकाहीँ सोँच्छु । हामी पुरुष जस्तै बलियो हुन सक्दैनौं ? बलियो कुन अर्थमा भने लक्ष्य चिन्ने र संङ्गर्ष गर्ने सवालमा । दुःख लाग्छ, आजको चिन्तन पुरुषलाई गाली गरेर महिलामाथिको हिंसा रोकिन्छ भन्ने बहस सुन्दा ।

जीवनमा जसले जसरी बुझ्न पनि सक्यो जीवन बुझ्ने आफ्ना आफनै पृष्ठभूमि छन्, तपाइँले जीवनलाई जसरी बुझ्नुस् तर, तपाई थाक्नुहुन्न, उत्साह मार्नुहुन्न । सफलतालाई आत्म सन्तुष्टिसँग जोड्नुपर्छ । सवैभन्दा ठूलो कुरा आफूूले आफूलाई भब्य प्रेम गनुपर्छ । सन्तानकी आमा एक गृहिणी कुनै कार्यालयको कर्मचारीको रुपमा लोभलाग्दो जीवन्त होइन आत्म खुसीको जीन्दगी विताइरहेकी मलाई सधैंभरी मान्छे भएर बाँचौं भन्ने इच्छा छ ।