नयाँ दिल्ली जाने भनेर म घरबाट हिडें, कपिलबस्तु एकजना नातेदारको घरमा बासा बसेको थिँए । वहाँहरुका चारभाइ छोरा चारवोटी बुहारी हुनुहुन्थ्यो । ठुली बुहारीले खाना पकाउनु भएको थियो । खाना खाएर हामी बसेका थियौं । कान्छी बुहारी सुत्केरी भएकी रहिछ्न । केहिबेर पछि कान्छो छोरा आएर भाउजुसगँ धुमधाम झगडा गर्दै भने “तिम्रो मात्रै सम्पती छ र यहाँ ! चारभाइको सम्पती छ, सुत्केरीको झोल पकाउँदा तिमिले किन पानीमा मात्र पकाएको ! “यो एउटा घटना मात्र भयो, रातभरी मामा माइजुका कुरा सुने, चार बुहारी चारतिर, चार छोरा चारतिर, दाल कस्ले ल्याउने, चिनी कस्ले ल्याउने, कस्ले कसलाई अर्ह्याउने, सबै कुरा अस्तव्यस्त, लथालिङ्ग र अराजकताको पराकाष्ठा भएको कुरा सुनाउनु भयो ।
अनि म दुई दिन त्यतै बसेर सबैलाई सम्झाएर सबैको अंशबण्डा गरिदिए । चार वर्ष पछि फेरि त्यहीँ घरमा जादा म अचम्म परे । चारै भाइले घर बनाएका, सबैका घरमा एक एकवटा लैना भैंसी बाधेका, छोराहरू सबै कमाइ गर्न विदेश तिर गएका, बुहारीहरु पाँचै बजे उठ्ने र सबै काम समयभन्दा अगाडि नै सम्पन्न गर्ने, त्यहाँ मैले एकतामा भन्दा भिन्नतामा प्रगति देखे । सबै स्वतन्त्र छन, खुशी राजी छन, ओल्लो घरमा पाकेको मीठो चोखो पल्ला घरमा पुग्छ, पल्ला घरमा पाकेको ओल्ला घरमा आइपुग्छ । खेतिबारिको काम सबै मिलेर गर्ने गरेका छन। त्यसैले एकता कि फुट भन्ने कुरा निरपेक्ष रुपमा हेर्नू हुँदैन । परिस्थिति, अवस्था र सन्दर्भसगँ जोडेर हेरिनु पर्दछ । कुनै वस्तु, घटना वा पात्र सदैव ठिक र सदैव बेठिक भनेर बुझ्नु गल्ती हुन जान्छ । कुनै समयमा ठिक भनिएको घटना अर्को सन्दर्भमा बेठिक भएको हुन्छ ।
जस्तो कि मैले माथी एउटा उदाहरण दिए, चार भाइमा भावनात्मक एकता भइदिएको भए सबैले कमाइ गरेको वस्तु एकै ठाउँ एकद्वार प्रणालीबाट खर्च गरिएको भए, सबै छोरा बुहारिहरु सासू ससुराको निर्देशनमा अगाडि बढेको भए त्यो परिवारले प्रगती गर्दथ्यो तर त्यसो हुन सकेन । त्यसैले त्यो परिवारको प्रगती र विकासको लागि विभाजन अनिवार्य बन्न गयो । यहीँ कुरा अर्को परिवारको लागि गलत हुन सक्दछ । यतिबेला ने.क.पा. भित्र जुन बहस चलेको छ, खासगरी गत मंसिर महिनादेखि आजसम्म त्यो पार्टीभित्र देखा परेका समग्र घटनाक्रमहरुको अध्ययन गर्दा एकता राम्रो कि विभाजन राम्रो भन्ने प्रश्न तड्कारो बन्न गएको छ । सर्शर्ति अध्ययन गर्दा त्यहाँ भावनात्मक एकता छैन, नेतृत्वको बिचमा कुनै सम्मान सौहार्दता छैन, एकले अर्कोलाइ सुन्नै नसकिने खालका आरोप प्रत्यारोपहरु लगाइरहेका देखिन्छन ।
नैतिकता र इमानदारिता त्यहाँ छैन, कमिटी प्रणाली त्यहाँ छैन, महिनौसम्म वार्ता चल्छ निकास आउँदैन, छलफलको विषय कुनै विचार, सिद्धान्त, अग्रगमन, विकास र सुशासनको बारेमा हुदैँन । वार्ता हुन्छ त केवल पद विभाजनको निम्ति दिनै पर्छ र दिदै दिन्नमा केन्द्रित रहेको छ । हजारौं नेता कार्यकर्ता एक आपसमा अन्ध समर्थन र अन्ध विरोधमा पाखुरा सुर्खि रहेका छन । दिनदिनैका समाचारहरुमा कहिले कुन नेताले गुट चेन्ज गर्यो, कहिले कुन नेता यताबाट उता सर्ह्यो, कहिले बामदेव खुमलटारतिर, कहिले बामदेव बालुवाटारतिर, यो भन्दा अर्को कुनै समाचार बन्ने गरेको छैन । यस्तो खालको परिवेशमा रहेको पार्टी एकै ठाउँमा रहेर भविष्यमा कसरी अगाडि बढ्दछ र ! यी नेताहरुको जो चिन्तन र व्यवहार देखा परेको छ, यसबाट कुन खालको प्रेरणाको आशा गर्न सकिन्छ र ! हजारौं कार्यकर्ता दिशा बिहिन, गन्तव्य बिहिन, नैतिकता बिहिन भएर इतिहासमा हराउनु भन्दा भग्नावशेसमा परिणत भैसकेको जिर्ण महलबाट मोह भंग गरौं ।
पचासौं कोठा र बार्दलिहरु भएको जिर्ण महलभन्दा स्वतन्त्रता, इमानदारिता, अग्रगमन र नैतिकता सहितको सानो दुई कोठे घर जस्मा मुस्कान छ, गतिशिलता छ, क्रियाशिलता छ, प्रसन्नता छ, सबैको सम्मान र सौहर्दाता छ, त्यो नै उपर्युक्त हुन्छ कि ! यसरी सोच्न पर्ने परिस्थिति आइपुगेको हो कि ! हाम्रो अग्रगमनको यात्रा गत्यावरोध भैसकेको छैन भने, जीवन र जगतबाट निरास र थकित भइसकेका छैनौं भने, यदि हामी विचारको पराधिनता र दासताबाट मुक्त छौं भने, समुन्नत समाजवादको यात्रामा अगाडि बढ्ने इच्छाशक्ति हाम्रो विद्दमान रहेको छ भने, भ्रष्टाचार मुक्त नयाँ नेपालको परिकल्पना यदि गरेका छौं भने दिशा बिहिन बनेको साधन र झुट, बेइमानी, जालझेल र षड्यन्त्रले भरिएको नेतृत्व छाड्ने हिम्मत गर्नै पर्दछ । माया, स्नेह, आक्रोश र कठोरतामा द्वन्द्वात्मक सम्बन्ध रहेको छ, कहिले माया र स्नेह प्रधान बन्दछ भने कहिले आक्रोश र कठोरता प्रधान बन्ने गर्दछ । यतिबेला कठोरताका साथ अगाडि बढ्ने र निर्णय लिने बेला आइसकेको छ ।
इतिहासबाट हामिलाइ ज्ञान प्राप्त हुन्छ कि आवश्यकताले नै विचारको जन्म हुने गर्दछ । हामि अगाडि बढ्नको निमित्त विचार पहिलो कुरा हो । विचार बिनाको संगठन र विचारबिनाको नेता जतिसुकै ठूलो र शक्तिशाली भएपनी त्यो इतिहासमा अगाडि बढ्न सक्दैन । हामिले विचार, दृष्टिकोण र अग्रगमनका आधारमा नेता, नेतृत्व र पार्टिको छनोट गर्नुपर्दछ । विचार, दृष्टिकोण र अग्रगमनको दृष्टिबाट अध्ययन गर्दा बिगत नौ महिना देखिको यिनिहरुको चिन्तन र व्यबहार हेर्दा, आगामी दिनहरुमा यिनिहरुबाट नयाँ नेपालको परिकल्पना गर्न सकिँदैन । अतः अगाडि बढ्न, सुशासन सहितको नयाँ नेपालको निर्माण गर्न, सबै भाषा, धर्म र संस्कृतिको सम्मान सहितको सार्वभौम राष्ट्र निर्माणको निम्ति परिबन्ध, पराधिन र निस्सासिलो वातावरणबाट स्वतन्त्रताको दुनियामा फर्कने विचार गर्नुपर्ने समय आइपुगेको हो कि ? सम्भावनाको आँखाले हेरौं भनेपनी दोस्रो तहका स्थापित लिडरहरु जो हुनुहुन्छ वहाँहरुका गतिविधिहरु अध्ययन गर्दा विचार र अग्रगमन सहितको नेतृत्व गर्न सक्ने हैसियत राख्ने अवस्था देखिएन ।
वहाँहरु पुर्व समूह वा आफ्नो व्यक्तिगत हितभन्दा माथी स्वतन्त्रताको दुनियामा उठ्न सक्नु भएको अवस्था देखा पर्दैन । गाली गलौज, आक्रोश, असन्तुष्टी, समूह परिवर्तन र अन्त्यमा एकताको सन्देश । यहि गोलचक्कर भित्र दोस्रो पुस्ता पनि रोमल्लिएको वर्तमान परिवेशलाई हामिले बेहोर्न परिरहेको छ । भग्नावशेसमा रुपान्तरणमा अगाडि बढेको महलको ओल्लो सयन कक्षबाट पल्लो सयन कक्षमा अदला बदलिको चेतनाबाट अगाडि बढ्न नसक्नु नै वर्तमानको बिडम्बना बन्न गएको छ ।इतिहासमा गौतम बुद्द जस्ले राजमहल, राजकुमारको पदवी, सेना प्रहरी र राज्य सहित सम्पुर्ण सुबिधा छाड्ने हिम्मत गरे, दरबारबाट श्रीमति र छोरा समेत छाड्ने साहस गरेका हुनाले नै उनी गौतम बुद्द बनेका हुन, उनले सबैभन्दा अग्रस्थानमा विचार वा लक्ष्यलाई नै राखेर नै यो सम्भव भएको हो ।
तर तपाईहरु जस्ले एउटा बैठक बालुवाटारबाट बाहिर निकाल्न सक्नु भएको छैन, महिनौंसम्म के गर्ने भन्नी निर्णयमा पुग्न सक्नुभएको छैन भने तपाईहरुबाट भावी पुस्ताले के अपेक्षा राख्न सक्दछ ! मेरो के हुन्छ ! मेरा पछाडि कतिजना छन ! बहुमत पुग्छ कि पुग्दैन १ मन्त्रीपद के होला ! भनेर सोच्नेहरुको इतिहास बन्दैन । मेरो विचारमा के.पि.ओलिको भने इतिहास बन्ने छ किनकी उनी आफ्नो विचारमा दृढ छन, महिनौं देखि उनले आफ्नो वरिपरि, बालुवाटारको वरिपरि पार्टीलाई घुमाइराखेका छन । उनको अगाडि पार्टी निरीह साबित भएको छ । उनी भेट्न कसैलाई गएका छैनन, बरु उनलाई नै भेट्न सबै आउने गरेका छन । उनले म नै पार्टी हो, म नै राज्य हो, म नै सरकार हो भन्ने अठारौं शताब्दीको नकारात्मक इतिहासलाई स्थापित गरेका छन । वर्तमानमा अलमलिएर दायाँबायाँ, वरपर, तलमाथि हेर्नेहरुको इतिहास बन्दैन । इतिहास लेखिनको लागि या त ओलि जी जस्तै धेरै पछाडी फर्कने हिम्मत गर्नुपर्दछ या त वर्तमान भन्दा अगाडि जसलाई हामी अग्रगमन भन्दछौ त्यसतर्फ अगाडि बढ्नेहरुको इतिहास लेखिन्छ ।
पछाडी फर्कनेहरुको नकारात्मक रुपमा इतिहास बन्दछ भने अगाडि फर्कनेहरुको सकारात्मक पात्रको इतिहास बन्दछ । हिजो प्रचण्डको इतिहास बनेको थियो किनकी उनले वर्तमान लाई च्यालेन्ज गरेर बिद्रोहको नेतृत्व गरेका थिए । चार वर्ष अगाडि बाबुरामले पार्टी, झण्डा, नेतृत्व सम्पुर्ण कुरा छाडेर मात्र एक्लै पार्टीबाट बाहिर निस्किएका थिए, आज उनी एउटा बहसको केन्द्रमा छन, विचारको केन्द्रमा छन, लाखौं मानिसहरु उनको केन्द्रमा देखिन्छन । बाबुराम पागल हो भन्ने पनि छन, बाबुराम महान हो भन्ने पनि छन, बाबुराम विद्वान हो भन्ने पनि छन, बाबुराम मूर्ख हो भन्ने पनि छन । उनले विचारलाई केन्द्रमा राखेको हुनाले आफ्नो विचारको निम्ति उनले सबै त्याग गर्न सक्दछन भन्ने देखाउँछ । विचारभन्दा बाहिर वामदेवले थुप्रै नेता कार्यकर्ता सहित नयाँ पार्टी बनाएका थिए तर काम लागेन, शेर बहादुर कांग्रेसबाट बाहिर गएर ठुलै पार्टी बनाएका थिए, त्यहाँ कुनै विचारको बहस थिएन, ति सबै पुन सम्मिलित हुन पुगे ।
इतिहासबाट के भन्न सकिन्छ भने यदि विचार, दृष्टिकोण र अग्रगमनको बहस हो भने बिद्रोहको आँट गर्नुपर्दछ । होइन लेनदेनको मात्रै झगडा हो भने तपाइहरु भन्दा अब्बल दर्जाका के।पि। ओलि नै छन । उनले अझै यसरी नै महिनौं लैजाने छ्न र तपाईहरुका भनिएका नेताहरु अन्तै कतै भेटिने छन किनकी लेनदेनको मामिलामा तपाईहरुसगँ दिने कुरा केही छैन तर उनि आश्वासनले पनि काम दिने पोजिशनमा रहेका छन । घटनाक्रमले बताउँछ कि तपाईहरु या त बिद्रोह या समर्पणको निर्णयमा अबिलम्ब पुग्नु बुद्दिमानी हुनेछ, लामो बिमार लाग्यो भने सुत्केरी र बच्चा दुबैलाइ खतरा हुन्छ । अतः अप्रेसनको तयारी गरौं कि ! मैले यसरी सोचें, यहाँहरुले कसरी सोच्नु भएको छ कुन्नी !
प्रतिक्रिया