ताजा अपडेट »

कृषिको व्यवसायीकरणका लागि किसानलाई प्रोत्साहित गर्न जोड

बुधबार, २१ साउन २०७७

बुटवल । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारले प्राथमिकताका आधारमा कार्यक्रम र योजना ल्याउन नसक्दा कृषि क्षेत्रको बिकास हुन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । धानखेतमा माछा पालक कृषक समूहको आयोजना तथा उत्तम साईलेज उद्योगको सहकार्यमा रुपन्देहीको तिलोत्तमा–१०, कान्छीबजारमा मंगलबार आयोजित–‘समृद्धिका लागि उत्पादन, उत्पादनका लागि सम्वाद’ र ‘उत्पादनका लागि उत्प्रेरणा’ कार्यक्रमका सहभागीहरुले सरोकारवालासँगको समन्वयको अभाव र नीतिगत अलमलका कारण कृषि क्षेत्रको बिकासले गति लिन नसकेको बताए ।

सहभागीहरुले सरकारले किसानका पिर, मर्का र समस्यालाई ध्यानमा राखेर कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि किसानलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । उनीहरुले सरकारी उदासिनता र किसानमा छाएको निराशाका कारण नेपालमा कृषि क्षेत्र खंस्कदैं गएको भन्दै चिन्ता समेत ब्यक्त गरे । कृषिको आधुनिकीकरण र ब्यबसायीकरणका लागि सरकारले किसानका लागि मल, बिउ, बिजन लगायतका कृषि सामाग्री सहज रुपमा उपलब्ध गराउनुपर्ने उनीहरुको भनाई थियो । कृषि क्षेत्रको बिकास र आधुनिकीकरणका नाममा सरकार ब्यवहारिक भन्दा पनि नीतिगत सिद्धान्तमा अल्झीएको बताउँदै उनीहरुले किसानलाई सरकारी स्तरबाटै प्रोत्साहित गर्न सकिए मात्र कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न सकिने धारणा ब्यक्त गरे ।

सो अवसरमा बोल्दै सामाजिक अभियन्ता डा. दामोदर भुषालले सरकारले किसान लक्षित कार्यक्रम ल्याउन नसक्दा कृषि क्षेत्रको रुपान्तरण र ब्यबसायीकरण हुन नसकेको बताए । सरकारले किसानसँग समन्वय गर्न नसकेका कारण कृषि क्षेत्र असफल भएको बताउँदै भुषालले कृषिको आधुनिकीकरण र व्यावसायीकरणका कुरा सिद्धान्तमै सिमित रहेको जिकीर गरे । कृषि क्रान्तीका नाममा ठूला–ठूला कुरा गरेर करोडौं बजेट तालिम, सेमिनार र सुबिधामा दुरुपयोग भईरहेको समेत उनले बताए । सरकारले तयार गर्ने नीति तथा कार्यक्रमहरु ब्यवहारिक नभएको स्पष्ट पार्दै उनले आन्तरीक स्रोत र साधनको अधिक्तम उपयोग गरेर कृषिको विकासका लागि किसान स्वयम् जागरुक भएर लाग्नुपर्नेमा जोड दिए ।

उत्प्रेरणा प्रशिक्षक मुक्तिनाथ गैह्रेले किसानलाई प्रोत्साहनको खांचो रहेको औल्यांउदै समय र प्रविधिको अधिक्तम उपयोग गरेर कृषिमा पनि धेरै मुनाफा आर्जन गर्न सकिने बताए। सो अवसरमा उत्तम साइलेजका सञ्चालक भेषराज पाण्डेले मकै खेती गर्ने आधुनिक तरीका, त्यसको उपयोगिता र मकैबाट आर्जन गर्न सकिने मुनाफा लगायतका बिषयमा प्रशिक्षण दिए ।

समूहका अध्यक्ष राम बहादुर पुनको अध्यक्षता तथा सचिव शिव ढकालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समूहका सल्लाहकार घनसिंह पुनले समूहको कार्यक्रम र योजनाका बारेमा जानकारी दिए । स्थानीय अगुवाहरू गोपालप्रसाद घिमिरे, कृष्णबहादुर श्रेष्ठ, पत्रकार भरत प्रधान, साइलेज कम्पनीका सञ्चालकहरू कृष्ण गैरे, रूपेश पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रममा सो क्षेत्रका ३७ जना कृषकहरूको सहभागिता रहेको थियो ।