ताजा अपडेट »

उही ठाकठुक: प्रचण्ड- एक पद छोड्नुस्, ओली- त्यो कुरै नगर्नुस्

सोमबार, १९ साउन २०७७
1 Shares

काठमाडौं : १३ साउनको बैठकलाई हेर्ने सवाल
ओली : तपाईंहरूले १३ गते आयोजना गरेको भेलालाई किन बैठक भन्नुभयो ?

दाहाल : त्यो बैठक नै हो। त्यसले विधिविपरीत स्थायी समिति बैठक स्थगित भएको सूचना तपाईंको तर्फबाट प्रसारित गर्नु उचित थिएन भन्ने निष्कर्ष निकालेको छ।

ओली : म नभएको बेला बैठक बस्ने ? अनि मेराविरुद्ध प्रस्ताव पारित गर्ने ? त्यो बैठक हुनै सक्दैन। त्यसलाई म मान्दिनँ।

दाहाल : तपाईं चाहिँ एक्लै विधिविपरीत बैठक रोक्ने ? अनि बैठक पनि हामीले नगर्ने भन्ने हुन्छ ?

ओली : त्यस्तो हुन्न। त्यसलाई मानिँदैन। तपाईंहरूको गुट बैठक बसेर गरेको निर्णय म मान्दिनँ।

(केहीबेर ठाकठुक)

ओलीको राजीनामाको प्रसंग

प्रचण्ड ? मंसिर ४ देखि वैशाख २० सम्मको बैठकका कुरामा कमजोरी स्वीकार गर्ने र रूपान्तरण भएर जाने कुरा थिए। तर त्यो व्यवहारमा देखिएन। विषय फरक ढंगले आयो। अब नेतृत्व बदल्ने कुरा नै सही हुन्छ पार्टी र सरकार बचाउन। दुईमध्ये एक पद छोड्नुस्। स्वेच्छाले छोडिदिनुस्, कुन मन लाग्छ, त्यही। तपाईंले निकास दिनुस्।

ओली : त्यो कुरै नगर्नुस्। मैले अहिले कुनै पद छाड्न मिल्दैन। बरु महाधिवेशन छिटो गरौं। त्यसमा नै छलफल गरौं।

प्रचण्ड : प्रधानमन्त्री छोड्नुस् भन्ने हाम्रो मुख्य कुरा हो। तर तपाईंलाई त्यो छोडन गाह्रो छ भने दुईमध्ये एक पद छोड्नुस्।

ओली : म कुनै पनि पद छोड्दिनँ। यसमा म अहिले बहस नै गर्न चाहान्नँ। छोड्ने कुरा पनि केही छैन।

अब बैठक के ? स्थायी कि सचिवालय ?

ओली : पार्टी कमिटीबाटै छलफल गर्न म पनि तयार छु। कमिटीबाटै बैठक अगाडि लैजाऔं। छलफल गरौं।

प्रचण्ड : स्थायी कमिटी बैठक एजेन्डामा केन्द्रित रहेर छलफल गर्नका लागि बोलाऔं। विधिमा सहमति जनाऔं। सहमति भए सहमतिको, नभए आ–आफ्नो मत लिएर पार्टी केन्द्रीय कमिटीमा जाऔं। त्यहीं बहुमतले पास गरौं। त्यसपछि महाधिवेशनमा जाऔंला।

ओली : पहिला सचिवालयमा ठोस सहमति भएपछि मात्रै स्थायी र केन्द्रीय कमिटीमा जान सकिन्छ। तर अब त्यो पनि आवश्यक छैन। सचिवालयको साउन ३ को सहमतिअनुसार प्रस्ताव तयार पारौं, खाका बनाऔं। महाधिवेशन गर्ने गरी अगाडि बढौं।

दाहाल : महाधिवेशनमा जाने कुरामा हाम्रो पनि असहमति छैन। तर पहिले तत्कालका लागि तपाईंले निकास दिनुस्।

०००

राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए। त्यो संवादहीनता तोड्दै आइतबार तीन घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलाभन्दा वरिष्ठतम् सहयोगी पनि राखे। अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल।

छलफल भने ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो। एउटा पदबाट राजीनामा दिनुपर्ने दाहालले जिकिर गरे। त्यसमा कुरै नगर्ने ओलीले अडान कायम राखे। छलफलपछि ब्रिफिङ सुनेका एक नेताका अनुसार ओली र दाहालले अघिपछिको जस्तै मन माझामाझ गरे। आपसका अभिव्यक्तिदेखि आरोप–प्रत्यारोपसम्मका सन्दर्भमा पुरानै शैलीमा छेडखान पनि गरे। पार्टी एकता जोगाउने, पार्टी कमिटीबाटै छलफल गरेर निचोडमा पुग्ने भन्नेमा समेत चर्चा गरे। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।