ताजा अपडेट »

सैनामैनामा रातमा घर बाहिर निस्कन रोक, अत्यावश्यक परे प्रहरीलाई जानकारी गराउनु पर्ने

आइतबार, १८ साउन २०७७

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले रातको समयमा घर बाहिर निस्कन रोक लगाएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिनबाट बच्नका लागि साँझ ८ बजे देखि विहान ५ बजेसम्म अत्यावश्यक बाहेक घर बाहिर निस्कन रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
आइतबार बसेको कोरोना विशेष विपद् व्यवस्थापन समितिको बैठकले नगरभित्र रहेका विभिन्न इनिष्च्यूट तथा शैक्षिक संस्थामा पठनपाठन कार्य सञ्चालन नगर्ने, साप्ताहिक हाटबजार सञ्चालन नगर्ने, छिमेकी पालिकामा हाट बजार सञ्चालन नगर्न अनुरोध गर्ने तथा त्यसका लागि आवश्यक समन्वय गर्ने निर्णय भएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

घर बाहिर निस्किदा अनिवार्य मास्क लगाउन आग्रह गर्दै नगर प्रमुख कार्कीले समुदाय स्तरमा कोरोना फैलिन नदिन प्रत्येक वडाबाट नमुना संकलन गरि पिसिआर परीक्षण गरिने बताए । नगर भित्रका विदेशबाट आउने व्यक्तिलाई जिल्लाभित्रका नाकाहरुबाट नगरसम्म ल्याउने व्यवस्था पालिकाले मिलाउने र होम क्वारेन्टिनको नियमित अनुगमन गरिने भएको छ । अत्यावश्यक काममा घर बाहिर निस्कनु परेमा इलाका प्रहरी कार्यालय रन्यौरा, इलाका प्रहरी कार्यालय सालझण्डी वा नगरपालिकाको सम्पर्क व्यक्तिसँग जानकारी गराउनुपर्ने भएको छ । अन्य पालिकाहरुमा समुदाय स्तरमा कोरोना देखिन थालेपछि यस क्षेत्रमा पनि हुन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको प्रमुख कार्कीले बताए ।

नगरमा स्वास्थ्य संस्था बाहेकका सबै व्यवसाय, होटल तथा रेष्टुरेण्ट पनि साँझ ८ बजेदेखी बिहान ५ सम्म नै बन्द गर्ने निर्णय गरिएको छ । नगर क्षेत्र भित्र कुनै भेला, तालिम, गोष्ठी, सभा सम्मेलन नगर्ने, कुनै भिडभाड नगर्ने र जिमखाना पनि सञ्चालन गर्न पाइने छैन ।