टेक्सस(अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा रगत संकलन देखि रगत अनुसंधानको क्षेत्रमा काम अघि बढाएको छ । संघले रगत संकलनका लागि मोवाइल बस सेवाको स्थापना गर्ने देखि रगत अनुसंधान केन्द्र निर्माणका लागि कार्य अघि बढाएको हो । नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रसँगको सहकार्यमा संघले रगत संकलन गर्न मोवाइल वस सेवा अन्तर्गत पहिलो वस अवको केही महिनाभित्र उपलब्ध गराउने तयारी संघको रहेको संघका सचिव गौरीराज जोशीले जानकारी दिए।
झण्डै १ करोडको लागतमा २ वटा रगत संकलन मोवाइल बसको प्रबन्ध गर्ने गरी संघले योजना अघि बढाएको बताउनुहुँदैं सचिव जोशीले पहिलो वस उपलब्ध गराउनका लागि आवश्यक पर्ने रकम बराबरको सहयोग रकमको प्रतिवद्वता आइसकेकाले अहिले कोरोनाले प्रभावित अवस्था समान्य भए अक्टुबरसम्ममा पहिलो वस उपलब्ध गराइने उल्लेख गरे । र त्यस लगत्तैं फेरि आर्थिक सहयोग संकलन गरी अर्को वस उपलब्ध गराइने जानकारी जोशीले दिए।
संघले रगत संकलन वस सेवादेखि लिएर रगत अनुसंधान केन्द्र निर्माणका लागि चितवनलाई रोजेको छ । चितवनको भरतपुर नगरपालिकाले समेत केन्द्रका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइसकेको छ । अनुसंधान मुलक रुपमा वहुआयामिक महत्वका साथ अनुसंधान केन्द्र स्थापना गर्न लागिएको बताउँदै सचिव जोशीले अनुसंधान केन्द्रलाई चरणवद्व विकास गरिने त्यही अनुरुप पहिलो चरणमा ल्याबसहीतको केन्द्र बनाएर सुरुवात यसै वर्ष गर्ने तयारी संघको रहेको जानकारी दिए ।
यो अनुसंधान केन्द्र निर्माण भए यसले धेरैं दृष्टिकोणवाट नेपालको स्वास्थ्य क्षेत्रमा सकारातमक प्रभाव पार्छ । यसलाई हामीले निकैं महत्वको प्रोजेक्ट मानेर काम अघि बढाएका छौं । सचिव जोशीले भने – रगतसग सम्बन्धित अनुसंधानका लागि एउटा महत्वपूर्ण स्थल यो केन्द्र बन्नेछ । यसमा धेरैंको सहकार्य हुन सक्दछ । अनुसंधानकर्मी र मेडिकल विद्यार्थीका लागि यो एउटा अनुसंधान थलो बन्नेछ । नेपालको लगभग मध्य भागमा रहेको र दुर्घटनाको चाटहरु हेरेर केलाउदा चितवनवाट लगभग १२ देखि १७ वटा जिल्लामा रगतको व्यवस्था गर्नुपरेको देखिएकाले चितवनलाई रोजिएको सचिव जोशीले बताए ।
यसैगरी, संघले काठमाण्डौंमा सार्वजनिक शौचालय निर्माण गर्ने पूर्ववत: निर्णय अनुरुप पहिलो सार्वजनिक शौचालय कलंकीमा आउँदो ६ महिना भित्र निर्माण गरिसक्ने भएको छ । काठमाण्डौंमा व्यस्त ५ स्थानमा सार्वजनिक शौचालय बनाउने संघको तयारी अनुरुप पहिलो शौचालय कंलकीमा निर्माण गरिने त्यसको संचालन प्रक्रिया र संरक्षणको अवस्था हेरी थप स्थानमा शौचालय बनाइने सचिव तथा यस प्रोजेक्टमा प्रमुख जोशीले जानकारी दिए । काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा संघले सार्वजनिक शौचालय बनाउने गरी योजना अघि सारेको थियो । निर्माण भन्दा पनि यसको संचालन र संरक्षणको विषय महत्वपूर्ण हो । त्यसका लागि हामीले काम गरिरहेका छौं । सचिव जोशीले भने– अहिले कंलकीमा एउटा शौचालय ६ महिना भित्र बनाइसक्छौं , अनि यसलाई हेरेर बाँकी योजनाहरु अघि बढाइनेछ ।
प्रतिक्रिया