ताजा अपडेट »

आधुनिक समाजका सभ्य नागरिकका ‘नाङ्गो सोंच’

शुक्रबार, १६ साउन २०७७

प्रविधि र आधुनिकतातर्फ समाज जति अघि बढ्दै छ,त्यहि नै अनुपातमा हामी सोंच र ब्यवहारमा नाङ्गिएर चेतना गुमाउँदै छौ । आजको यो समयमा सामाजिक सञ्जालले मानवको नाङ्गो सोंचलाई अझ बढी प्रष्ट र अरुले देख्नगरी नङ्गाइदिएको छ । बत्तीमूनिको अन्धकारको एक हिस्सा हुने छ,आगामी पुस्ता । जुन प्रकाश खोज्दै पुतली बत्ती नजिक आउँछ अनि सोहि प्रकाशमा होमिएर मर्छ । हो अबका पुस्ता र सामाजिक सञ्जाल पुतली र बत्तीभन्दा फरक देखिने छैनन् । रोगी मानसिकता बोकेर प्रविधिको प्रयोगमा लात हानिरहेका छौं । र, समाजलाई भयावहतिर डोर्याउँदै छौं । मानवता सकिएको संकेतको घण्टी बजाइरहेका छौं । त्यो घण्टी विद्यालय र मन्दिरमा बज्ने घन्टी भन्दा विपरित र भयानक छ ।

कहिले ती घण्टी कमेण्ट (प्रतिक्रिया भन्दै बज्छन् , कहिले Troll त कहिले स्टाटस । त्यो डरलाग्दो आवाज facebook, Youtube, Insta, Twitter हुँदै Tiktok सम्म पुग्छ । अस्ति भर्खर कवि नवराज पराजुलीले ’ tiktok ले दिएको रङ्गिन जीवनको रौनक’ थपेर लेख लेख्नु भएको थियो । म सकारात्मक पक्षमाथि मनन गर्छु । तर, यी पंत्ति लेखिरहँदा म मेरो गर्भमा हुर्किने छोरीको भोलिको सामाजिक दृष्टिकोण र आज नजिकै बसेर अनेक प्रश्न सोध्ने मेरी बहिनीका प्रश्नको जवाफ के दिउँ? हुर्किँदै छे , सिक्दै छे , प्रविधिदेखि टाढा राख्न अब सम्भव छैन । अनलाइन class पढेर सकेपछि केहि डरलाई थम्याउँदै ,सानो आवाजमा सोध्छे ‘ दिदि एकछिन Tiktok हेर्छु है।’

म निःशब्द हुन्छु र सोंच्छु । उ मैले जस्तो बुझ्ने र लाच पचाउने अझै भएकी छैन । उसलाई यो थाहा छैन कि,उसले GOD GAUTAM BUDDHA जस्तो मानेको उसको प्यारो दाई Tiktok मा निकेश श्रेष्ठको भिडियोमा छक्का भन्दै कमेन्ट गर्न ब्यस्त छ भनेर । अनि थप्छ ‘ ओए त भाई कि बहिनी ? साला हिजडा थुप्रै आदि आदि…लाज पचाएर भनौं या हिम्मत जुटाएर कैयौं पटक एक्लै उच्चारण गर्न पनि लाज लाग्ने आफ्नै भाइले कमेन्टमा लेखेका अश्लिल शब्द पढेकी छु मैले । मेरा जस्ता कयौं भाइहरुले गरेका कमेन्ट पढेकी छु । अझ जब समाजका भलादमी भनिएका मेरा काकाको कमेन्ट पढ्छु, तब याद आउँछ । चेतना र लाज मरेको वर्षौ पुगेछ क्यारे । ब्यर्थै म सभ्य समाजको चित्र कोरिरहेँ ।

त्यतिबेला साथी किरणले काठमाडौंबाट उपहार स्वरुप पठाएको जया ओझाको आवरण पढेर थाहा पाएकी थिएँ, समाजलाई कुरुप र दुर्गन्धित बनाउने निकेश र सरोज जस्ता प्रतिनिधि पात्रमा देखिएका तेस्रोलिङ्गी भन्दा कैयौ गुणा ठुला अपराधी तपाइँ–हामी नै हौं । जसलाई लैङ्गिक सवलताको चरम घमण्ड रहयो । आज जुन निच व्यवहार शव्दले तेस्रो लिङ्गी र लैङ्गिक असबलता बोकेका मानिसको धज्जि उडाउँछौं । सोच्नुहोस् भोलि जन्मिने तपाइँको सन्तान माथि त्यहि प्राकृतिक अन्याय भयो भने तपाई माथि के गुज्रिन्छ ? सोंच्नसम्म सक्नुहुन्न । उनीहरुले केही बिगारेका छैनन्,तपाईको सभ्य समाजलाई जति तपाइँको सोंचले दुषित बनाएको छ । सहयोग र सद्भावका साथ उनीहरुले बाँच्न चाहेको जीवन जिउन मार्ग सहजीकरण गर्नुको साटो तपाई रत्यौली खेलेर नाङ्गिएको सोंच देखाउनु हुन्छ ।

अझ भनौं चौतारोको हावा खान गाउँको गोरेटोसम्म पुग्न फुर्सद नपाउनु भएको मेरो सानो काका office बाट तिर्सना बुढाथोकीको भिडियोमा पाँच पेज कमेन्ट गर्न गज्बबको समय निकाल्नु हुन्छ । अरु बाँकी जमात सरकारी बाइकको पछि बस्ने केटी खोज्नमा र चरित्र नङ्गाउनमा लिप्त छ । सामान्य कुरालाई काण्ड बनाएर चरित्र हत्या गर्नु कहाँसम्मको नैतिकता हो? सामाजिक सन्जालमा कैयांै विषयवस्तुले ठाउँ जमाउँछन् । अनि मानिस फेसबुके न्यायधीश बन्छ र न्याय दिलाउन अश्लील शव्द प्रयोग गर्दै चरित्र हत्या गर्न लागिपर्छ । भुवन केसी गलत कि साम्राज्ञी ? आशा छ,अब यो पनि यही फेसबुके न्यायालयले कमेन्ट गरेर न्याय दिन्छ । अन्ततः जीतको जुलुस सामाजिक सन्जालमा ट्रोल सेयर गरेरै मनाइन्छ ।

मेरो छोरीको मस्तिष्कमा देखेको सुन्दर सपनाको अघि मैले कोरेको समाजको कुरुप चित्रले हारिदियोस् । छोरीको सामाजिक विषय पढाउने शिक्षकले पधेँरोमा दलित महिलाको पानीको गाग्री फालिदिएको कथा सुनाएकी छैन । गौतम बुुद्ध जस्तै मानेको दाजुले हिजडा भन्दै गरेका अश्लिल कमेन्ट सुनाएकी छैन । बाबाले आमामाथि गरेको महिला हिंसाका पीडा सुनाएकी छैन । काकाले रोजेको गलत बाटोको कथा सुनाएकी छैन । प्रेम माथि एसिड प्रहारको कथा सुनाएकी छैन । उसको मष्तिस्कमा फूलिरहेको फूललाई यी कथा र कथा पूरा गर्ने उसका नजिका पात्रहरुले कुल्चिदिनेछन् । तिमीले बोल्न पाउनु नैसर्गिक अधिकार भनेर बोलेका शब्द र व्यवहारले समाज,सपना र सामाजिक सञ्जाल दूषित छ। छोरी कथा सुन्छु भन्छे ।उमेरमा सानै छ लाज पचाउन सक्ने भएकी छैन । आफन्तहरुले रचेको,दाइको एसडि प्रहारदेखि बाको बुहारी हत्यासम्म कुन कथा सुनाउँ ? धेरै कथा सुनाउन बाँकी छ ।

जुन दिन उसले महसुस गर्ने छे त्यो दिन आफ्ना सपनाको हत्या गरिदिने छे। उसले भगवान् सन्झिरहेकाहरुलाई दानव कहल्याउनेछे । उ पनि म र अरु जस्तै लाज पचाएर कमेन्ट पढ्न र ती ब्यवहार सहन सिक्ने छे । समाजलाई सुन्दर बनाउने उसका सपना पनि मस्तिष्क मै तुहिने छ । ब्यवहारमा नदेखिएको तपाई–हाम्रो बोलीको खोक्रो आदर्शलाई मेरा जस्ता कयौं छोरीले लत्याउने छन् । र, समाजको कुरुप चित्र कोर्नेछन् ।

https://www.globalaawaj.com/archives/45792