ताजा अपडेट »

दलबहादुरले भेट्टाएका पौरखी पात्रहरु

शुक्रबार, १६ साउन २०७७

दलबहादुर गुरुङ पेसाले पत्रकार त होइनन् । असाध्यै राम्रो फिचर लेख्छन् । साहित्यिक फाँटमा उनको बेग्लै पहिचान छ । कविता लेख्छन्,हाइकु कोर्छन् । सेवा निवृत्त शिक्षक हुन् । सिद्धबाबा मन्दिर विकास समिति,पाल्पाका अध्यक्ष हुन् । नाटक लेखेका छन् । फिल्म र डकुमेन्ट्रीको स्क्रीप्ट लेख्छन् । उनले लेखेको अन्टार्कटिकामा नेपाली माटो डकुमेन्ट्रीले देशव्यापी रुपमा वाहवाही पायो । विभिन्न सामाजिक संघसंस्थामा उदाहरणीय नेतृत्व प्रदान गरिरहेका छन् । प्रलेस,नेपाल,रुपन्देहीको वर्तमान अध्यक्ष हुन् । राजनीतिमा उनको रुची छ।

१०/१२ वर्ष पहिले उनले उकालो लाग्दा भन्ने स्तम्भ लेखन गर्थे मेचीकाली दैनिक पत्रिकामा । आक्कल झुक्कल पढेको थिएँ । उनीसँगको मेरो औपचारिक चिनजान भने खासै पुरानो हैन । विगत दुई वर्षदेखि नजिकबाट चिन्ने मौका पाएको छु ।यतिबेला दलबहादुर नेपाली समाजका उद्यमी महिलाका स्टोरी लेखिरहेका छन् । उनले लेखेका स्टोरीहरु ग्लोवल आवाज डट कम,जनसंघर्ष पत्रिका र श्रीनगर अनलाईन मिडियामा प्रकाशन भएका छन् ।

अग्रेंजीमा एउटा भनाई छ–स्मल इज ब्यूटीफुल । सानो नै सुन्दर हुन्छ । जीवन गुजारा गर्न घरधन्दाभन्दा फराकिलो क्षितिजमा पाइला टेक्न अग्रसर उद्यमी,व्यवसायी दिदीबहिनीका संघर्षका कथालाई अक्षरका बान्कीमा उन्न उनलाई आनन्द लाग्छ । आफ्नै पौरखमा उद्यम गरेर आत्मनिर्भरताको बाटोमा अग्रसर हुने महिलाका कथाले उनलाई छुन्छ र खोजीखोजी लेख्छन् तीनै ओझेलमा परेका पात्रहरुका सफलताका कथाहरु । विभिन्न विश्वविद्यालयका व्यवस्थापन संकायमा उद्यमशीलता विषयको पढाई हुन्छ । पाठ्यक्रममा महिला उद्यमशीलताका बारेमा छुट्टै पाठ राखिएको छ ।

कोभिड–१९ को महामारीले गर्दा लकडाउन भयो । एकदिन प्रसंगवश उनको लेखनको बारेमा मैले जिज्ञासा राखें । कुरा हुँदै जाँदा पौरखी महिला पात्रहरुका सफलताका कथाहरुलाई एकै ठाउँमा व्यवस्थित गरेर एउटा पुस्तक प्रकाशन गर्न सके राम्रो हुन्छ भन्ने छलफल भयो । व्यवसायिक अध्ययन गर्ने स्नातक र स्नातकोत्तर तहका विद्यार्थीका लागि यी प्रसंगहरु गतिलो केस स्टडी बन्न सक्ने विचार शेयर गरें मैले । उनी हौशिए । छायाँमा परेका अरु थुप्रै दिदीबहिनीका संघर्ष र सफलताको कथा लेख्ने अठोट गरे । अहिले डेढ दर्जन पात्रहरुको कथा लेखेर भ्याई सकेका छन् ।

प्राज्ञिक अध्ययन अनुसन्धानमा काम लाग्ने यी यथार्थपरक कथाहरुलाई अंग्रेजी भाषामा रुपान्तरण गर्न पाए अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीका लागि उपयुक्त हुन्छ भन्ने उनको ठम्याई रह्यो । मौलिक रचनालाई भाषान्तर गर्ने जिम्मेवारी उनले मलाई सुम्पेका छन् । हुन त अंग्रेजी भाषामा रुपान्तरण गर्न उत्तिकै मिहिनेतको आवश्यकता पर्छ । फगत भाषा अनुवाद गरेर हुँदैन । कथाको भावानुवाद हुनुपर्छ । सक्दो प्रयास गरेर उनको होस्टेमा हैंसे गरिरहेको छु ।

एउटै पुस्तकभित्र अंग्रेजी र नेपाली दुबै भाषामा उद्यम र उद्यमशीलताका फरक फरक आयामहरु लिएर हामी छिट्टै आउँदैछौं । प्रकाशनका कुरा सुनेपछि कथामा समेटिकएका पौरखी पात्रहरु थप उत्साहित भएका छन् । ठूला व्यवसायी र अरब/खरबपतिका खबर,समाचार र सफलताका कथाहरु समेटिएका थुप्रै पुस्तकहरु पाइन्छन् बजारमा तर भूइँ तहमा रहेर सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला पात्रका सफलताका कथाहरु बिरलै भेटिन्छ ।

स्नातकोत्तर तहको विद्यार्थी हुँदा एकदिन नेपालको पहिलो महिला टेम्पो चालक भनेर सामान्यज्ञानको पुस्तकमा पढिने लक्ष्मी श्रेष्ठ हाम्रो क्लासमा गेष्ट लेक्चरको रुपमा आइपुगिन् । सामान्य साक्षर तर औपचारिक शिक्षाबाट बिमुख लक्ष्मीले सुनाएका व्यवसाय र उद्यमशीलताका संघर्षका कथाले हामी सबै उत्साहित र प्रेरित भएका थियौं । यस्तै दर्जनौं लक्ष्मीका कथाले व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीलाई थप खोज र अनुसन्धानमा सघाउने छ प्रकाशोन्मुख पौरखी पात्रहरु पुस्तकले । जागिरे बन्ने भन्दा उद्यमी बन्न बेश हुन्छ भन्ने आम भनाईलाई व्यवहारमा उतार्न आगामी पिढीलाई मार्गनिर्देशन मिल्ने छ ।

सुमाकर भन्ने बेलायती अर्थशास्त्रीले सन् ७० को दशकमा एउटा विश्व प्रख्यात पुस्तक लेखेका छन् । पुस्तक हो स्मल ईज ब्यूटीफुल,इकोनमिक्स एज इफ पिपल म्याटर्ड । अर्थात् सानो नै सुन्दर हुन्छ । आम मान्छेका दैनिक जीवनसँग कसरी अर्थशास्त्र सहयोगी हुन सक्छ भनेर उनले उक्त पुस्तकमा लेखेका छन् । निजीकरण,पुँजीवाद,विश्वव्यापीकरण र बहुराष्ट्रिय कम्पनीहरुको चर्चा र बहस चुलिएको सन् ८० र ९० को दशकमा सुमाकरले अलि फरक धारणा पेस गरेका थिए पुस्तकमार्फत । अर्थतन्त्रको दीगो विकास र वातावरण संरक्षणका लागि ठूलाठूला उद्योग कलाकारखाना भन्दा लघु र मध्यम स्केलका घरेलु उद्योगहरुको महत्वपूर्ण भूमिका रहन्छ भन्ने उनको ठम्याई छ ।

पौरखी पात्रहरुका संघर्ष र सफलताका कथाहरुलाई अक्षरमा उतार्दै गर्दा मलाई पनि यस्तै अनुभूति भयो ।करीब दुई दर्जन पौरखी दिदीबहिनीका सफलताका फरक फरक कथाहरु समेटिने छन् ,प्रकाशोन्मुख पुस्तकमा । यसबाट अध्ययन अनुसन्धानमा रुची राख्नेहरुलाई गजवको सन्दर्भ स्रोत मिल्ने छ । ओपराह वीन्फ्रे र जे.जे.रोलिङ्ग कथाहरु भन्दा हाम्रै माटामा फक्रिएका अर्गानिक उद्यमीहरु महिलाका साना साना सफलताका दृष्टान्तहरु उपयोगी हुन सक्छन् ।

उद्यमी बन्न चाहनेहरुका लागि समेत मार्गदर्शक बन्न सक्छन् । विद्यालय तहदेखि नै आयमूलक र सीपमूलक विषय पढाउनु पर्छ भनेर हाम्रो पाठ्यक्रम समेत परिमार्जन भइसकेको छ । ती पाठ्यक्रममा यिनी कथाहरु केस स्टडी बन्न सक्ने छन् । उनको फिचर लेखन पत्रकारिताका विद्यार्थीका लागि गतिलो सन्दर्भ सामग्री बन्न सक्छ । समाजशास्त्रीय अध्ययन गर्नेहरुका लागि उपयोगी हुन सक्छ ।पात्रहरु विभिन्न सामाजिक र आर्थिक परिवेशबाट आएका छन् । उनीहरुका भोगाई र संघर्षहरु पनि फरक फरक छन् ।

अनलिसिङ्ग नेपाल,अर्थात् अर्थतन्त्र र अनलिसिङ्ग दि वज्र पुस्तकका लेखक हुन् सुजीव शाक्य । उनको अनलिसिङ्ग नेपाल भन्ने पुस्तक अमेरिकाको एउटा प्राइभेट विश्वविद्यालयमा केस स्टडीको रुपमा एमबिएका विद्यार्थीलाई पढाईदो रहेछ । हामी नेपाली लघुताभाषबाट कहिलेसम्म ग्रसित भईरहने ? दलबहादुरलाई आग्रह पनि आउने गर्छ कथा लेखिदिन भनेर । उनले आफ्नै छनौटका आधारमा पात्रहरुको प्राथमिकीकरण गर्छन् । आफैले मिहिनेत गरेर उद्यमी भएका पात्रहरु उनको रोजाईमा पर्छन् । अर्थात् पात्रहरु अर्गानिक हुनुपर्छ भन्ने उनको मत छ । पौरखी पात्रहरु भन्ने शीर्षक जुराई दिएका हुन् पत्रकार रामकृष्ण भण्डारीले ।

पुस्तक प्रकाशनका लागि लेखक तथा पत्रकार मोहन मैनाली र पत्रकार महासंघ,रुपन्देहीका पूर्वअध्यक्ष शेरबहादुर केसीले हौशला थपेका छन् । दलबहादुर रुपन्देही स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्षहरुको साझा मञ्च महिला उद्यमशीलता प्रवद्र्धन नेपाल संस्थामा विगत दुईवर्षदेखि सहजीकरण गर्दै आएका छन् । मिहिनेती दिदीबहिनीका दुःख/सुख सुन्न र प्रेरणा,हौशला जगाउन कञ्जुस्याइ गर्दैनन् । हँसिलो र सरल मिजासका मिलनसार व्यक्ति हुन् दलबहादुर ।

एकपटक चिनजान भएपछि सम्बन्ध विकास र विस्तार गर्न नियमित सम्पर्क रहेर सञ्चो,बिसञ्चो सोधिरहन्छन् । स्टोरी लेखेका दिदीबहिनीसँग नियमिति सम्बन्ध र सहकार्यका लागि सम्पर्कमा रहिरहन्छन् । लकडाउनको फुर्सदिलो समयमा हामीले अक्षरका खेती गरेका छौं । हेरौं,उद्यमशीलताभित्रको हाम्रो अक्षर उद्यमको फसल कस्तो हुन्छ ।