चैत ७,
मञ्जु टण्डन
बुटवल । फागूपूर्णिमाको अवसरमा आज बिहिबार तराइमा फागूू अर्थात् होली मनाइँदैछ । सद्भाव र भाइचारा कायम गर्दै आपसी सम्बन्ध प्रगाढ बनाउने रङ्गहरुको पर्व होली हर्षोल्लासका साथ तराई क्षेत्रमा मनाइँदैछ । हिजो मुलुुकका पहाडी क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गरी रङ्गहरु साटा–साट गरेर मनाइएको छ भने आज तराइमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ । यसै क्रममा रुपन्देहीको बुटवलमा आज भव्य र वृहत रुपमा यो पर्व मनाइँदै छ ।
पाल्पा,गुुल्मी,अर्घखाँची,स्याङ्गजा जिल्लाहरु नजिक रहेको र सो जिल्लाकाबासीहरुको बाहुुल्यता रहेको रुपन्देहीमा दुुई दिनसम्म नै होली खेलिन्छ । हिजो अर्थात पहाडी जिल्लामा खेलिने होली बुटवलमा पनि मनाइएको छ । होलीकै अवसरमा बुटवल उद्योग वाणिज्य संघले होली मिलन तथा शुुभकामना कार्यक्रम गरेको छ । सो अवसरमा उपस्थित उद्योगी,व्यवसायी,सञ्चारकर्मी लगाएतले होलीको शुभकामना दिँदै एकआपसमा रङ्ग साटा–साट गरेर मनाएका थिए ।
पत्रकार महासंघ रुपन्देहीमा पनि होली पर्वको अवसरमा विविध कार्यक्रम गरी मनाइँदै छ। महासंघले हरेक वर्ष होलीको दिन आफ्ना सदस्यहरु लगाएत विभिन्न षेत्रका व्यक्तिहरु सहित होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ । आज पनि कार्यक्रम चलिरहेको छ ।
त्यसैगरी आज विहान लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले पनि योगीकुटी स्थित लायन्स बुद्धज्योति स्मार्ट पार्कमा होली मिलन कार्यक्रम सम्पन्न गरेको क्लबका पब्लिक रिलेशन अफिसर टोपराज शर्माले जानकारी दिए । कार्यक्रम क्लबका अध्यक्ष भक्त खड्काको अध्यक्षता र कार्यक्रम संयोजक ज्ञानेन्द्र पोखरेलको सञ्चालनमा भएको थियो ।
त्यस्तै सञ्चारिका समूूह लुम्बिनीले होलीको विषयमा अन्तरक्रिया गर्दै सहभागीहरुमा एक आपसमा रङ्ग लगाउँदै मनाएको छ । सो अवसरमा सरोकारवालाहरुले होली भड्किलो हुनबाट रोक्दै मर्यादित र अनुुशासित तवरले खेल्नुपर्ने बताए । त्यसैगरी रुपन्देही उद्योग संघले आज विहान होली मिलन तथा शुुभकामना कार्यक्रम गरी मनाएको छ भने अर्घखाँची सिमेण्ट प्रा.लि.ले पनि आफ्ना कर्मचारीहरुका बीच आज विशेष कार्यक्रम गरी मनाउँदै छ । आज बुटवलका प्रमुख स्थलहरु ट्राफिकचोक,मिलनचोक,बसपार्क,देविनगर लगाएतका स्थानहरुमा विशेष सांस्कृतिक कार्यक्रमहरु गरी होली पर्व मनाइँदैछ ।
होली पर्व तराई–मधेशका सम्पूर्ण जिल्लहरुमा हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।
प्रतिक्रिया