ताजा अपडेट »

राजनैतिक कार्यदिशा बारेको बहस !

आइतबार, ११ साउन २०७७

२०१७ सालको पौष महिनामा कम्युनिष्ट पार्टीको दरभंगा प्लेनम नै अहिले सम्मको लामो बहस भएको प्लेनम होला । त्यस्मा जम्मा ५४ जना प्रतिनिधिहरुले भाग लिएका थिए तर प्लेनम भने एक महिना सम्म चलेको थियो । तिनवटा दस्तावेज प्रस्तुत भएका थिए । २०१९ सालको तेस्रो महाधिवेशन पछि पुष्पलालको 'कुन बाटो' र तुल्सिलालको 'मुलबाटो' भन्ने दस्तावेजमा पनि त्यस बेलाका कार्यकर्ताहरुले राम्रो र नराम्रोमा थुप्रै बहस गरे ।

०३१ सालको चौथो महाधिवेशन पछि 'देशभक्त जनतान्त्रिक शक्ति' को सरकारको कार्यनैतिक नारा र नेकपा (माले) को "नयाँ जनवादी कार्यक्रम" मा जीवन मरणको सघंर्षमा हामी समेत सहभागी बनेउ । २०४० सालतिर निर्मल लामाको जनविद्रोह र मोहन बिक्रमको जनयुद्द, चुनावमा भाग लिनहुन्छ र लिनहुन्नमा पनि एकांकी बनेर राम्रो नराम्रोमा राम्रै सहभागी बनिएको थियो । पाचौं महाधिवेशनको त कुरै के गरौं । २०४१ सालमा भएको यो अधिवेशनमा दशवटा दस्तावेज प्रस्तुत भएका थिए, मोहन बिक्रमले मात्रै चारवटा दस्तावेज प्रस्तुत गरेका थिए । त्यो अधिवेशनमा पनि सहभागी भइ दस्तावेज राम्रो र नराम्रोमा हात उठाएकै हो ।

२०४८ सालमा भएको एकता महाधिवेशनमा पनि दिर्घकालिन जनयुद्दको बाटो र लामाजीको शहरी विद्रोहको दस्तावेजमा १४ दिनसम्म छलफलमा सहभागी बनेका थियौं । माओवाद र माओ विचारधाराको बहस त उच्चतम बिन्दुमा छदै थियो । २०३८ सालमा माओको मृत्युपछि चिनमा प्रतिक्रान्ती भयो भनेर नयाँ दिल्लीको चाणक्य पुरी स्थित चाइनिज दूतावासमा विरोधको निम्ति ३५ जना आन्दोलनकारी र तिनसय भन्दा धेरै पुलिस र सिआरपिको जवानहरु तैनाथ रहेका थिए । भारतीय भाइचारा समसुल इस्लाम र बाबुराम भट्टराईले १०/१० मिनेट कोण सभालाई सम्बोधन गरेर हामी फर्केका थियौं । पछिल्लो पटक प्रचण्ड पथ’ को बहसमा पनि थुप्रै साथिहरु सहभागी हुनुभयो । कसै कसैले त यो पथ होइन, अब विचार बनिसक्यो भन्ने सम्मका बहस हुन थालेका थिए ।

यी सबै अनुभवहरुबाट के भन्न सकिन्छ भने व्यवहार बिनाको निर्जीव अक्षरले मात्रै खासै अर्थ र महत्व राख्दो रहेनछ । अक्षरका शब्द बनाएर क्रान्ति वा परिवर्तन हुँदोरहेनछ । मुख्य कुरा त नेतृत्वले कसरी सोच्दछ, व्यवहारमा उ इमानदार छ वा छैन, नेतृत्व व्यवहारमा योग्य छ वा छैन भन्ने कुरा हुदों रहेछ । पार्टीको सम्मेलन वा अधिवेशनमा कता जाने र कसरी जाने सामान्य गाइड लाइन बनाएर इमानदारी पुर्वक काम गर्दै जादा हामी लक्ष्यमा पुग्न सक्ने थियौं तर हामी त्यसो गर्दैनौं । हामी शब्दमा अत्यन्त क्रान्तिकारी देखिन्छौं तर व्यवहारमा भने प्रतिक्रान्तिकारिको जस्तो व्यवहार गर्दछौं ।

हामी अत्यन्त शंर्किण बन्यौं, हामी एकांकी र जडशुत्रवादी बन्न पुग्यौं । लाल सलाम भन्ने जति सबै क्रान्तिकारी, जय नेपाल भन्ने जति सबै प्रतिक्रान्तिकारी, अथवा जय नेपाल भन्नेहरु सबै गतिला र राम्रा अनि लालसलाम भन्ने जति नराम्रा र गद्दार, प्रजातान्त्रिक समाजवाद भन्नेहरु गद्दार अनि जनवादी समाजवादी भन्नेहरु क्रान्तिकारि र राष्ट्रवादी, हामिले यसरी सोच्यौं । हाम्रो दिमाग, हाम्रा राजनैतिक अभिभावकहरुले यसरी नै सेटिङ्ग गरिदिए । ०४७ सालतिर कांग्रेस कि छोरी कम्युनिस्टले विवाह गर्न नहुने, कम्युनिष्ट कि छोरी कांग्रेसले विवाह गर्न नहुने, एउटा पक्षको मलाम वा अन्य सहयोगसम्म गर्न नमिल्ने हदसम्म हामी गिरेका थियौं ।

हामिले यो कुरा बुझेनौं र बुझाइएन कि प्रजातान्त्रिक समाजवाद भन्नू र जनवादी समाजवाद भन्नूमा तात्विक भिन्नता शब्दमा रहेको छैन, रहेको छ त केबल हाम्रो चिन्तनमा । हामीलाई यसरी नै प्रशिक्षित गराउने काम गरियो जस्ले गर्दा हामिले शब्दलाई नै राम्रो र नराम्रोमा हेर्न थाल्यौं । एउटी भाउजुले मलाई ॐ भनेर नमस्कार गर्नुहुन्छ । म उहाँलाई त्यसै भनेर नमस्कार फर्काउँछु । कसैले मलाई जय नेपाल हजुर भन्यो भने म जय नेपाल हजुर भन्ने गर्दछु । कसैले मलाई लाल सलाम भन्यो भने म लाल सलाम कमरेड भन्दछु, अभिवादन भन्यो भने म अभिवादन भन्दछु । कसैले वालिकम सलाम भन्यो भने म पनि सलाम वालिकम भनेर नमस्कार फर्काउछु । कसैले शशृकाल भन्यो भने म पनि शशृकाल फर्काउछु । त्यहाँ मेरो र तेरो भनेर बहस गर्नु भनेको हाम्रो अल्पज्ञानको कुरा हो भन्ने म ठान्दछु ।

हामिले फरक छुट्टाउनको लागि प्रजातान्त्रिक समाजवाद भनौं, समुन्नत समाजवाद भनौं, जनवादी समाजवाद भनौं या नयाँ जनवाद हुँदै समाजवाद भनौं, अझ अगाडि बढेर साम्यवाद सम्म पनि भनौं ठिकै छ, त्यस्ले खासै केही फरक पार्दैन, मुख्य कुरा त व्यवहारमा तपाईले कसरी सोच्नु हुन्छ र अगाडि बढ्नु हुन्छ भन्ने कुरा हो । समाजवाद भनेको समानताको कुरा हो, कांग्रेसले भने पनि कम्युनिष्टले भनेपनी या अर्को कुनै पार्टीले भनेपनी । अब समाजवादभित्र प्रवेश गर्दा निरपेक्ष समाजवाद भनेर मात्रै हामी कहाँ पुग्दैन ।

सबैलाई समान अवसर या समान अधिकार भनेर मात्रै पनि पुग्दैन । जस्तो कि तपाइको बाख्राले तिनवटा पाठा जन्माएको छ, ती मध्ये एउटा कमजोर जन्म्यो भने तपाईं के गर्नुहुन्छ ! आमासगँ लडेर बराबरी आमाको थन चुस भन्नू हुन्छ कि ती बलिया मध्ये एउटालाई एकछिन रोकेर त्यस्लाई तपाईले विशेष अधिकार नदिने हो भने त्यो कमजोर पाठो कसरी बाँच्न सक्ला र ! ठिक त्यसरी नै तपाईले अपाङ्गलाई, महिलालाई दलितहरुलाइ, अल्पसंख्यकहरुलाइ अथवा इतिहासमा सत्ताद्वारा पछाडि पारिएका अन्य जाती जनजातिहरुलाई विशेष व्यवस्था नगरिकन निरपेक्ष समानताको कुरा गर्नुहुन्छ भने कमजोरहरुले बलियोसगँ प्रतिस्पर्धा गर्न सक्ने छैनन् । नेपालको सन्दर्भमा समाजवादलाई ग्रहण गर्दा यसरी ग्रहण गरेउ भने मात्र सहि बुझाइ हुनेछ भन्ने लाग्दछ ।

नेकपाले २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादलाई थाती राखेर 'जनताको जनवाद' लेखेर एकता गर्ने बेलामा अगाडि बढेको थियो । आजभोलि कुन ठिक र कुन बेठिक भनेर बहस गरेको देखिन्छ । अक्षरबाट मापन गर्दा यी तिनै शिर्षकहरु नराम्रा छैनन् । सबै दस्तावेजले देश र जनताको हितको कुरा गरेका छन । अहिले हामिकहाँ अक्षर वा शब्दको समस्या होइन, हामिकहाँ समस्या भनेको इमानदार र दुरदृष्टी भएको राजनेताको अभाव हो । यी ७० बाट ओरालो लागेका वृद्द नेताहरु जस्मा इमानदारिता छैन, नैतिकता छैन, साहस र जवाफदेहिता छैन । यिनिहरुको नेतृत्वमा अब न त पार्टी अगाडि बढ्छ न त राज्य अगाडि बढ्दछ । अहिलेको समस्या भनेको नयाँ पुस्तामा सत्ता हस्तान्तरणको कुरा हो । युवाहरुले यसरी सोँच्दा राम्रो होला । नेताहरुको चाकरी, दलाली र बफादारिले देश बन्न सक्दैन भन्ने चेतना युवाहरुमा आउन जरुरी देखिन्छ ।

एक्काइसौं शताब्दीको जनवाद, जनताको बहुदलीय जनवाद र पुष्पलालको नयाँ जनवाद, तिनवटै दस्तावेज मैले मेरो नेकपाको इतिहास भन्ने किताबमा राखेको छु । तीनवटै दस्तावेजहरु आधारभुत रुपमा अग्रगामी र क्रान्तिकारी रहेका छन । अत: अहिले अप्रेसन अक्षर, किताब वा शब्दको होइन । नेताहरुको दिमागमा जन्म भएको यथास्थितिवादी र प्रतिगमनकारी चेतनाको अप्रेसन जरुरी छ । नेता इमानदार भएमा बिग्रिएका अक्षर वा शब्दहरु सच्चाउन सकिन्छ तर नेतृत्व नै खराब भएमा सच्याउन सकिँदैन । यतिवेला प्रायः सबै पार्टीका नेताहरुमा क्रान्तिकारीताको ह्रास हुनु, आशा गरिएका युवाहरुको स्वभिमान र इच्छाशक्ति नहुनु, विचार, दृष्टिकोण र उमेरबाट समेत ओरालो लागि सकेका बुढा नेताहरुको चाकरी र दलालिमा आफ्नो भविष्य देख्नु नै मुल समस्या हो ।

यसर्थ, युवाहरुलाई मेरो आग्रह र अनुरोध यो हो कि अब समस्या अक्षर वा शब्दमा नखोजौं । समस्या नेतृत्वमा छ, त्यसैले कुनै एक समूह समातेर समस्याको समाधान हुन सक्दैन । अतः त्यहाँबाट बाहिर निस्कने र विद्रोह गर्ने हिम्मत गरौं । त्यही विन्दुबाट देश अगाडि बढ्ने छ । अब एउटा सिनियरको ठाउँमा अर्को सिनियरलाई राखेर अगाडि बढ्न सकिदैन । अतः किताबको पाना पल्टाउँदा पल्टाउदै हाम्रो कपाल फुलिसक्यो, अब युवाहरुले इतिहासबाट शिक्षा लिदा राम्रो होला । मैले यसरि सोचें, युवाहरुले पनि यसरी नै सोच्ने कि !