ताजा अपडेट »

विश्व कीर्तिमानधारी संगीतकार श्रेष्ठलाई चलचित्र पत्रकार संघद्वारा सम्मान

शनिबार, १० साउन २०७७

तुलसीपुर । चलचित्र पत्रककार संघ नेपाल दाङ शाखाले विश्व कीर्तिमानधारी संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ । विश्वका १२ वटा भाषामा संगीत भरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरि शनिवार सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति सामुदायिक रेडियो प्रशारक संघ अकोरावका उपाअध्यक्ष अर्जुन गिरीले चलचित्र पत्रकार संघ दाङ शाखाले यसरी सृजनशिल व्यक्तिको पहिचान र सम्मान स्वरुप गर्ने यी कार्यक्रम निकै सराहनीय रहेको बताए । विशिष्ट अथितिसमेत रहेका कीर्तिमानधारी संगीतकार श्रेष्ठले यसरी सम्मान हुँदा खुशी भएको भन्दै दाङ शाखालाई धन्यवाद दिए । कार्यक्रममा बोल्ने अधिकांश अथितिहरुले संगीत प्राणी जगतको सर्वोत्तम कला भएको बताए ।

संगीतमा मात्रै हृदय स्पर्शीताको क्षमता हुने हुनाले नै आनन्द आउने उनीहरुको भनाइ थियो । दुःख, सुख, हाँसो, आँसु सवै किसिमको संवेग तथा परिस्थीतिमा त्यसैमा मेल खाने संगीतको झन्कार मनमा भकृति भईरहने हुनाले नै संगीतको महत्व हुने र संगीतलाई भावना, मन भित्रको लय, र माधुर्यता मानिएको कार्यक्रममा सहभागि सर्जकहरुले बताएका थिए ।