केही दिन भयो । सामाजिक सञ्जालमा वर्षेझरी नभनेर छाता ओढ्दै नारा जुलुस् गरेका फोटो तथा भिडियो देखिन थालेको थियो । यस्तो वर्षेझरीमा आन्दोलन गर्नुपर्ने कारण के पर्यो होला ? मान्छेहरू अचम्ममा थिए । त्यसै पनि कतिपय निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी अत्यन्त न्युन तलबमा काम गर्न बाध्य छन् । चौबीस घण्टा काममा खटिएर पनि उनीहरूले आठ घण्टा बराबरको स्केल पाउन सकेका छैनन् । त्यही पनि कति बेला पाउने थाहा हुँदैन । हाजिरको पनि ठेगान छैन । काममा गएको दिनको मात्र तलब थापेर बस्नुपर्ने अवस्था छ ।
खासमा निजी तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी अविच्छिन्न संस्थाका अविच्छिन्न श्रमिक हुन् । उनीहरूले श्रम ऐन अनुसार सेवा सुविधा पाउनुपर्छ । कम्पनी नाफामा जाँदा त्यसको लाभांश काम गर्ने श्रमिकले पाउनुपर्ने हो तर अहिलेसम्म कुनै निजी शैक्षिक संस्थाले लाभांश शिक्षक तथा कर्मचारीलाई दिएका छैनन् । संगठित हुन पाउने अधिकार पनि हनन् गरिएको छ । कतिपय बोर्डिङमा दुई शिक्षक बीच दोस्ताना सुरु भएको प्रसाशनले थाहा पाउने बित्तिकै उनीहरूको उल्टो गन्ती सुरु हुने र कहिले कामबाट हात धुनुपर्ने हो पर्खेर बसे हुने अवस्था छ । कतिपय स्कुलका प्रिन्सिपलले अन्य स्कुलका संगठन गर्दै हिँड्ने मास्तरलाई देखाउँदै काल पालेका छौ तिमीहरूले भन्दै उसलाई विद्यालयबाट निकाल्न सुझाब दिने गरेको पनि सुन्नमा आएको छ ।
यस्तै र यस्ता अनेक झ्याउलो बीच पनि आफू कार्यरत बोर्डिङलाई आफ्नै मानेर काम गर्दै आएका बोर्डिङ स्कुलका शिक्षक कर्मचारीमाथि कोरोना कहरको बीचमा प्याब्सन र एन् प्याब्सनले गरेका निर्णयहरू झन् पछि झन् बज्रपात नै हुन थाल्यो । कति पुराना शिक्षक तथा कर्मचारीले बोर्डिङ कसको रहेछ भनेर पच्चीस वर्षपछि थाहा पाए । प्याब्सन रुपन्देहीको मिति २०७७/३/२९ को भेलामा कार्यरत शिक्षक कर्मचारीलाई पच्चीस प्रतिशतमा नघटाएर तलब दिने घोषणा गर्यो । त्यसैको अर्को दिन प्याब्सन र एन् प्याब्सनको केन्द्रले चलिरहेको अनलाइन क्लास बन्द गरेर शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदामा राख्ने निर्णय गर्यो । लकडाउनको बेलामा पनि आफ्ना विद्यार्थीलाई सम्पर्क गरेर जेनतेन अनलाइन क्लासमा झुण्ड्याएर आफ्ना विद्यार्थीलाई लकडाउनको मोनोटोनसबाट मुक्त गराएका शिक्षक र त्यसै त न्युन वेतन त्यसैमा लामो समय बिनातलब बसेका कर्मचारीहरूलाई यो निर्णयले नराम्ररी झस्कायो । कसैले आफ्नो बोर्डिङबारे अलिकता नराम्रो टिप्पणी गरे पनि नसहने बोर्डिङ स्कुलका शिक्षक तथा कर्मचारी त्यही बोर्डिङको विरुद्धमा आन्दोलनमा उत्रिए ।
रोकिएको तलब माग्न थालेका शिक्षक कर्मचारीहरूले थाँती रहेका अन्य मागहरू पनि यही बेलामा उठाउन भ्याए । अब उनीहरूले निजी शैक्षिक संस्थालाई नेपाल सरकारले व्यवस्था गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन अनुसार सूचिकृत गर्नुपर्ने । सबै निजी विद्यालयले नेपाल सरकारको श्रम ऐन अनुसारको सेवा सुविधा तत्काल लागु गर्नुपर्ने । विद्यालय स्थापना गर्दा सरकारसित जेजसरी विद्यालय चलाउँछु र कार्यरत शिक्षक कर्मचारीलाई जे जस्तो सेवा सुविधा दिन्छु भनेर स्थापना गरिएको थियो ती सबै अक्षरश लागु गर्नुपर्ने जस्ता माग गर्न थालेका छन् । उतिबेला सरकारले बैशाखदेखिको शुल्क नदिएको निहुँमा आवेशमा आएर गरेको प्याब्सन र एन् प्याब्सनको नेतृत्वको निर्णय आफैमाथि बज्र परेको जस्तो भएको छ । आफ्नो नाफा अलिकति घटेको पनि सकन नसकेर बच्चाले जस्तो कहिले यो कहिले त्यो कुरा गरेर उम्कन खोजेको प्याब्सन र एन् प्याब्सनको केन्द्रमा अब खैलाबैला मच्चिदै छ ।
अहिलेसम्म चुपचाप काम गरिरहेका शिक्षक तथा कर्मचारीलाई जुरुक्क उठाएको छ । अहिलेसम्म सित्तैमा कजाएर खाएको अब निस्कने बेला आउँदै छ । अब ती शोषित, पिडित र भोका शिक्षक कर्मचारी चुप लागेर बस्ने छैनन् । भोकै बस्ने बानी परेका यी शिक्षक तथा कर्मचारी आधा पेट खाएर महाजनको बेठबेगारी गर्न बसेजस्तो बस्ने छैनन् । अब आफ्नो काम अनुसारको माम माग्ने छन् । नदिएको खण्डमा सामुहिक राजीनामा दिएर विद्यालयमा टाला लगाउने छन् । चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा हुनुले त्यो देखाउँछ । आन्दोलनको दौरानमा कुन बोर्डिङमा कस्ता समस्या छन् ? भन्ने डाटाहरू पनि आए र अझै आउने क्रममा छन् । आन्दोलन त्यसै सेलाउने हो भने त मेरो भन्नु केही छैन तर बोर्डिङ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीका सक्रीय दुई संगठन प्याब्सु र इष्टु मिलेर आन्दोलन जारी राखेमा जसरी पनि यी मागहरू पूरा गर्न प्याब्सन र एन् प्याब्सन बाध्य हुने छन् ।
अहिले विश्वमा नै मजदुर आन्दोलन दुर्लभ भएको बेलामा नेपालमा बोर्डिङ स्कुलका शिक्षक कर्मचारीको विजय पनि एउटा नयाँ अध्याय हुने छ । अन्य औपचारिक क्षेत्रमा कार्यरत कामदारहरूको लागि एउटा उदारहण हुने छ ।
प्रतिक्रिया