भैरहवा । नेपाल रेडक्रस सोसाईटी शुद्ध परोपकार संस्था भएकोले यसलाई राजनिति भन्दा टाढा राख्नुपर्ने रेडक्रस सदस्यहरुको भनाई छ । अहिलेसम्म रेडक्रस सोसाईटी विवाद भन्दा टाढा रहेकोले यसको भविष्य थप सुनिश्चित गर्न राजनितिकरणबाट टाढा राख्नु पर्ने सदस्यहरुले सुझाव दिएका हुन् ।
नेपाल रेडक्रस सोसाईटी, रुपन्देही शाखाको स्वर्ण महोत्सवको अवसरमार शुक्रबार भैरहवामा आयोजित “रुपन्देही रेडक्रसः हिजो आज र भोली” बिषयक अन्तरसम्वाद कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त सुझाव दिएका हुन । अहिले रेडक्रसका सदस्यहरु बीच पनि आजिवन सदस्यता बितरण गर्ने होड चलिरहेकोमा चिन्ता ब्यक्त गर्दै यसले रेडक्रसको मूल मर्म र यसको महत्व नबुझ्नेहरु माथिल्लो पदमा पुग्ने उनिहरुको चिन्ता छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल रेडक्रस सोसाईटीका सल्लाहकार विमलबहादुर शाक्यले जथाभावी रुपमा बितरण हुँदै आएको आजीवन सदस्यतामा कडाई अपनाउनु पर्ने सुझाब दिए । उनले रेडक्रसको सदस्यता लिनुपूर्व यस बारे अनिवार्य अभिमुखीकरण लिनु पर्ने आवश्यकता औल्याए । यस्तै यसलाई समावेशी बनाउन महिला र युवाहरुको सहभागीता पनि उत्तिकै अपरिहार्य रहेको शाक्यले औल्याए । नेपाल रेडक्रस सोसाईटी बेलहिया उपशाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दैरुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार यादवले रेडक्रसको अहिलेसम्मको सेवाभाव अनुकरणिय रहेको बताए । उनले रेडक्रसले नै रक्तदान बारे सचेतना फैलाई हजारौ बिरामीको ज्यान जोगाएको चर्चा गरे ।
अझै पनि कतिपय क्षेत्रमा रक्तदान गर्न डराउने अवस्था भएकोले रक्तदानको महत्व बुझाउन रेडक्रसले थप प्रशिक्षणमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । रेडक्रस सोसाइटीका उपशाखाहरु सबै स्थानीय तहमा खोल्नुपर्ने उनले सुझाव दिए । उनले यसै वर्षमा रेडक्रस मर्चवार उपशाखालाई एक थान एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरे । २०२७ साउन ८ गते स्थापना भएको नेपाल रेडक्रस सोसाईटीको रुपन्देही शाखाले ५० बर्ष पार गरेको छ । बिशेष गरि बिपद्मा परेकाहरुको उद्धार, राहत बितरण, रक्त सञ्चारको साथै बिभिन्न सचेतनामूलक कार्यक्रम रेडक्रसले सञ्चालन गर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्राध्यापक सुर्दशन प्रसाद नेपाल, रेडक्रस सोसाइटी प्रदेश ५ का महासचिव कृष्ण पंगेनी, रेडक्रस सोसाइटी रुपन्देहीका कार्यसमिति सदस्य तथा बेलहिया उपशाखा प्रमुख शुशिल गुरुङले रुपन्देही शाखालाई नेपालमा एक नम्बर शाखाको रुपमा चिनाउने गरी काम भइरहेको बताए । कार्यक्रम संयोजक मन्जु शर्माको स्वागत तथा रेडक्रस सोसाइटी बेलहिया उपशाखा सदस्य देवी न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया