बुटवल । प्रदेश ५ मा एम्बुलेन्स सेवालाई भरपर्दो र प्रभावकारी बनाउन ट्रयाकिङ सिस्टमको सुरुवात गरिएको छ । गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउन पहिलो चरणमा प्रदेशका ६० वटा एम्वुलेन्सहरुमा जिपिएस डिभाइस जडान गरीएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद गिरीले जानकारी दिए ।
विहिबार सेवाको औपचारिक शुभारम्भ गर्दै सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका सबै एम्बुलेन्सहरुलाई क्रमैसँग अनिवार्य जिपिएस प्रणालीमा लैजाने बताए । २४ घण्टा नै अटलाई सुविधासहितको अनलाई ट्रयाकिङ सेवालाई प्रभावकारी बनाउन उनले कर्मचारीहरुलाई निर्देशन दिए । आ.व.२०७६/७७ मा प्रदेश सरकारबाट विनियोजित बजेट ३० लाखबाट ३ जना कर्मचारी व्यवस्थापनसहित प्रदेशका सबै जिल्लाका गरी ६० एम्बुलेन्सहरुमा सिपिएस डिभाइस जडान गरिएको निर्देशनालयका प्रमुख गिरीले जानकारी दिए ।
प्रदेश ५ मा हालसम्म ३५० वटा एम्बुलेन्स दर्ता भएका छन् । ती सबै एम्बुलेन्सहरुलाई आगामी वर्षसम्म अनिवार्य जिपिएस सिस्टममा ल्याइने निर्देशनालयले जनाएको छ । जिपिएस जडानको लागि पहिलो पटक प्रदेश सरकारले खर्च गरे पनि यसपछि जडान गरिने जिपिएस डिभाइसका लागि सम्बन्धित एम्बुलेन्सले नै खर्च व्यहोर्नु पर्ने छ । एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउनका लागि कार्यविधि ल्याउन लागिएको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा जडान गरिएको जिपिएस डिभाइसका लागि प्रति एम्बुलेन्स ५ हजार खर्च भएको तथा उनिहरुले वार्षिक ६ हजार इन्टरनेट प्रदायक संस्थालाई शुल्क बुझाउनु पर्ने हुन्छ । हटलाईन सुविधाका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी ३ जना कर्मचारी व्यवस्था गरिएको छ ।
कसरी काम गर्छ, जिपिएस डिभाइसले ?

यो डिभाइस जडान भएका एम्बुलेन्सहरुको बारेमा सम्पूर्ण जानकारी गुगोलमा गएर थाहा पाउन सकिन्छ । जिपिएस डिभाइस जडान गरी स्वास्थ्य निर्देशनालयमा प्रविधिमा आधारित एम्वुलेन्स सूचना केन्द्रको स्थापना गरिएको छ । मोवाइल प्रयोगकर्ताहरुका लागि एण्ड्रोइड एप्लिकेशन मा आधारित मोवाइल एपिलेकशनको समेत व्यबस्था गरिएको छ ।
हेल्प लाइन सेवा २४ सै घण्टा उपलब्ध हुनेछ र आकस्मिक उपभोक्ताले सो हेल्पलाईनमा फोन गरी आफु रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्प लाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सवैभन्दा नजिक र खाली रहेको एम्वुलेन्स एकिन गरी उक्त एम्वुलेन्सको चालकको मोवाइल नम्वर सेवाग्राहीले प्राप्त गर्न सक्ने छन् । यसैगरी सेवाग्राहीले निर्देशनालयमा रहेको हटलाई नम्बर ०७१–४२०४९६ मा कल गरी आफू नजिक कुन एम्बुलेन्स छ जानकारी पाउनुका साथै उक्त एम्बुलेन्स चालकको मोवाईल नम्बर समेत थाहा पाउन सक्ने छन् ।
यसका साथै उक्त एम्वुलेन्सले सो सेवाग्राहीलाई सेवा दिए वा नदिएको जानकारी तुरुन्त अनलाईन प्रविधि मार्फत अनुगमन गरिनेछ ।
प्रतिक्रिया