ताजा अपडेट »

पुष्पलाल चोकमा आन्दोलनकारी : एक्लो वृहस्पति

मंगलबार, ०६ साउन २०७७

वनमा डढेलो लगाउन सलाईको एउटा काँटी काफी हुन्छ । गणतन्त्र ल्याउनका निम्ति नेताहरु दुलामा लुकेर कार्यकर्ताहरुले झण्डा बोकेर लखर लखर सडकमा दौडेको पनि यीनै आँखाले देखेकै हुन् । त्यतिबेला मानिसक कति हुन्थे भेला र कत्रो हुन्थ्यो जुलुश नदेखेको कहाँ हो र ? तर देशमा आखिर गणतन्त्र आइ छाड्यो । संख्यात्मक भन्दा पनि गुणात्मक कुरो रहेछ आन्दोलन !

आन्दोलनको विषयको महत्वले प्रमुखता पाउँदो रहेछ । आन्दोलन कसैको रहर र लहडको विषय होइन । यो आवश्यकता र खाँचोले जन्माउँदो रहेछ । मंगलवार विहान ११ वजे अनौठो दृश्य देखियो । बुटवलको पुष्पलाल चोकमा एकजना आन्दोलनकारी देखिए । उनीसँग एउटा माईक थियो । सिमसिम पानी परिरहेको थियो । प्रहरीहरुले उनलाई घेरा हालिरहेका थिए । उनले जब माईकबाट आन्दोलनका विषयमा बोल्न थाले अनि केही मानिसहरु उनका कुरा सुन्नका निम्ति उनकै नजिक आउन थाले । निजी तथा संस्थागत विद्यालयका शिक्षक एवम् कर्मचारीहरुले वर्तमानमा खेप्नु परेका समस्या, चुनौती र शैक्षिक मजदूरहरुले झेल्नु परेका खास विषयमा बोल्दै थिए उनी ।

उनले भन्दै थिए –प्याब्सन र एन प्याब्सनले कोरोना कहरका बेलामा आफ्ना शिक्षक कर्मचारीहरुको तीन महिनासम्मको सेवा सुविधा रोके । उनीहरुलाई साउन १ गतेदेखि बेतली विदामा राख्ने निर्णय गरे । शिक्षक कर्मचारीहरुलाई सरकारले व्यवस्था गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराएनन् । यसरी संस्थामा अविछिन्न कार्यरत शिक्षक कर्मचारीहरुको अधिकार हनन् गरे । कोरोनाको समयमा शिक्षक,कर्मचारी र विद्यार्थीका जोखिम वीमा गर्नुपर्ने बेलामा उल्टो सम्पूर्ण शैक्षिक संस्थाहरु नै ठप्पर पारेर आफ्नो दायित्व सरकारको थाप्लामा राखेर पानीमाथिको ओभानो हुने प्रयास गरेको उनै आन्दोलनकारीको आरोप छ ।

मजदूरहरुको हकहितका लागि भनी खोलिएका सरोकारवाला निकाय तथा संघसंस्थाहरु मूकदर्शक बनेका छन् । यो बेला मजदूरका अगेनामा आगो बल्न छाडेका छन् । उनीहरुका परिवारले गास र भाग छोड्न पर्ने बाध्यकारी अवस्था आउँदैछ । जसको ज्ञान,श्रम,सीप र पसिनाले आफ्ना महल ठडाएर आलिसान बनाए र उनीहरुको बेहाल देख्दा देख्दै नतमस्तक बन्दैछन् मालिकहरु । यसरी आफ्ना यथार्थ बोल्दै गर्दा उनका पीडा सुन्ने दर्शक/स्रोताहरु एक दर्जन जति थिए ।

यस्तो तगडा भाषण गर्ने आन्दोलनकारी पुष्पलाल चोकमा एक्लो वृहस्पति बने । उनी थिए शैक्षिक मजदूर मीनबहादुर राना । त्यतिमात्र होइन उनी प्रगतिशील लेखक सङ्घ,नेपालका केन्द्रीय सदस्य एवम् गजल सागर नेपालका अध्यक्ष समेत हुन् । उनले आधाघण्टा धाराप्रवाह बोली रहँदा प्रसंग अनुसार गजल,मुक्तक र कविता पनि वाचन गर्न भ्याए ।

सचेत नागरिकले कुनैपनि अन्याय सहेर बस्नु पनि अन्याय हो । यतिबेला प्याब्सन र एन प्याब्सनका गलत निर्णयहरु फिर्ता लिएर पढ्ने र पढाउने वातावरण सिर्जना गर्नुपर्छ र शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्य वीमा गर्नुपर्छ । शैक्षिक संस्थाहरुले लिने निर्णयहरु दूरगामी असर पार्ने खालका हुनु हुँदैनन् । यो बेला कसैले पनि नाफा र घाटा हेरेर होइन सामाजिक उत्तरदायित्व निर्वाह गरेर अघि बढ्नु नै श्रेष्कर हुने छ । महामारीसँग सामाना गर्न सरोकारवालाहरु सबै एकजूट भएर मात्र सम्भव छ भन्दै उनले आफ्नो भाषणको बीट मारे ।

यो आन्दोलनमा उनी आज एक्लो वृहस्पति भएपनि लाखौं शिक्षक कर्मचारीहरुका निम्ति पक्कै पनि कोसेढुंगो सावित हुने छ ।