भैरहवा । कृषि सामाग्रीको अभाव, बजारमा बिचौलियाको प्रभाव र भारतबाट आयात भएको केरासँग प्रतिस्पर्धा गर्न नसक्दा रुपन्देहीका केरा किसान मर्कामा परेका छन् । केरा खेतीको लागि उर्बर भूमि मानिएको मायादेवी गाउँपालिका र सियारी गाउँपालिकाका कृषक करिब २० बर्ष अघि देखी केरा खेती गर्दै आएका छन् । धान र गँहु जस्ता पराम्परागत कृषि गर्दै आएका किसान केरा खेतीतर्फ आकर्षित भएका थिए । काम अनुसारको प्रतिफल पाएको कारण दुबै गाउँपालिकामा गरेर करिब २ सय ५० जना किसान अहिले ब्यवसायीक रुपमा केरा खेती गरि रहेका छन् ।
केरा खेतीले नै अहिले त्यस क्षेत्रको जनजिवन केही फेरिएको छ । ब्यवसायीक रुपमा केरा खेती थालेका किसानले अहिले सामुहिक रुपमा स्थानीय सरकार र प्रदेश सरकारको अनुदानमा केरा पकाउने मेशीनको स्थापना गरेका छन् । यस्तै सिंचाईको लागी बोरिङ्ग र केही प्राविधिक ज्ञान पनि पाएको किसान श्रीवास्तव मल्लाहको भनाई छ । गएको आर्थिक बर्षमा कृषि ज्ञान केन्द्रले पनि केराको पकेट क्षेत्रको लागि कृषकहरुको ५० प्रतिशत अनुदान हुने गरि २८ लाखको कार्यक्रम सम्पन्न गरेको मल्लाहले बताए ।
किसानहरु केरा खेतीतर्फ आकर्षित भइरहँदा उनिहरु मलको सहज उपलब्धता, बजारमा बिचौलियको बिगबिगी र सिमापारबाट सस्तोमा वर्षभरि केरा आयात हुँदै आएकाले यहाँका किसान मर्कामा परेका छन् । बजारमा आएको भारतीय केरासँग यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सकिरहेको छैन । सस्तोमा आयात भएको केराले समस्यामा पारेको किसानले बताएका छन् । कुनै–कुनै बेला धेरै ठूलो क्षति बेहोर्नुपरेको किसानको भनाई छ ।
भारतीय केराले रुपन्देहीका बजारमा बाह्रै महिना एकाधिकार जमाएको किसानहरुको भनाई छ । नेपालमा उत्पादन तयार भएको अवस्थामा भारतबाट ६० प्रतिशत मूल्य कम भएर आउँछ यसले स्थानीय उत्पादनले बजारमा प्रतिष्पर्धा गर्न नसकेको अर्का किसान शिव शंकर यादवको गुनासो रहेको छ । भारतमा किसानलाई मल, बीउ, कृषि औजारमा अनुदान दिने गरेकोले भारतीय किसानले सस्तोमा केरा बिक्री गर्ने गरेका किसानको भनाई छ । यद्यपि नेपाली उपभोक्ताले भने भारतीय सस्तो केरालाई पनि तुलनात्मक रूपमा निकै सस्तोमा पाउन सकेका छैनन् ।
रुपन्देहीमा दशै अघि देखि छठ पर्वसम्म केराको खपत बढी हुने गर्दछ । यही बेला यहाँ केरा उत्पादन हुने गर्छ तर पर्वको बेला भारतबाट अत्यन्त कम मूल्यमा केरा आयात हुने र यहाँको उत्पादन विस्थापित हुने गरेको किसानको भनाइ छ । रुपन्देहीको मायादेवी र सियारी गाउँपालिकामा करिब २ सय ५० कृषकले केरा खेती गरिरहेको किसानले बताएका छन् । यी दुई गाउँपालिकामा मात्रै १ सय ५० बिघा बढी जमिनमा केरा खेती भइरहेको दाबी गरेका छन् ।
कृषक राम समुझ गुप्ताले सिचाइँ सुविधा, मलको अभाव, संकलन केन्द्रको अभाव लगायत यावत कुरा नहुँदा खेती गर्ने किसानको लागत बढ्ने गरेको बताए । लागत बढी भएपछि उत्पादीत केरा महँगो हुने गर्दछ । यी सबै समस्याको समाधानको प्रयास सरकारी स्तरबाट नै हुनु पर्ने उनको भनाई रहेको छ । सरकारले केरा खेतीको लागी चाहिने आधारभूत आवश्यकताहरु पुरा गरि दिए मात्र जिल्लालाई केरा खेतीमा आत्मनिर्भर बनाई अन्त पनि यसको निर्यात गर्न सक्ने किसानहरुको दावी छ ।
प्रतिक्रिया