ताजा अपडेट »

युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

सोमबार, ०५ साउन २०७७

काठमाडौं । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति वेम्बली स्टेडियममा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिरुड र मासन माउन्टले एक एक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गरे भने ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । खेलमा पहिलो हाफको इन्जुरी समयमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा माउन्टले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो ।

खेलको ७४ औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३-० को अग्रता बनायो । खेलको ८६ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमार्फत् गोल फर्काएपनि चेल्सी ३-१ ले विजयी भयो । अब चेल्सीले उपाधिका लागि आर्सनलसँग खेल्नेछ । चेल्सी र आर्सनलबीचको फाइनल अगष्ट १ मा वेम्बलीमा हुनेछ ।