ताजा अपडेट »

अर्थोपार्जनमा कैदीबन्दी

सोमबार, ०४ चैत्र २०७५

चैत ४,
बनेपा । जिल्ला कारागार धुलिखेलका कैदीबन्दी थुन्से, मुडा र पोते बुनेर आर्थिक आम्दानी गर्न थालेका छन् । कारागार प्रशासनले समयको सदुपयोग गर्दै कैदीबन्दीको आचरणमा सुधार ल्याउन विभिन्न सीपमूलक काम गर्न प्रेरित गरेपछि उनीहरु सीपमूलक काममा व्यस्त बनेका हुन् ।

बहुविवाह मुद्दामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका हिकमत सिं लामा भन्छ्न, ‘दुई जनाले दिनमा ४०–४१ वटासम्म थुन्से बुन्दै आएका छौँ ।’

सो मुद्दामा बन्दी जीवनमा परेपछि त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने हेतुले चार महीना अगाडिदेखि यस्तो काम गरिरहेको लामाले बताए । चोया काट्ने, बीट गर्ने र बुन्नका लागि चकटी बनाउने काम फरक फरक व्यक्तिले गर्दछन् । त्यसरी काम गरे बापत दिनको रु १०० देखि १२० सम्म कमाइ हुन्छ । ‘कमाएको पैसाले जेल भित्रको खाना खाजाको अतिरिक्त बाँकी पैसा घरमा श्रीमतीलाई पठाउने गरेको छु ।’ उनले भने ।

ज्यान मुद्दामा कारागारमा रहेका रामकृष्ण न्यौपानेले ६–७ महीना अगाडिदेखि थुन्से बुन्ने काम गरेको बताए । कारागारभित्रै थुन्से बुन्ने सीप सिकेको बताउँदै उनले सो कामबाट महीनाको दुई–तीन हजार आम्दानी गरेको बताए । ‘कमाएको सबै पैसा घरमा पठाउँछु’, उनले भने ।

त्यसैगरी बालविवाह मुद्दामा बन्दी जीवन बिताइरहेका राम दनुवार कारागार भित्रैको एउटा कुनामा मुडा बुनिरहेको भेटिए । दिनको एक दुईटासम्म मुडा बुन्ने गरेको उनको भनाइ थियो । ‘यही आएर मुडा बुन्ने सीप सिकेको हु, एउटाको २०० रुपैया मिल्छ, महीनामा काम हेरेर छ देखि आठ हजारसम्म कमाउँछु ।’ कमाएको सबै पैसा घरमा पठाउने गरेको उनले बताए । मुडा बुन्न चार–पाँच जनाको आवश्यकता पर्दछ ।

अर्का बन्दी सुप्रिम वाइबाले १५ महीना अगाडिदेखि निरन्तर मुडा बुन्ने काम गर्दै आएका छन् । त्यहीनै सीप सिकेर काम गरिरहेका उनले दिनको रु १५० देखि २०० सम्म कमाउने गरेको बताए । ‘राम्रोसँग सीप सिक्न एक महीना लाग्यो ।’ ग्रामीण विकास विषयमा कक्षा ११ मा अध्ययनरत उनले भने, ‘अहिले दिनको २–३ वटासम्म मुडा तयार गर्छु, यही पैसाबाट क्याम्पस पढिरहेको छु ।’

मुडा बुन्ने काम हेर्ने संयोजक सुरज थापाले एउटा मुडा बनाए बापत रु १६० पाउने गरेको बताए । सामान ल्याएको पैसा कटाएर बाँकी पैसा उनीहरुले नै पाउने गरेको उनको भनाइ थियो । बाँस, रङ्ग, धागो लगायतका सामान बाहिबाट ल्याएर बनाउने गरिन्छ । त्यसरी बनाएको एउटा मुडा चारसय ५० रुपैयामा बिक्री हुन्छ । त्यहाँ दिनको २५–३० वटा मुडा उत्पादन हुन्छ ।

पानी पर्दा कहिलेकाही रोकिनेबाहेक अरु बेला निरन्तर काम भइरहन्छ । थापाले भने, ‘कच्चा कदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले कहिलेकाही काम हुँदैन, त्यसबाहेक काम निरन्तर चलिरहेको छ ।’ जिल्ला कारागार प्रमुख जंगबहादुर राईले कारागारमा कैदीबन्दी जीवन बिताइरहेकाको समय सदुपयोग गर्न सीपमूलक कामलाई प्राथमिकता दिएको बताए । आफू प्रमुख भएर आएको बेला २०–२५ जनाले मुडा र थुन्से बुन्ने काममा व्यस्त रहेको देखेपछि त्यसलाई बढावा दिँदै लागेको उनको भनाइ थियो । सीपमूलक कामले व्यक्तित्व विकास र आचरण सुधारमा सहयोग पुगेको छ ।

‘भएका कैदीबन्दीमध्ये अहिले ४०–५० जना मुडा र थुन्से बनाउने काममा संलग्न छन्’, उनले भने, ‘दुई महीनादेखि पोते उन्ने काम भइरहेको छ ।’ पोते उन्ने काम शुरुआती चरणमा भएकाले त्यति कमाउने अवस्था नभएको र अन्यमा भने कमाई राम्रो भइरहेको उनको भनाइ थियो । कारागारमा भएका २३० जनामध्ये ७९ थुनुवा ९बन्दी० र १५१ कैदी छन् । साप्ताहिक निरीक्षणमा काम गर्नेलाई उत्साह दिँदै आएको कारागार प्रमुख राईले बताए ।