ताजा अपडेट »

कुन चिज कति बेला खाने ?

सोमबार, ०४ चैत्र २०७५

भात
राति भात खानु ठीक होइन भन्ने कतिपयको बुझाइ छ, तर राति भात खानु राम्रो हुने पोषणविज्ञहरू बताउँछन् । भात छिटो र राम्रोसँग पच्छ जसले गर्दा राति निद्रा पनि राम्रो लाग्छ । यद्यपि राति थोरै भात खानुपर्छ । बिहान र बेलुका दुवै छाक भात खानुचाहिँ ठीक होइन । यसले मधुमेह बढाउन सक्छ ।

दही
दही खाने उत्तमसमय दिउँसो हो । दिउँसो दही खाँदा पेट पनि दुरुस्त रहन्छ । राति दही खानु हुँदैन । राति दही खाँदा रुघाखोकी तथा कफको समस्या सिर्जना हुनसक्छ ।

चिनी
चिनी पनि दिउँसो नै खानु उपयुक्त हुन्छ । राति गुलियो खाँदा मधुमेहको खतरा वृद्धि हुन्छ । राति चिनी खाँदा राम्रोसँग निद्रा नलाग्न सक्छ ।

ओखर
राति सुत्नुअघि स्न्याक्सका रूपमा ओखर खानु उपयुक्त हुन्छ । यसले शरीरमा मेलाटोनिन हार्मोन बनाउने काम गर्छ । मेलाटोनिनले राम्रो निद्रा लगाउँछ ।

केरा
व्यायामपछि केरा खाँदा राम्रो ऊर्जा प्राप्त हुन्छ । केरा पनि दिउँसो खानु राम्रो मानिन्छ । दिउँसो खाएको केराले लामो समयसम्म भोक लाग्न दिँदैन । सुत्नुअघि केरा खानु उपयुक्त हुँदैन, राति केरा खाँदा चिसो लाग्ने सम्भावना हुन्छ ।

दाल
बिहान र दिउँसोको खानासँग दाल खानु राम्रो हो । दिउँसो दाल खाँदा राम्रोसँग पच्ने र पेटमा ग्याँस भरिने खतरा हुँदैन । राति भने सकेसम्म दाल खानु हुँदैन, किनभने दाल छिटो पच्दैन ।

चिज
चिज बिहान खानु राम्रो मानिन्छ । साँझ वा राति चिज खाँदा पचाउन गाह्रो हुन्छ भने शरीरको तौल बढ्ने जोखिम वृद्धि हुन्छ ।

दूध
दूध राति पिउनु उपयुक्त हुन्छ । सुत्नुअघि दूध पिउँदा राम्रो निद्रा लाग्छ । त्यसो त दूध जुनसुकै बेला पनि पिउन सकिन्छ ।

कफी
कफी बिहान पिउनुपर्छ । बिहान पिइएको कफीले शरीरलाई ऊर्जा प्रदान गर्छ भने निद्रासमेत लाग्न दिँदैन । साँझ ७ बजेपछि कफी पिउनुहुँदैन किनभने त्यसले निद्रालाई प्रभावित तुल्याउँछ । -Nari magazine