ताजा अपडेट »

व्यावसायिक कृषिसँगै पर्यटनको सम्भावना

सोमबार, ०४ चैत्र २०७५


चैत ४,

भैरहवा । रुपन्देहीमा व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । जिल्लामा विश्वकै ठूलो पक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा अनुसन्धान केन्द्र,व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढाएको हो ।


तिलोत्तमा नगरपालिकाको गङ्गोलियामा रहेको अस्ट्रिच फार्ममा दैनिक करिब एक हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यसबाट अस्ट्रिच नेपाल प्रालिले वार्षिक ६० लाख रुपियाँ आम्दानी गर्दै आएको जनाएको छ । लुम्बिनी आउने आन्तरिक पर्यटकमध्ये ५० प्रतिशत अस्ट्रिच हेर्न आउने गरेका छन् । तीमध्ये करिब २० प्रतिशत बाह्य पर्यटक हुने गरेको सो कम्पनीले जनाएको छ । 
विश्वका सीमित देशमा मात्र अस्ट्रिच पालन हुने भएकाले बाह्य पर्यटकलाई यसले आकर्षित गरेको छ । दक्षिण कोरिया, मलेसिया, चीन, जापान, नेदरल्यान्ड, इजरायल, भारतका राजदूत, उच्चपदस्थ अधिकारी तथा अनुसन्धान टोलीले फार्मको अवलोकनपछि यसलाई नमुना केन्द्रका रूपमा विकास गर्न सुझाव दिएको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले बताउनुभयो ।


यो फार्ममा अहिले माउ र चल्ला गरी छ हजार अस्ट्रिच छन् । फार्म परिसरमा अस्ट्रिचबाहेक लोकल कुखुरा, माछा तथा अर्गानिक परिकारको रेस्टुराँ सञ्चालन गरिएको छ । सञ्चालक शर्माले यसलाई अस्ट्रिच अनुसन्धान केन्द्रका रूपमा पनि विकास गर्ने लक्ष्य लिनुभएको छ । -गोरखापत्र