हाम्रो परिवार बुटवल दिप नगरको घरमा ५३/५४ साल तिर मेरो बुवाले टेलिभिजन ल्याएको सम्झन्छु । टेलिभिजन ल्याए पनि एन्टिनामा सँधै दायाँ-बायाँ गर्नु पर्ने भएकाले टि.भी. कहिले काहीँ त महिनौ दिनसम्म बिग्रिरहन्थ्यो । तर, एउटा कुरा अचम्म लाग्थ्यो, एन्टिना बिग्रेका बेला पनि दूरर्शन च्यानल भने टिपि नै रहन्थ्यो । दूरदर्शनमा अटल बिहारी बाजपेयीका भाषण र लालकृष्ण अड्वानीको कुटनीतिक बातचित सुन्दै हेर्दै हुर्किएँ । तत् पश्चात् नै मैले हिन्दी भाषा अलि-अलि सिक्न पुगेछु ।
वर्ष २०६५ मा मेरो बिवाह भयो । परम्परासँगै घरमा नयाँ कलर टेलिभिजन भित्रियो । काममा ब्यस्त हुने भएकाले टेलिभिजन हेर्न कमी भएको रहेछ । सोही वर्ष मैले मिग र निम्बूूज खुब चलाउँथें । पछि फेसबुक पनि चलाउन थालेँ । बिस्तारै बिस्तारै टेलिभिजन प्रतिको मोह स्वात्तै घट्यो । वर्ष २०७४ मा मैले आँफैले ४५ इञ्चको एलइडी टेलिभिजन किने । केवल टिभीबाट डिस होममा छलाङ मारँे ।
त्यस बेलाको अनुभव
हरे भगवान मेरो निजि टिभी ! नेपाली तीज गित, नेपाली डान्स्, नेपाली सम्वाद । परिवारसँग बसेर हेर्ने त परैको कुरा, त्यो हेर्दा समेत आफैंमा त्रास र लाज उत्पन्न हुन्थ्यो । यो अनुभव धेरैले नगरेका हुन सक्छन् । तर, ५ वर्ष टेलिभिजन नहेरेको मैले भने सार्है सरमको अनुभव गरेको छु । मैले त्यति बेलै अनुभव गरेको थिएँ ‘हामी भारतीय टेलिभिजनमा आउने हरेक कार्यक्रमको गुलाम भएका छौँ ।’ टेलिभिजनले जसो-जसो देखाउँछ, हामी त्यहिँ नक्कल गर्न खोजिरहेका छौँ ।
कम्युनिष्ट सरकारका सांसद कोमल ओलि देखि साधरण गायकसम्म नजानिँदो तरिकाले भारतीय च्यानल र तिनमा देखाइने नखराका गुलाम बनेको प्रमाण उनीहरुकै उत्ताउला गीतबाट छर्लङ्ग हुन्छ । फिल्ममासमेत ती प्रभाव जम्न थाल्यो । नयाँ युगको सुरुवात गरेको फिल्म ‘लुट’ समेत त्यसको सिकार भएको मान्न सकिन्छ । धेरैले यसलाई मन पराएका छन् । नेपाली फिल्म र संगीतले भारतीय स्वाद पस्कन थालेको युगदेखि नै हामी नराम्रोसँग भारतीय मनोरञ्जन क्षेत्रको दवावमा छौँ । यो सत्य सबैतिर उपनिवेशिक ढङ्गबाट अघि बढेकोछ ।
यहाँ आँखाले देखिने जमिन हडपेको मात्र देखिन्छ । तर, नेपाली संस्कृति र परम्परा सधियौँ देखि हडपेको कसले देख्ने ? कैलाश पर्वतको चिसो ठाउँमा बस्ने हाम्रा आरध्य देव भगवान शिवको रुप त भारत वर्षले कल्पना गरिदिनु पर्ने, हनुमानलाई नेपालमा फल्दै नफल्ने नरिवल चढाउन पर्ने, हाम्रा देशका गौतम बुद्धले भारतीय पहिरनमा आफ्नो राज्य छोड्नु पर्ने । यो साँस्कृतिक एकता हो कि उपनिवेशिता ? प्राविधिक हिसाबबाटै खोजी गर्नुपर्ने बेला आइसकेको हो ।
भोलिका दिनमा यसरी नै टेलिभिजनमा भारतीय दबदबा कायम रहिरहने हो भने हाम्रो संस्कृति समेत उनीहरुको अधिनमा जानेछ । जमिन त फिर्ता ल्याउँला तर, के हामीले साँस्कृतिक दासत्व स्वीकार गरेको हो त ? साँस्कृतिक उपनिवेश खेपिरहेको नेपाल भारतबाट इतिहासको हरेक काल खण्डमा भने उपनिवेशता तोड्दै आएको छ । सेना, प्रहरी, सभामुख समेत भारतका हुने परम्परालाई राजाका बेलादेखि हटाउने काम भएको देखिन्छ । यो क्रम राष्ट्र प्रमुखहरुले जिम्मेवारीपूर्वक दायित्व बोध गर्नु पर्दछ ।
देशको स्वाधिनता रक्षाका निमित्त, यसमा भारतको बाटो हेर्नू भन्दा नेपालकै पहलकदमीबाट नेपालको टेलिभिजनमा भारतीय प्रसारण बन्द गराउन अति आवश्यक छ । आशा छ मिडियामा देखिए अनुसार भारतीय टेलिभिजन र तिनका कार्यक्रम प्रसारण नेपालमा बन्द हुन गएमा यसले नेपालमा सामाजिक र साँस्कृतिक विसंगति रोक्न ठूलो मद्दत मात्र गर्दैन कि यसबाट हाम्रो सूचना, साँस्कृतिक, धार्मिक र मनोरञ्जन क्षेत्र परिपक्क र आत्मनिर्भर समेत हुनेछ ।
प्रतिक्रिया