चैत ०३,
पोखरा । स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा सञ्चालित सामाजिक पत्रकारिता पुरस्कार २०७५ बाट वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरिने भएको छ । पोखराका वरिष्ठ समाजसेवी लीलाभक्त आचार्यद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक ९० वर्षको उमेरसम्म पनि क्रियाशील पत्रकार रिसाललाई दिने निर्णय गरिएको हो ।
स्वतन्त्र पत्रकार सङ्घ नेपाल केन्द्रीय समितिको शनिबार सम्पन्न बैठकले प्रतिभा छनोट समितिको सिफारिशअनुसार रिसाललाई उक्त सम्मान गर्ने निर्णय गरिएको हो । समितिकै सिफारिशमा धरान सुनसरीबाट प्रकाशित दिव्य रोशनी साप्ताहिककी सम्पादक मनिता राई (चाम्लिङ) लाई पत्रकार महिला सम्मान २०७५ प्रदान गरिने भएको छ ।
प्रत्येक वर्ष प्रदान गरिने सामाजिक पत्रकारिता पुरस्कारको राशि २५ हजार र सम्मानपत्र तथा पत्रकार महिला सम्मानको राशि रु. पाँच हजार तथा सम्मानपत्र रहेको छ । यसअघि पत्रकार महिला सम्मानबाट दुर्गा अधिकारी (कास्की), शीला गुरुङ (पर्वत), रवीना आलेमगर (तनहुँ), शान्ति राणा (कास्की), ईश्वरी पौडेल (स्याङ्जा) र सीता दर्नाल (रुपन्देही) सम्मानित बन्नुभएको थियो ।
प्रतिक्रिया