ताजा अपडेट »

तिलोत्तमाको सडकमै रोपाई : सरकारको चासो, मर्मतको काम सुरु

विहीबार, २५ असार २०७७
1 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्थानीयले सडकमै धान रोपेपछि सरोकारवाला निकायरुहको उपस्थितीमा समयमै सडक पीच गर्ने सहमति भएको छ । नगरको वडा नम्बर १३ र १४ अन्तरगत पर्ने पत्थरडाँडा तिनाउ सडक हिलाम्मेहुँदा सास्ती खेप्नु परेको भन्दै स्थानीयले विहिबार विहानै सडकमा रोपाई गरेका थिए ।

सडकमा धान रोपिएको तस्विरहरु विभिन्न सामाजिक सञ्जालमा भाइरल भएपछि प्रदेश ५ का सांसद तुलसी चौधरी, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख तथा सम्बन्धीत वडाका जनप्रतिनिधिहरुले सडककको अनुगमन गरेका थिए । अनुगमनपछि स्थानीयहरुसँग छलफल गरी सडक निर्माणको जिम्मा पाएको इन्द्रधनुष निर्माण सेवाका प्रतिनिधिलाई तत्काल काम सुरु गर्न निर्देशन दिइएको वडा नम्बर १३ का अध्यक्ष गणेश न्यौपानेले बताए । विश्वव्यापि कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाई भएको स्वीकार गर्दै अध्यक्ष न्यौपानेले काम हुँदाहुँदै पनि विरोधका लागि विरोध स्वरुप सडकमा रोपाई गरिएको आरोप लगाए । यसैगरी वडा नम्बर १४ का अध्यक्ष सोहन थारुले सडक व्यस्त भैरहँदा निर्माणको कामलाई तीव्रता दिन नसकिएको स्वीकार गर्दै काम हुँदाहुँदै सडकमा धान रोप्नु आफूहरुको विरोध गर्नका लागि मात्रै भएको बताए ।

यो सडकहुँदै विभिन्न उद्योगहरुमा कच्चा पदार्थ पुर्याउने टिप्परहरु दैनिक रुपमा सञ्चालन हुँदा सडकको अवस्था थप नाजुक बनेको हो । यसैगरी निर्माण कम्पनी इन्द्रधनुषका प्रतिनिधि देवचन्द्र घिमिरेले भने स्थानीय र नगरपालिका बीचको विवाद तथा लकडाउनका कारण समयका काम सम्पन्न गर्न नसकिएको बताए । ‘यही असार मसान्तमा सक्नेगरी गत माघ २६ गते निर्माणको सम्झौता भयो, नगरपालिकाको ५२ फिट चौडाईको मापदण्डमा सडक बनाउने कुरामा स्थानीयहरुसँग कुरो नमिल्दा विवाद उत्पन्न भयो त्यसकारण काममा केही विलम्ब भएको हो ।’– ग्लोबल आवाजसँगको कुराकानीमा घिमिरेले भने–‘स्थानीय र नगर बीचको सहमती लगत्तै निर्माणको काम सुरु गरेको एक हप्ता पनि नहुँदै लकडाउन भएपछि निर्माणको काम ठप्प बनेको थियो ।’ लकडाउन खुकुलो भएसँगै गएको जेष्ठ १८ गतेदेखि निर्माणको कामलाई पुन सूचारु गरिए पनि सडक मापदण्डका विषयमा स्थानीय र नगरपालिका बीच अन्यौलता उत्पन्न हुँदा काममा थप ढिलाई भएको उनले बताए ।

नगरपालिकाको सडक विस्तार मापदण्डमा सबै सडकहरु अनिवार्य ५२ फिट हुनु पर्ने भए पनि सो सडक विस्तार गर्दा स्थानीयको घर गोठनै जाने भएपछि सडक विस्तारले तिब्रता पाउन सकेन । निर्माण कम्पनीसँग कर बाहेक ५२ लाखमा निर्माणको सम्झौता भएको सडक विस्तार तत्कालका लागि नाली बाहेक ४० फिट चौडाइको बनाउने सहमती भएको वडा नम्बर १४ काअध्यक्ष थारुले बताए । तत्कालका लागि ६ सय मिटर लम्बाईमा मर्मतको काम गरिने सो सडकमा ६ मिटर चौडाईमा बेसको काम तथा साढे ५ मिटर चौडाइमा पीचको काम गरिने उनले बताए । तत्काल नगरको मापदण्ड अनुसार सडक विस्तार गर्दा स्थानीयको घर–गोठ जाने तथा बर्खाको समयमा समस्या हुने भएपछि नालीको काम समेत नहुने भएको हो ।