ताजा अपडेट »

राजनीतिक गाइजात्रा

विहीबार, २५ असार २०७७

अघिल्लो–अघिल्लो वर्षहरुमा ‘गाईजात्रा पर्व’साउनको अन्तिम हप्तादेखि भदौको पहिलो हप्ता वरपर पर्ने गर्दथ्यो। यति नै बेला भने गाइजात्राको झल्को दिने खालको राजनीतिक गाइजात्रा प्रारम्भ भएको छ । सचिवालयका बहुमत सदस्यहरु र एक कार्यकारी सहितले भन्दैछन कि ‘तिम्रो कार्यशैली, चिन्तन र व्यवहार पार्टी हित र जनहितको पक्षमा छैन ।

त्यसैले तिमीले सरकारको जिम्मेवारी र पार्टीबाट राजीनामा दिनुपर्दछ ।’ स्थायी कमिटिका बहुमत सदस्यहरुले पनि यहि कुरालाई समर्थन गरेका छन् । अर्थात् उनिहरुले पनि राजीनामा दिन पर्ने भनेका छन् । तर, जसले राजीनामा दिनपर्ने हो उनले भनेका छन् कि ‘मैले राजीनामा दिने प्रश्न नै आउँदैन । किनकि नेपालको एकमात्र राष्ट्रवादी नेता म मात्र हो । मैले राजीनामा दिँदा अर्को राष्ट्रियताको पक्षमा बोल्ने मान्छे हामीकहाँ छैन । अर्को कुरा जसले राजीनामा दिन भनेका छन् उनीहरु सबै भारतको निर्देशनमा यो कुरा गरिरहेका छन्। नक्शा छाप्यो भनेर छिमेकिले मेरो राजीनामा माग्न लगाएको छ । मैले राजीनामा दिदा राष्ट्रवादीहरुको पराजय र राष्ट्रघातीहरुको विजय हुनेछ । त्यसैले मैले राजीनामा दिन मिल्दैन।’

यहाँ के देखिन्छ भने एउटा कार्यकारी अध्यक्षले अर्को कार्यकारी अध्यक्षलाई ‘राष्ट्रघात’ गरेको अर्थात भारतीय निर्देशनमा राजीनामा मागेको कुरा गरेका छन् । अर्थात उनलाई भारतीय ‘दलाल’को रुपमा चित्रण गरेका छन् । यिनको पक्षमा उभिएका अर्थात् राजीनामा माग गरेका, सचिवालयका र स्थायी कमिटिका सदस्यहरु सबै भारतीय ‘दलाल ’को कित्तामा पर्न गएका छन् । अर्को रोचक कुरा र अचम्मको पक्ष के छ भने खबरदार पार्टीको जुनसुकै विधान र पद्धति होस् हामीलाई त्यस्को वास्ता छैन । तर ‘राष्ट्रवादी ’ नेतालाई तिमीहरुले राजीनामा माग्न पाउँदैनौ भनेर जिल्ला जिल्लामा नारा जुलुस पनि भएका छ्न । अझ अर्को थप रोचक कुरा के छ भने अर्का थरी भला मानुषहरु फेरि खबरदार ! महाशयहरु ! पार्टी फुटाउन पाइँदैन, जो जहाँ छौ, त्यहाँबाट तल–माथी गर्न पाइँदैन भनेर बडो चिन्ताका साथ आवाजहरु पनि उठाइरहेका छन् । राजनीतिक गाइजात्रा भनेको यहि त हो ।

विचार गरौं कि पहिलो नम्बरको कार्यकारीले दोस्रो नम्बरको कार्यकारलिाई ’भारतीय दलाल’ भनिरहनु भएको छ । सचिवालय र स्थायी कमिटिका सदस्यहरुले यहि दुइ नम्बरको कार्यकारिलाई समर्थन गरेका छन् । पहिलो नम्बरको कार्यकारीले सडकबाट समेत यो सन्देश दिइरहेका छन कि ‘बहुमत अल्पमतको कुरा म जान्दैन, विधि र प्रक्रिया के हो त्यो पनि म जान्दैन, मैले के मात्र जानेको छु भने ‘राष्ट्रघाती’ हरुको आदेशमा मैले राजीनामा दिन सक्दैन । अब भन्नुहोस ! भला मानुषहरु ! ‘राष्ट्रवादी र राष्ट्रघातीहरु’ के एउटै पार्टीमा बसिरहन सम्भव छ ? यदि साँच्चै नै ‘राष्ट्रघाती’ हुन् भने पार्टीले कारवाही गरेर हटाउने कि प्रिय कमरेडहरु ! आउनुहोस् सँगै बसौं’ भन्ने हो ? यदि यो कुरा गलत हो र मात्र आरोप लगाइएको हो भने लगाइएको आरोप के सामान्य छ ? त्यत्तिकै छाडिदिन मिल्ने विषय हो ?

आजसम्म यहाँहरुले पढेको मार्क्सवाद, कम्यूनिष्ट दर्शन, संगठानात्मक विधि, मूल्य र मान्यता के हो? ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’ को बारेमा व्यापक बहस हुन पर्ने कि नपर्ने ,यो कुरा के सामान्य दिमाग खराब भएको वा मदिराले लठ्ठ भएको मान्छेले बोलेको कुरा हो र ? के यति ठूलो गम्भीर प्रकृतिको कुरा बोल्न मिल्दछ ! अनि बोलेपछि प्रमाणित गर्न पर्ने कि नपर्ने ? यति ठूलो गम्भीर प्रकृतिको कुरा हुँदाहुँदै प्रेममा लठ्ठिएको युवकले ‘मलाई त्यही केटी चाहिन्छ ।’ भनेजस्तै ‘जे गर जसो गर तर, मलाई एकता नै चाहिन्छ ।’ भन्ने कुरा बालहठ बाहेक अर के हुन सक्दछ र ! अथवा दुई वटा केटाकेटी आपसमा झगडा गरे, पिटपाट पनि गरे अनि अभिभावकले दुबैलाइ सम्झाएर ‘ल भैगो, अबदेखि झगडा नगरे है’ भनेजस्तै कुरा हो र ?

दुई वटा मदिरा सेवन गरेका व्यक्तिहरु एक–आपसमा लडाई गरे भने पनि भोलिपल्ट छलफल हुन्छ र गल्ती गर्नेलाई माफी मगाउनेदेखि लिएर क्षतिपूर्ति दिलाउने कामसम्म समाजले गर्ने गर्दछ । यहाँ त देशका सबैभन्दा ठूला नेतृत्व बीचको कुरा छ, हामीले जे कुरा बोल्दछौं, त्यस्मा हाम्रो चिन्तन र दृष्टिकोण झल्कने गर्दछ । हाम्रो मानसपटलमा भएका कुराहरु बोलीमार्फत बाहिर व्यक्त हुने गर्दछन्। अर्थात् यस बारेमा गम्भीर चिन्तन मनन नगरिकन दुई जना जड्याहाहरुले हिजो बेलुकी रक्सीको तालमा के के भनियो, अब हामी मिलेर जाउँ भनेजस्तो कुरा हुन सक्दैन कि महानुभावहरु ! विचार, सिद्धान्त र दृष्टिकोण भन्दा बाहिर समस्याको समाधान खोज्नु भनेको पुनः दुर्घटना निम्त्याउनु हो ।

समस्या के हो ? विवादको खास कुरा के हो ? आजसम्म अध्यक्षले पार्टीको प्रायः कुनै पनि निर्देशन मानिरहनु भएको छैन । अतः वहाँका सर्वसत्तावादी चिन्तनलाई अनुशासनमा नबाँधिकन बलियो एकता कसरी होला ! अप्रेसन गर्ने बिरामीलाई सिटामोलको गोलीले कतिदिन थेग्न सक्ला र ! अनि वार्ता भनेको त भिन्न दुई पार्टीको बीचमा हुने गर्दछ, एउटै पार्टीमा त कमिटिगत निर्णय हुने गर्दछ । सचिवालय बैठक बस्छ, स्थायी बैठक बस्छ, त्यो पनि भएन भने सिसि बैठक बस्छ । अझ गम्भीर समस्या भए विस्तारित बैठक बस्छ । यो विधिबाट सत्य र असत्यको बीचमा रेखा नकोरिकन एकता गर्न सकिन्छ, भनेर सोच्नु वैज्ञानिक विधि हुन सक्दैन कि ! आगे यहाँहरुको जो विचार !