बुटवल । विश्वव्यापी कोरोना महामारीसँगै सरकारले आह्वान गरेको बन्दाबन्दीको अवधिमा आत्महत्याका घटनामा वृद्धि भएको छ । प्रदेश ५ मा विशेष गरी ग्रामिण क्षेत्रका तथा कृषकहरुले आत्महत्या गर्ने दर बढी देखिएको हो । गत चैत्र ११ गतेदेखि असार १८ गतेसम्म सय दिनको अवधिमा प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका छन् ।
प्रदेश प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार १ सय ७८ जना कृषकले आत्महत्या गरेका छन् । ७४ जना गृहणी, ३७ जना ज्याला मजदुरी गर्ने तथा ३६ जना बेरोजगारले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी लकडाउन अवधिमा २९ जना विद्यार्थी र अन्यले आत्महत्या गरेका छन् ।
महिलाको सङ्ख्या १ सय ९८ रहेको छ भने पुरुषको संख्या १८२ रहेको छ । आत्महत्या गर्नेहरुमा गाउँका २६६ जना तथा शहरका ११४ रहेका छन् । तथ्याङ्क अनुसार पछिल्लो असार महिनामा आत्महत्या गर्नेको दर थप वृद्धि भएको छ । असार महिनामा १८ दिनको अवधिमा सबैभन्दा बढी १२६ जनाले आत्महत्या गरेका छन् भने जेठ महिनामा १०२, वैशाख महिनामा सय जना तथा चैत्र ११ गतेदेखि सोही महिनाको मसान्तसम्म ५२ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेहरुमा २० जना बालबालिका रहेका छन् । उमेर समूहका आधारमा आत्महत्या गर्नेहरुमा युवाहरुको संख्या बढी देखिएको छ । लकडाउन अवधिमा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका ११६ जनाले आत्महत्या गरेका छन् । यसैगरी २६ वर्षदेखि ३५ वर्ष उमेर समुहका ११० जना युवाहरुले आत्महत्या गरेका छन् । ३६ वर्षदेखि ४५ वर्ष उमेर समुहका ५८ जना, ४६ देखि ६० वर्षसम्म उमेर समुहका ५२ तथा ६० वर्षदेखि माथीका २८ जनाले आत्महत्या गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयले गरेको विश्लेषण अनुसार एक्कासी आवेशमा आएर आत्महत्या गर्नेको संख्या बढी रहेको छ । १४६ जनाले आवेशमा आएर आत्महत्या गर्दा घर झगडाका कारण आत्महत्या गर्नेको संख्या ७२ जना रहेको छ । यसैगरी ६६ जना दिर्घ रोगी, २४ जना गरिबीका कारण, २२ जना माया प्रेमका कारण आत्महत्या गरेका छन् भने अन्य विविध कारणले आत्महत्या गर्नेको संख्या ३८ जना छ । त्यस्तै व्यवसायीक असफलताले ६ तथा प्रेममा असफल भएर ६ जनाले आत्महत्या गरेका छन् ।
प्रतिक्रिया