ताजा अपडेट »

कोरोना जन्तर र प्रगतिशिल दर्शन

विहीबार, १८ असार २०७७

इतिहासमा कहिल्यै नभएको बजार र बजारशास्त्रका मूल्य र मान्यताहरुले हाम्रो जनजीवनमाथि शासन जमाइरहेका छन् । के हामी त्यस्तो समाज चाहान्छौं जहाँ हरेक कुरा बिक्रीका लागि राखिएको हुन्छ ? या हाम्रो संविधानमा परिकल्पना गरिएको जस्तो समाजवादी व्यवस्था जहाँ बजार वा पैसाको भूमिका गौण हुन्छ ? सबै चिज पैसाले मात्र खरिद गर्न सकिने हो या केहि नैतिक र सार्वजनिक वस्तुहरु पनि हुन्छन् जो बजारले कदर गर्न सक्दैन, पैसाले खरिद गर्न सक्दैन ?

बजारका नैतिक सिमाहरु हुनुपर्छ भन्ने विचार राख्ने राजनीतिक दर्शशास्त्रका समकालिन अमेरिकी प्रध्यापक माइकल जे. स्याण्डर्सले ‘ह्वाट मनि क्याननट बाइ’ अर्थात् पैसाले के किन्न सक्दैन भन्ने किताब लेखेका छन् । किताबमा उनले समाजमा बजार र पैसाको भूमिका कस्तो हुनुपर्छ भन्ने नैतिक प्रश्नहरु उठाएका छन् । पैसा र व्यवसायिकरण/व्यापारिकरणले खेलकुददेखि शिक्षासम्मका चीजहरुलाई कसरी असर गर्न सक्छ भनेर थुप्रै उदाहरण प्रस्तुत गर्दै एउटा तार्किक बहसको उठान गरेकाछन् उनले आप्mनो पुस्तकमा । कोरोना महामारीले यतिबेला आधुनिक विश्व अर्थव्यवस्था चरम संकटमा फसिरहेको छ । रोगले भन्दापनि अब भोकले धेरै मान्छे मर्नुपर्ने हो कि ? भन्ने सन्त्रास व्याप्त छ । संकटको बेला त्रासको मनोविज्ञान फैलाएर कमाउने कुत्सित मानसिकता देखिनु खेदजनक कार्य हो ।

कोरोना भगाउने कोरोना कार्डको चर्चा छ हिजोआज । समाचारमा आए अनुसार एकजना नेकपा नेताको छोरा मार्फत किनेर यो जन्तर–अर्थात् तन्त्रशास्त्रका विधिअनुसार रोग वा दोषनिवारक मन्त्र, मूर्ति, अंक आदि कागजमा लेखि मन्त्र फुकेर सम्वन्धित व्यक्तिका घाँटी, पाखुरा आदि अङ्गमा बाँधिने वस्तु, बूटी जस्तै गरेर हाम्रा प्रगतिशिल कम्यूनिष्ट नेताहरुले भिरेर हिँडेको विषय सर्वत्र चर्चामा छ अहिले । वैज्ञानिक भौतिकवादी दर्शनबाट दिक्षित हाम्रा नेतागण यति सजिलै भ्रममा पर्ने अवस्था हुँदा पछि–पछि हिड्ने कार्यकर्ता र जनता दिग्भ्रमित हुने अवस्था हुन्छ ।

मार्कस्को एउटा भनाइ छ–यदि कसैले पूँजिपतिहरुलाइ झुण्ड्याउने÷ठीक पार्ने निर्णय गर्दा अर्को पूँजिपति डोरी बेच्न आइपुग्छ । अहिले कोरोना संक्रमणबाट बच्न बजारमा उपलब्ध सामाग्रीहरुको व्यापारले माक्र्सको भनाइलाई थप पुष्टि गर्छन् । कमसल गुणस्तरका मास्क, स्यानिटाइजर र साबुनहरुको व्यपार निर्वाध भैरहेको छ । निर्मलिकरण गर्ने रसायन र सम्वद्ध वस्तुहरुको व्यापारिक प्रवद्र्धन र विक्रिवितरण भैरहेको छ ।

हुन त नेपालमा मात्र होइन दक्षिण सुडानका राष्ट्रपति र वरिष्ठ मन्त्रीहरु प्नि भाइरस हटाउने भनिएको यस्तै कार्ड लगाएर सार्वजनिक भएको खबर इन्टरनेटमा खोजि गर्दा भेटिन्छ । यस्तो कार्ड लेबनान, मलेसिया, फिलिपिन्स लगायतका देशमा अनलाइन बिक्रीका लागि राखिएको छ । अमेरिका, थाइल्याण्ड र फिलिपिन्स लगाएतका देशले यसको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । वैज्ञानिकहरुले यो भाइरस हटाउने दाबि गरिएको कार्ड नक्कलि र बनावटी हो र यो मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ भनेका छन् । विश्व स्वास्थ्य संगठनले वारम्बार यस्ता अप्रमाणित वस्तुहरु विरुद्ध चेतावनी सहित सचेत गराएको छ । हाम्रा अगुवा भनिने नेता/कार्यकर्ता कति जागरुक र अपडेट रहेछन् ? जसले जे भन्यो पत्याइहाल्ने ।

कोरोना कार्डको व्यापारमा मात्र होइन विगतमा पनि व्यापारीहरुले आफ्नो व्यवसायको प्रवद्र्धन गर्न नजानिदो किसिमले सार्वजनिक छबि भएका व्यक्तिहरुलाई प्रयोग गर्ने गरेको पाईंन्छ । दश बर्ष अघि तत्कालिन राष्ट्रपति रामवरण यादवलाई युनिटी लाईफले प्रयोग गरेको थियो । त्यो देखेर धेरै मान्छे झुक्किए । करोडौंको ठगी भयो । त्यस्तै गोल्ड क्वेस्टको नेटवर्क मार्केटिङ्ग कारोबारमा कैयौं मान्छेको पैसा डुब्यो ।

के हो कोरोना कार्ड ?
यो कार्ड कोरोना भाइरस देखिनुभन्दा धेरै अघि सन् २०१५ मा जापानमा खास गरेर फ्लू (चिसोबाट हुने रोग, रुघा)को उपचारको लागि बजारिकरण गरिएको थियो । गत मार्च महिनामा नै जापानले यस्ता वस्तुरुको विज्ञापनबाट सबै बच्नुपर्छ भनेर सचेत गराएको थियो । विभिन्न व्यापारिक नामहरु जस्तैः एअर डक्टर, भाइरस सटआउट र क्लोरिन कार्ड भनेर बजारमा पाईंन्छ । तर यो कार्ड संसारमा कहिंपनि प्रमाणित नभएको, वैज्ञानिक आधार नभएको र व्याक्टेरिया होस् या भाइरसको नियन्त्रणमा प्रभावकारिता नभएको वस्तु हो । यस्ता कार्डमा क्लोरिन अक्साइड भन्ने रसायन हुन्छ । जुन बाहिरी सतहको निर्मलिकरण गर्न प्रभावकारि भएतापनि स्वास–प्रश्वास प्रणालिका लागि हानिकारक हुन्छ । स्वासप्रश्वासमा गम्भिर जटिलता ल्याउन सक्छ । छाला र आँखामा जलन हुनसक्छ । किन कि यो क्षारिय तत्व हो ।

प्रगतिशिल दर्शन
दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । दर्शनशास्त्रको प्रभाव मानव जीवनमा बहुआयामिक हुन्छ । प्रकृति र मानव समाजको भित्री आँखा हो । यही आँखाले हरेक वस्तुलाई हेर्ने, जान्ने, बुझ्ने र सोही अनुरुप आप्mनो धारणा र जीवन व्यवहार निर्धारण गर्दछ । दर्शनले मानिसलाई जीवन मुल्यप्रति चिन्तन गर्ने प्रेरणा दिन्छ । माओत्सेतुङ्गका अनुसार दर्शन सामाजिक व्यवहारबाट जन्मिन्छ । माओ भन्छन–दर्शन अघाएकाहरुबाट होइन, भोकाहरुबाट जन्मिन्छ । माक्र्सका शव्दमा हरेक साँचो दर्शन आफ्नै समयको बौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो । माक्र्सको सारगर्भित भनाइ छ–‘दार्शनिकहरुले अहिलेसम्म संसारको व्याख्यामात्र गरे, चुरो कुरा त संसारलाई बदल्नु हो’। भनाई अहिले पनि सान्दर्भिक छ ।

धेरैजसो राजनीतिक पार्टिहरुले जनतालाई सचेत र संगठित पार्ने भन्दा पनि उनिहरुको पिछडिएको चेतनाबाट फाइदा उठाउने उद्येश्यले राजनीतिक नेता भई मिहिनेत गरेको पाइँन्छ । यस्तो अवस्थामा दर्शनको अध्ययन बढी गर्नुपर्ने हुन्छ । भौतिकवादले जीवनका भौतिक मूल्यको उत्पादन गर्ने तरिकाले समाजको ढाँचा, मानिसका विचार तथा चेतना, राजनीतिक, सांस्कृतिक, नैतिक तथा कानूूनी मान्यतालाई निर्धारित गर्दछ भन्ने मान्यता राख्छ । समाज विकास भनेको एउटा सामाजिक आर्थिक व्यवस्थाको ठाउँमा अर्को बढी व्यवस्थित तरिकाको नियमित परिवर्तन हो ।

पूँजीवादको आधारभूत उद्देश्य मुनाफा कमाउनु हो । व्यक्तिगत सम्पत्तिलाई स्थान दिने हुनाले व्यक्तिवादी सिद्धान्तमा आधारित हुन्छ । यो अवस्थामा समाजमा सुव्यवस्था कायम गर्न धर्म र अलौकिक संसारको बयान गरेर धनि हुनाको औचित्य पुष्टि गर्ने र दुःख-कष्ट सहेर शोषण सहने बनाईंन्छ । जनताको स्वास्थ्यको समेत ख्याल नगरी वस्तु उत्पादन गरेर वितरण गरिन्छ । राज्यसत्तामा बस्नेहरु समेतले पूँजीपति वर्गको हित अनुसार काम गर्ने र जनतामा भ्रम सृजना गर्छन् । ओम्नी काण्ड र यति काण्डले यहि आँकलनलाई पुष्टि गरिरहेको छ ।

समाजवाद व्यक्तिवाद विरुद्धको राजनैतिक दर्शन हो । यसलाई समानतामा आधारित राजनैतिक सिद्धान्त मानिन्छ । उत्पादनका सबै साधनहरु मथि राज्यको नियन्त्रण कायम गराएर व्यक्तिलाई बढीभन्दा बढी सुविधा दिलाउने राज्यको कार्य क्षेत्रलाई व्यापक बनाउने चाहना राख्छ । सामूहिक हितलाई बढी महत्व दिइन्छ । समाजवादमा समाज वर्गविहिन हुन्छ । ऐतिहासिक र आर्थिक बर्चस्वको प्रतिमानहरु ध्वस्त गरि उत्पादनका साधनहरुमाथि सम्पुर्ण समाजको स्वामित्व कायम हुन्छ । न्यायबाट कोहिपनि बञ्चित नहुने र मानवता मात्र जातिकोरुपमा रहनेछ । जहाँ श्रमको संस्कृति सर्वश्रेष्ठ हुन्छ र तकनिकी (टेक्नोलोजी)को स्तर सर्वोच्च हुनेछ ।

अहिलेको सत्ताधारी नेकपा जसको स्थापना, विकास यहि कम्युनिष्ट÷समाजवादी दर्शनमा टेकेर भएको हो । अहिले नेता कार्यकर्ताको व्यवहार हेर्दा कतै यो विचार र दर्शनबाट विचलित त भएको होइन भन्ने सन्देह भैरहेको छ । संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख हुने भन्ने मान्यता व्यवहारिक कार्यान्वयनमा ल्याउनेबेला अहिले सरकार र नेताहरुका गतिविधिहरु ठिक विपरित दिशामा गैरहेको आभाष हुन्छ । पूँजीवादलाई प्रश्रय दिइरहेको देखिन्छ । पूँजीपतिहरुको पक्षपोषण गरिरहेको देखिन्छ ।

राज्यसत्ता ठूलो संगठित संस्था हो । त्यो देशका सम्पूर्ण जनताको करबाट त्यसको खर्च व्यवस्थापन भएको हुन्छ । साँच्चैजनताको हित गर्न बनाइएको संस्था हो भने त्यसले जनतालाई अति आवश्यक पर्ने शिक्षण, स्वास्थ्य, रोजगारको व्यवस्था र अझै महत्वपूर्ण काम खाने, लगाउने र बस्ने काम गरेर जनताका सबै आवश्यकता पूरा गर्नमा ध्यान दिनुपर्छ । आफूले जनताबाट कर उठाएर सुविधा उपभोग गर्ने, उता जनताका आवश्यकता पुरा गर्ने ठाउँमा व्यक्तिलाई शोषण गरेर नाफा कमाउने गरी संस्था संचालन गर्ने अनुमति दिने विरोधाभाषी काम भैरहेको छ।

रुढिवादी मानसिकता । आडम्बरी जीवनशैली, दलाल नोकरशाही प्रवृत्ति कम्युनिष्ट प्रवृत्ति होइनन् । प्रगतिशिल, अग्रगामी, गतिशिल विचारधारा हो कम्यूनिष्ट विचारधारा । यतिबेला नेपालमा साठी प्रतिशत भन्दा बढी जनमत कम्यूनिष्ट समर्थक छ । कृयाशिल कम्युनिष्ट पार्टिहरुको लोकप्रियता र उनिहरुले प्राप्त गर्ने गरेको लोकप्रिय मतले यहिं कुराको इंगित गर्छ । तर, श्रमजीवि सर्वहारा वर्गको उत्थान गर्ने कसम खाएर रगतको मसिले सहि गरेर कम्युनिष्ट पार्टिको सदस्यता लिएका पहिलो पुस्ताका समकालिन पाका नेताहरुको व्यवहार र शैलीले कतै कम्यूनिज्म वा समाजवाद द्धन्दात्मक भौतिकवाद विपरित तत्वज्ञान, अध्यात्म विद्या परस्त हुँदै गएको त होइन ? विगतमा हाम्रा क्रान्तिकारी नेताहरुल गरेको भैंसी पुजा गर्ने, दाम चढाउने, होलि वाईन पिउने, धर्मगुरुहरुसँग उठबस गर्ने कार्य र अहिले आएर कोरोना कार्ड/जन्तर भिर्ने नेताहरुको चरित्र र व्यवहारले सन्देह गर्ने प्रशस्त ठाउँ दिएको छ ।