बुटवल । चलचित्र निर्माता, निर्देशक तथा नायक भुवन केसीले आफ्नो बारेमा झूटा प्रचार गर्ने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई साइबर क्राइमको मुद्धा हाल्ने चेतावनी दिएका छन् । नायक केसीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै साम्राज्ञीलाई सम्बोधन गरेर आफूलाई ब्रेक दिन पिताजस्तो व्यक्तिको बारेमा अनर्गल र झूटा कुराहरू गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
नायक केसीले फेसबुकमा लेखेका छन् :
डियर साम्राज्ञी,
तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्सबाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्ति प्रती, तपाईं धन्यवादि हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु ! करिव ६ वर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भै सुपर हिट् भएको चलचित्र ड्रिम्सको सुटिङको क्रममा पानी खान पाइन, छाता ओेड्न पाइन, सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन वर्ष पछाडि र आज भोली मात्र म लगाएत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आश्चर्य लागेको छ ! आफुलाई ब्रेकदिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो बनाई पोष्ट गर्नुभएको र सामग्रीहरुको सम्बन्धमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ !!
अब उप्रान्त तपाईंले म भुवन केसीले विगत करिव चलिस वर्ष देखी नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातदिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठाहरुमा आघात पुग्ने गरी पुनः त्यस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम, फेसबूक या अन्य कुनैपनि सामाजिक सन्जालमा पोस्ट नगर्न सुचित गर्दछु !
मेरो यो सुचनाको बापजुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे वा गराएमा तपाईं माथि प्रचलित साइबर क्राईम र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट एथोचित क्षती पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनुको निमित्त आवश्यक कानुनी प्रक्रियाको थालनि गर्ने व्यहोरा तपाईंलाई बढो दुखका साथ जानकारी गराउँछु ।
भवदिय भुवन के.सी
सिनामंगल- काठमाडौं, वडा नं. ९
मिती २०७७ साल, अषाढ १८ गते
शुभम !!!
नायक केसीको निर्देशनमा बनेको चलचित्र 'ड्रिम्स' बाट डेब्यु गरेकी नायिका शाहले केसीले आफूलाई नयाँ कलाकारको रुपमा सम्मान नगरेको आरोप लाएर भिडियो सार्वजनिक गरेपछि उनीहरु बिचको विवाद दिनहुँ चर्किंदो छ ।
प्रतिक्रिया