ताजा अपडेट »

अबुमियाङ चम्किँदा आर्सनलको सहज जित

विहीबार, १८ असार २०७७

काठमाडौं । पिएरी ईम्रिक अबुमियाङको उत्कृष्ट प्रदर्शनमा आर्सनलले नर्विच सिटीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले नर्विचलाई ४-० ले हराएको हो । आर्सनलको जितमा अबुमियाङले दुई, ग्रानिट जाका र सेड्रिक सोरेसले एक एक गोल गरे ।

खेलमा अबुमियाङले ३३ औं मिनेटमा गोल गर्दै घरेलु टोली आर्सनललाई अग्रता दिलाए । ३७ औं मिनेटमा ग्रानिट जाकाले अग्रता दोब्बर बनाए । अबुमियाङले ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–० को बलियो स्थितिमा पुर्याए । ८१ औँ मिनेटमा सेड्रिक सोरेसले आर्सनलका लागि चौथो गोल गर्दै जित सुनिश्चित गरे ।

अबुमियाङ प्रिमियर लिगमा ५० गोल गर्ने आर्सनलको पहिलो खेलाडी बनेका छन् । जितसँगै आर्सनलले ४६ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ भने नर्विच रेलिगेशन जोनमा छ ।