ताजा अपडेट »

सहकर्मी कृष्णबाबु : बोल माया बोल…

बुधबार, १७ असार २०७७

गुल्मी । तिम्ले नै देको सिन्दुर र चुरा कहाँ राखम् के गरम्…’ बिचैमा छोडी जानेलाई फेरी भन्यौं र बिहे गरौं…,बोल न माया बोल एक वचन बोल… तिम्रै बोली छ मलाई अनमोल..’ यी गीतका शब्द लय यति बेला वास्तविक जीवनको कष्टकर भोगाई भोगी रहेकी छन्, केहि दिन अघि सडक दुर्घटनमा ज्यान गुमाएका पत्रकार कृष्णबाबु पाण्डेकी श्रीमती अर्पिता पोखरेल पाण्डेले ।

हुन पनि दुई बर्ष अघि मात्र बिवाह भएको थियो । दाम्पत्य जीवनको फूलवारीमा कपिला फक्रिदै थियो । गर्भको सन्तान काँखमा खेलाउने धोको पूरा गर्न दुबैले दिन गनेर बसेका थिए । पत्रकार पाण्डेका काका चक्रपाणी पाण्डेका अनुसार अहिले ६ महिनाको गर्भ भयो । असोज महिनामा उनीहरुले प्यारो सन्तान काँखमा खेलाउने सपना साँचेका थिए । बोल माया बोल…को त्यो गीतको अर्को टुक्काले पनि यो जोडीको अधुरो जीवन कथालाई निकै आत्मासात गरेको छ ।

त्यस गीतमा भनिएको छ ,‘स्वर्गको बाटो अफ्ठ्यारो होला कसरी जालन् नि…एक मुठी पानी खुवाउन नि पाइन तिर्खा पो लाग्ला नि… सति जाम् भनि यो तिम्रो सन्तान हुर्काया छ पेटमा… एकहोरो संसार देखाएर आउँछु पर्खे है गेटमा…’ हुनपनि एक्कासी दुर्घटनामा परेर अइँया पनि गर्न नपाई इहि लिला समाप्त भयो । एक मुठी पानी खुवाउन पनि पाईनन श्रीमति अर्पिताले । हुर्किदै गरेको त्यो पेटको सन्तान्… उफ ! जिन्दगी … कति बेला के हुन्छ भन्नै नसकिने । असार १४ गते रातको १० बजेर ३८ मिनेटको समयमा श्रीमतीसँग फोनमा ‘ल अब म खान आई हाल्छु’ भनेर जे कुरा भयो त्यसपछि एक वचन बोल्न पनि पाइनन् ।

घरमा पाकेको भात अनि त्यो कालोरात
कृष्णबाबुका काका पाण्डेका अनुसार त्यस दिन बिहान सैनामैनातिर प्रहरी अधिकारीहरुसहित उनी हिडेको र साँझसम्म सँगै भएको बताइन्छ । काका पाण्डे भन्नुहुन्छ ‘त्यस रात १० बजेर ३८ मिनेट जाँदा उनीहरु बुढाबुढीको फोनमा कुरा भएको रहेछ । खाना खान ढिला भयो भनेर श्रीमतीले फोन गरेपछि ल म आइहाले खाना खान’ भनेर भनेका रहेछन् । खान पकाएर श्रीमानलाई कुरेर बसेकी श्रीमती अर्पितालाई त्यो दाल , तरकारी ,चटनी र भात कालोरात बनी दियो ।

स्याङ्गजाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ दिर्घ कसारे गाउँमा २०४६ साल जेठ २६ गतेका दिन पिता रुकमाङ्गत पाण्डे र माता पार्वती पाण्डेको कोखबाट जन्मिएका कृष्णबाबु घरका एक मात्र छोरा थिए भने एउटी बहिनी छन् । ‘मैले नै हुर्काएको हुँ– त्यस वडाका वडाध्यक्ष समेत रहेका काका पाण्डेले भन्नुभयो– शव यहाँ ल्याएर दाहसंस्कार गरि सक्दा पनि पत्यारै गर्न सकिएको छैन ।’ उनको विवाह दुई वर्ष अघिको माघ महिनामा रुपन्देही फर्साटिकारकी अर्पिता पोखरेलसँग भएको थियो । एक वर्ष अघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा घर बनाएका थिए । ‘केहिदिन घर सिंगार्दै छु ।’ भन्दै थिए

घटना शंकास्पद भएको भनाई
वडाध्यक्ष कृष्णका काका भन्नुहुन्छ, ‘दुर्घटना शंकास्पद छ । गाडीमा चापी छैन । उ एक्लै थियो गाडीमा भन्ने कुरामा शंका छ । पुलिसले सिसिटिभिमा केहि छैन भनेको छ । फेरी शव उठाउने बेलामा पुलिस कै सामु शव उठाएको भिडियो कसले बनायो? करिब चार पाँच मिनेटको त्यस भिडियोमा यसको कोही मान्छे रहेन छन कि क्या हो भनेर भनिएको छ ।जुन भिडियो हामीसँग सुरक्षित छ । मलाई थ्रेड छ अंकल भन्दै थिए । हामी गम्भीर रुपमा छनबिन होस् भन्ने माग गरेका छौं । रुपन्देहीका पत्रकार विक्रम खड्काले पनि शंकास्पद लागेर गम्भीर अनुसन्धान होस् भन्ने माग गरेका छौं भन्दै हुनुहुन्थ्यो । हामी बोल्न सक्ने अवस्थामा छैनौं घरको एक मात्र छोरा नाती गुमाएका छौं । उनी श्रीमति बोल्न सक्ने अवस्थामा छैनन्।’ उहाँकाअनुसार एक दशक अघिदेखि कृष्णबाबुका रुपमा बुटवलका विभिन्न रेडियोहरुमा कार्यक्रम प्रस्तोतादेखि कला क्षेत्रमा लागेका थिए। काकाका अनुसार दुई फिल्म र करिब ४० वटा गीतहरुमा मोडलिङ्ग गरेका थिए ।

स्मृतिको पानामा सहकर्मी कृष्णबाबु
कृष्णबाबु र म न्यूज २४ टेलिभिजनका सहकर्मी भएर मात्र नजिक थिएनौं हामी । झण्डै एक दशक अघिदेखिका साथी–भाई थियौं । एक अर्कोमा झ्याम्मिदै जान थालेपछि हामी एक–अर्कामा तिमी,तपाई भनेर बोल्दा पराई जस्तो लाग्ने हुँदा तँ भनेर बोल्थ्यौं ।उमेरमा म अलि पाको दाजु भएपनि त्यस्तो ग्याप हामीमा थिएन। एउटै उमेरका जस्तै भएर हिडियो,बसियो । रमाइलो मूडमा भयो कि सँगै भएपनि झगडानै हो सँगै नभए फोनबाट पनि म र उसको झगडा नै चलि हाल्थ्यो । दुर्घटना पर्नु अघिको राती समय ख्याल गर्न सकिन म निदाउनै लागेको थिएँ । उताबाट फोन गरे उनले खै यार त्यो न्यूजरु फोन गरेर मेरो टाउँको खाई राखेका छन् भन्दै थिए । उ पनि झर्किए म पनि झगडा गर्न उ भन्दा के कम रु एकछिन बेस्सरी झगडा गरियो । सँधै त्यस्तै हो ।

झगडा गरेर दुबैले नबोल्ने अब भनेर फोन राखियो । त्यस पछि फेरी फोन गरेर मेलमिलाप सुरु हुन्थ्यो । नभएपनि अर्कोदिन त सरी यार भनेर फोन आउँथ्यो । त्यस रात पनि फेरी उताबाट फोन गर्छ नभए भोली बिहानै फोन गरौंला भनेर आशा गर्दै निदाएको थिएँ । अर्को दिन बिहान त आशको निरास पारीदियो । अहिले पनि तपाइँ तिमी भन्न आउन्न । तँ नै भन्न मन पर्छ । बिहानै उठे मोहन बस्नेत भानिजको फोन दुई कल आएको रहेछ । म निदाएको रहेछु । यताबाट मैले कल गरेर कुरा गर्दा त मेरा हात खुट्टा सेलाए तर, पत्याउन सकिन।

फेसबुक खोलेर हेर्छु भन्दा त पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले कृष्णबाबुको फोटा राखेर श्रद्धाञ्जली दिएको पो देख्छु त । पानी परेको छ । पाल्पामा बाटो अबरुद्ध छ भन्ने सुन्छु । तत्काल गाडी खोज्ने काम भयो तर, बुटवल पुग्ने सम्भावना न्यून देखियो । हात खुट्टा सेलाएका छन् । दिल दिमागले काम गर्न सकेको छैन । त्यही हाँसो ठट्टा त्यही चेहरा त्यही मुस्कान झल–झली मानस पटलमा घुमिरहेको छ । आँशु बर्बरी झरेका छन् । त्यसपछि न्यूज २४ टेलिभिजनको डेक्समा मुकुन्द दाहल सर , युवराज कँडेल सर र गोविन्द सरलाई फोन गरें । उहाँहरु पनि गला अवरुद्ध पार्दै भन्दै हुनुहुन्थ्यो ‘खै के भयो यार.. पत्यारै लागेको छैन ।’ अर्घाखाँची सहकर्मी नविन केसीसँग कुरा भयो । फोनमा बुद्ध टेलिभिजनका प्रवन्ध निर्देशक बिक्रम खड्का सरसँग पनि कुरा भयो । अब शव दिर्घ पठाउने तयारी छ भन्नुभयो । त्यसपछि बुटवल जाने सम्भव नदेखेपछि कपिलवस्तु सहकर्मी मनोज श्रीवास्तवलाई फोन गरेर तपाईले प्रदेश ५ को ब्यूूरो कार्यालयको तर्फबाट श्रद्धाञ्जली अर्पण गरि दिनुस् । हामी यतैबाट दिर्घ जान्छौं भन्ने कुरा भयो ।

म त्यो दिनैभरी बन्द कोठामा बसेर आँशु झार्नु शिवाय केहि गर्न सकिन । अहिलेसम्म पनि जसलाई भुल्न खोज्छु सक्दिँन । उसको बारेमा लेख्न खोज्छु हात काँपेका छन् । उ र म जहिलेपनि रमाइलो मोडमा भयो कि संगै भयौं । अझ समाता–समात गरेर लड्नु पर्ने । केहि महिना अघि पाल्पाको एक होटलमा दुई भाई मज्जाले लडियो । उ बलियो थियो र पनि मलाई असर नपर्ने गरि लड्ने । मैले चाहे त तँलाई किन राख्थे र भन्दै थियो पछि । मेरो नामका पछाडि पाण्डे झुण्डाउने र उसको नामका पछाडि सुनार झुण्डाउने हाँसो ठठ्ठा पनि भयो । दुई दिन मज्जाले बसियो । म संगै मेरो अर्को प्यारो भाई रमेश बिश्वकर्मा पनि गुल्मीबाट पाल्पा गएका थिए । उसको र मेरो औपचारिक कुरा कम , ठट्ठा बढी हुने गर्दथ्यो ।

चिनजानको सुरुवाती क्षणमा उ सञ्चारकर्मी भन्दा बढि कलाकार थियो । मोडलिङ्घ गर्दथ्यो । उसले मोडलिङ्ग गरेको न्यूूज मैले लेखेको थिएँ । पछि पनि उसले मोडलिङ्ग गरेको न्यूज लेख्ने जिम्मा मलाई दिन्थ्यो । गुल्मीकी अर्की कलाकार बहिनी शिलु भट्टराइले र खुमन अधिकारीले गाएको भंगेरी चरिले मैदानमा लरिलरर..गीत उसैले लेखेको थियो र मोडलिङ्ग गरेको थियो । फोन गरेर त्यो गीतको न्यूूज लेख्न भन्यो। बहिनी शिलु पनि त्यति बेलासँगै थिइन् । अहिले फोन गरेर शिलु बहिनीलाई उसको बारेमा कुरा गरे । दाजु बहिनी सँगै रोयौं । बोल्न सकेनौ फोन राख्यौं । शिलु , म र उ धेरै पटक संगै बसेका थियौं । चल्ती आएको …बोलको गीत गुल्मीकी अर्की बहिनी शान्ता परियार र खुमन अधिकारीले गाउनु भएको थियो ।त्यो सहित दर्जनौं गीत लेखन र मोडलिङ्ग गरेको मेरो प्यारो साथी र न्यूज २४ टेलिभिजनको सहकर्मी कृष्णबाबुसँग केहि महिना अघि तम्घासको एभरग्रिन होटलमा झगडा गर्दै बसेको यादले पनि मलाई सताई राखेको छ ।

एक दिन भार्सेतिर घुम्न जाने मेसो मिला यार भनेको त एकसाता जस्तै भए होला । मेरो छोरी प्रतिक्षा सुनार रेडियो स्काईमा समाचार वाचन गर्न थालेको थाह पाउन साथ फोन गरेर भन्दै थिए, ‘निकै गर्व लाग्यो दाई । उनलाई मेरो अनलाईनमा राख्छु ।’ उनले चलाउँदै आएको पावरन्यूज नेपाल अनलाइनमा भ्यूअर पनि बढ्दै थिए । मिलेर चलाउ त्यो अनलाईन भनेको एक हप्ता पनि भएको छैन । यूट्यूवहरुमा देखिएका विकृति विरुद्ध स्टोरी लेख्न उनैले भनेर मैले लेखेको थिएँ । जुन निकै भाइरल बनेको थियो । ३० वर्ष पुगेको हक्की स्वभावको केटा थियो । ‘औपचारिक कार्यक्रममा जाने होइन दाई खोजमूलक समाचार लेख्ने हो ।’ भन्ने गर्दथ्यो ।

अधुरै रह्यो त्यो सपना
न्यूज २४ टेलिभिजनको बुटवल स्थित प्रदेश ५ ब्यूरो कार्यालयमासँगै बसेर न्यूूज लेखेको रिर्पोटिङ्ग गर्न हिडेको , घरायसी दुःख,सुखका कुरा गरेको,एक अर्कासँग नभएको बेला पैसा सापटी आदन–प्रदान गरेको पलपलका ती स्मृतिले भक्कानो छुटेको छ । ब्यूरो प्रमुखका रुपमा निकै खटेको , कैयौं जोखिम मोलेको एक होनाहर पत्रकार थिए । न्यूज २४ टेलिभिजनको सिधाकुरा जनतासँग कार्यक्रमले उनलाई थप चर्चामा ल्याएको थियो । एकचोटी भैरहवा भन्सार तिर तस्करहरुको कर्तुत खोज्ने क्रममा रातको त्यस्तै साढे १२ बजेको हुँदो उनको क्यामरा खोसेछन् । तत्काल मलाई फोन गरेर ‘लौन दाई उठ् मेरो क्यामरा खोसे ।’ भन्दै थिए । थ्रेटमा रहेको कुरा उनले काकालाई पनि बताएको सुनियो ।

अब लकडाउन खुलेपछि गुल्मी बस्ने होइन बुटवलमै आएर जमेर काम गर्ने हो भन्दै थिए । औपचारिक कार्यक्रममा जाने होइन खोजमूूलक स्टोरी खोज्ने हो भन्थे । एउटा होनाहार र असल मित्र गुमाउँदाको पीडा शब्दमा ब्यक्त गर्न गाह्रो हुँदो रहेछ । भर्खर बनाएको त्यो घर अझै सजाउने , बुटवल ब्यूूरोलाई शसक्त बनाउने त्यो सपना अधुरै रह्यो । अरु भन्दापनि ती अर्पिता बहिनीमा वियोगको पीडा सम्झिँदा मुटु भक्कानिन्छ । सुखद दाम्पत्य जीवन बिताउने , अब छिटै सन्तानको बाबु आमा बन्ने रहर लाग्दा सपनाहरु उनले मोडलिङ गरेको आमामा समर्पित गीतमा भनिए झै सपनाहरु खरानी बनेर तिरैतिर बगेका छन् । कलिलो उमेर, केहि गरौं, भन्ने जोस जाँगर चल्दै थियो । उनको त्यो विवाह झलझली सम्झिन्छु ।

बेहुली भित्राए पनि बाजा तालमा दुबै झन् नाचेको भिडियो हेर्दा–हेर्दै गह भरियो । आफू खुब नाचेको, अरुलाई पनि नचाएको र बेहुलीलई माला पहिराउँदा र सिन्दुर पहिराउँदाको दृश्य हेर्न सकिदैन । उसको मुहार हेरिरहन्छु अनि अन्तर मन भन्छ ‘कृष्णबाबु , बोल न माया बोल एकचोटी बोल… तिम्रो बोली छ मलाई अनमोल… भावपूूर्ण श्रद्धाञ्जली…नाखे… सारालाई रुहाएर कहाँ हराऔं ? नचाहेर पनि भन्नै पर्ने अलविदा डियर… तिम्रो भौतिक शरिर हामीबाट टाढा भए पनि एक मुठी सास रहेसम्म मिस गरिरहनेछु ..अलबिदा डियर कृष्ण…