ताजा अपडेट »

छट्टू बिराला प्रवृत्तिका शासक

विहीबार, १८ असार २०७७

बिरालो बूढो भयो, मुसाहरु खोज्न जान सक्न छोड्यो, विगतमा बिरालोले गरेका हर्कत र चालबाजीबाट मुसाहरु सचेत भइ सकेका थिए । बिरालोले महिनौं प्रयास गर्दा पनि मुसाहरु छोप्न सकेन । बिरालोलाई कैयौंपटक भोक भोकै बस्न पर्यो, उसलाई रातभर निद्रा पर्न छाड्यो, गालामा हात राखेर रातभर उस्ले सोँचिराख्यो अब कसरी बाँच्न सकिन्छ त ! घण्टौं मन्थन गरेपछि उसले उपाय निकाल्यो । कसैको घरको पूूजा कोठामा गयो र रुद्राक्षको माला झिक्यो, केसरी चन्दन झिकेर निधारमा लगायो । घाँटीमा रुद्राक्षको माला, पहेँलो गम्छा झिकेर ओढ्यो र मुसाहरुका प्वालका नजिक पुगेर प्रवचन गर्यो ।

‘हेर मेरा बन्धुवान्धवहरु हो ! मैले केहिदिन अगाडि धार्मिक प्रवचन सुने, मैले गिताका श्लोकहरु सुने जस्ले गर्दा मेरो ज्ञानका चक्षुहरु खुले, मेरो ज्ञानको पर्दा खुल्यो, मैले महात्मालाई प्रश्न गरे ! हे महाराज ! मैले जीवनमा धेरै पाप कर्म गरेको छु, मैले धेरै मुसाहरुको ज्यान लिएको छु । अतः यो पाप कसरी कटाउन सकिन्छ ! महाराजाबाट आज्ञा भयो कि ‘हे बालिके तिमीले तिम्रा पापका कर्महरु कटाउनको निम्ति तिमी शाकाहारी बन्नु पर्दछ र चारधामको तिर्थ तिमीले गर्नुपर्दछ । अनि मात्रै तिमिले मोक्ष प्राप्त गर्नेछौ ।’ वहाँबाट आज्ञा भयो । यसर्थ मैले मेरा पापका कर्महरु कटाउन योगिको रुप धारण गरेको छु, शाकाहारी बनेको छु र चारधामको तिर्थ यात्रा गर्ने निर्णयमा पुगेको छु । यसर्थ हे ! वान्धवहरु हो ! तिमीहरु पनि मोक्ष प्राप्त गर्न चाहान्छौ, जीवनबाट मुक्ती चाहान्छौ भने मेरै अगुवाइमा एकै साथ सांसारिक मोहबाट मुक्ती पाउनको लागि चारधामको यात्रा गर्नुपर्दछ ।’

बिरालोको यो सारगर्भिक प्रवचन र उसको भेषभूूषा देखेर साराका सारा मुसाहरु आश्चर्य चकित परे , सत्यूूगको कल्पना गरे अनि बिरालो माथि विश्वास गरि उसैको अगुवाइमा चारधाम यात्राको निम्ति अगाडि बढे । सबै मुसाहरुले घोषणा गरे ‘प्रभु आजदेखि तपाईं नै हाम्रो गुर , तपाई नै हाम्रो पिता, तपाईं नै हाम्रो पालनकर्ता, तपाईं नै हाम्रो मोक्षदाता । तपाइँमाथी हामी पूूर्ण विश्वास व्यक्त गर्दछौं ।’भोलिबाट चारधामको निम्ति यात्रा प्रारम्भ भयो । दिनभरी भजन किर्तन चलिरहन्छ, हरे कृष्ण हरे राम कृष्ण कृष्ण हरे हरे, इस्वर अल्ला तेरा नाम सबको सम्मती दे भगवान । जब रातपर्छ अनि अँध्यारो हुन्छ अनि बिरालो एउटा मुसो समाउँछ र आफ्नो आहार बनाउँछ । उज्यालो हुन्छ फेरि भजन किर्तन चलिरहन्छ, रातपर्छ अनि एउटा मुसाको ज्यान जाने गर्दछ । महिनौं बिते, चाउरी परेको बिरालो मोटाएर तन्नेरी जस्तो देखिन थाल्यो, बिचरा मुसाहरुलाई केहि थाहा छैन ।

पूर्ण विश्वासका साथ अगाडि बढेका छन् । एकदिनको घटना यस्तो भयो कि मुसाहरुको समुहमा एउटा बिना पुच्छरको मुसा थियो, त्यसलाई सबैले चिन्दथे । बिरालोले त्यसैको आहारा बनाउन पुगेछ । चार दिनसम्म त्यो मुसालाई कसैले देखेन । शंका पर्यो, सबैले लेडे मुसो कहाँ छ ? भनेर प्रश्न गरे । अनि बिरालोले गुर्आउँदै भन्यो ‘लेडे मुसा त मेरो पेटमा छ । मूर्ख मुसाहरु ! बिरालो शाकाहारी हुन सक्छ भनेर विश्वास गर्ने थुक्क तिमीहरुको बुद्धी ।’ तत्श्चात् आफ्नो गल्तीप्रति पश्चाताप गर्दै बाँकी बचेका मुसाहरु दुलाभित्र पसे । नेपाली राजनीतिक परिदृश्यमा पनि हामीले यहि प्रकृतिका घटनाहरु देख्न र बेहोर्न परिरहेको छ । हिजोका दिनमा आफ्नै पार्टीभित्र जबरजस्त बिरोध हुँदा–हुँदै करोडौं करोड आम्दानीको कुरा गरेर राष्ट्रघाती महाकाली सन्धी गर्ने शासकहरु, तीन वर्ष अगाडि मधेश आन्दोलन भइरहेको समय चर्का–चर्का कुरा गरेर पहाड र मधेशको बीचमा वैमन्यश्यता पैदा गरी, नक्कली राष्ट्रवादको कार्ड प्रयोग गरि सत्तामा उक्लिएका शाषकहरु ! उतिबेला हामी झुक्ने छैनौं बरु साइकल चढ्ने छौं ।

‘हामी झुक्ने छैनौं,बरु केरुङ् नाकाबाट हामीले तेल पैठारी गर्ने छौं ।’ भन्ने नेताहरु, न त कहिले साइकल चढे , न त केरुङ् नाकाबाट तेल नै आयो । बरु यिनी आफैले बिहारबाट पाइप लाइनमार्फत तेल ल्याउने योजनाको उद्घाटन गरे । साइकल चढ्नै पर्यो भने पनि मेड इन नेपालको साइकल कहाँ पो बनेको छ र ! नेपालमा जति पनि साइकलहरु सबै मेड इन इन्डिया कै त छन् । राष्ट्रलाई आत्मनिर्भर र स्वाभिमान बनाउनको लागि उत्पादनमा जोड दिन सके पो हाम्रो स्वभिमान बलियो बन्दछ । राष्ट्रवादको कार्ड प्रयोग गरेर सत्तामा पुगेको शाषकवर्ग तीन वर्ष पूूरै सुतेरै बस्यो , राष्ट्रवादको र पनि उच्चारण गरेन । छ महिना अगाडि कालापानी, लिपुलेक र लिम्पियाधूूरा भारतीय शाषकवर्गले आफ्नो नक्सामा समावेश गरे पश्चात् संसद र सडकमा थुप्रै आवाजहरु उठे , संघर्षहरु भए । तर, सरकार कुम्भकर्णको निद्रामा सुत्यो । सरकार प्रमुख तपाइँहरुलाइ नक्सा किन चाहियो ! नक्सा चाहिएको हो कि भूूगोल ! भनेर ब्यंङ्ग गरे !

पछिल्लो पटक फेरि छिमेकीले मानशरोवर जाने सडक जो हाम्रो जमिनबाट खनिएको थियो, उद्घाटन गर्यो । यो घटनाको चौतर्फी विरोध भयो । यतिबेलासम्म शाषकवर्ग धेरै बदनाम भइसकेको थियो । पार्टीबाट समेत राजिनामाको माग उठिरहेको सन्दर्भ थियो । आफू चारै तिरबाट घेराबन्दीमा परेको स्थितिमा सर्वदलीय बैठकले समेत हाम्रो छुटेको भू–भाग नक्सामा समावेश गर्नै पर्दछ भनिसकेपछि बल्ल शासकवर्गहरु उक्त भूूभाग नक्सामा राख्न तैयार भए । यो घटनालाई पनि राजनीतिक कार्डको रुपमा प्रयोग गर्ने कोसिस गरियो । आफू सक्कली राष्ट्रवादी देखिने र अरुलाई गैर राष्ट्रवादि देखाउने निम्न स्तरका हरकतहरु गर्ने गरे । जब शासकहरु जनताबाट पूरै बदनाम हुन्छन् अनि जनताको ध्यान अन्यत्र मोड्नको लागि इमोश्नल नाराहरुको खोजी गर्दछन । जनता जनताको बीचमा, भूूगोल–भूगोलको बीचमा र जाति–जातिको बीचमा लडाउने र आफ्नो सत्ता स्वार्थ पूरा गर्ने घृणित कर्म गर्ने गर्दछन ।

नक्सा प्रकरणमा जनता विभाजित गर्न सफल नभएपछि शासकहरु फेरि नागरिकता विधेयकको मुद्दा उठाएर आफ्नो सत्ता लम्बाउने र एमसिसी परियोजनाबाट ध्यान अन्यत्रै मोड्ने षड्यन्त्रमा लागि रहेको कुरा सहजै अनुमान गर्न सकिन्छ । यदि शाषकहरु इमानदार हुन्थे भने विवादित विषयहरुलाई सबै दलका शिर्श नेतृत्वको बीचमा छलफलको माध्यमबाट समाधानमा पुग्न सकिन्थ्यो तर शासक समाधान चाहन्न, उसले त खाली आफ्ना खराब कर्महरु ढाकछोप गर्ने पर्दाहरुको सृजना गर्ने, मूूल विषयबाट ध्यान अन्यत्र मोडिदिने, जनता जनताको बीचमा भ्रम र घृणा फैलाइदिने र आफू सत्तामा बसिरहने कार्यहरु गरिरहेको हुन्छ । सबैलाई ध्यान रहोस् राज्य करिब–करिब असफल राष्ट्र बन्ने पूूर्व सन्ध्यामा छ । यहि परिपाटी र यिनै देश, जनता र राष्ट्रप्रति कुनै समवेदना नभएका भ्रष्टाचारी शासकहरु अझै केहि वर्ष सत्तामा बसिरहने हो भने देश के हुन्छ , कता जान्छ भन्न सकिँदैन ।

सत्ताको गुणगान र जिन्दावादको नारा लगाउनेहरुले अर्थ व्यवस्थाको बारेमा सोँच्नु भएको छ ? एक वर्षलाई खर्च धान्न सक्ने हामीसगँ कुनै व्यवस्था छैन भनेर अर्थ मन्त्रीले भनिरहेकै सन्दर्भ र सारा युवाहरु विदेशबाट फर्किएर बेरोजगारहरुको केन्द्र देश बनिरहेको सन्दर्भमा अझैपनी हाम्रो युगनायक शाषक भन्ने हो भने हाम्रो देश अगाडि कसरी बढ्ला ? लौ न ! सबैले चिन्ता गरौं । सबैको चेतना खुल्न पर्यो । खासगरी युवाहरुले चिन्ता गरौं । अतः समयमै सोचौं, विचार गरौं, शासकवर्गहरु पूूर्व देखाएर पश्चिम जान्छन् र पश्चिम देखाएर पूूर्व जान्छन । वाइडबडीदेखि दशौं भ्रष्टाचारका घटनाले देश आक्रान्त बनेको छ । तर, उन्नत सरकार असल राज्य भन्न छाडेका छैनन, निर्मला पन्तदेखि रुकुमसम्म हत्या, बलात्कारका घटना निरन्तर भइ रहेका छन, भोकको कारणले कतिपय नागरिकहरु मरिरहेका छन् । तर, न्यायपूूर्ण र मानव अधिकार सहितको राज्य यहि त हो भन्नेहरुको जमात अझै प्रशस्तै देखिन्छ ।

देश असफल राष्ट्रको पूूर्व सन्ध्यामा छ कि भन्ने सूचकांकहरुले बताइरहेका छन् । तर, कतिपय भलामानुषहरु ‘सुखी नेपाली, समृद्ध नेपाल’ भनेको यहि त हो भन्ने धृष्टता गरिरहेका छन् । संविधान माथि नै बलात्कार गर्ने दुष्शाहस भइरहेको छ । तर, सबैभन्दा राम्रो न्याय व्यवस्था भन्नेहरुको हुल अझै बाँकी नै रहेको छ । कमि कमजोरी बारे पश्चाताप गर्ने, गल्तिबाट पाठ सिक्ने, साामुहिकतामा अगाडि बढ्ने शासकहरुको कुनै चिन्तन नै छैन । खाली जालझेल र षड्यन्त्र मार्फत अगाडि बढ्न सकिन्छ भन्ने ज्ञान मात्र उनिहरुले आर्जन गरेका छन । उग्रराष्ट्रवाद र अन्धराष्ट्रवाद दुबै खराब विषय हुन । यो चिन्तनले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्दैन । शासकहरुको नियतलाई राम्रोसँग बुझौं । होइन भने छट्टुु बिरालाको विश्वासमा पर्दा पचासौं मुसाहरुको सर्वनाश भएजस्तै हाम्रो पनि सर्वनाश हुन सक्दछ, देशको पनि सर्वनाश हुन सक्दछ । समयमै होस् गरौं ।

ध्यान रहोस् ! आवश्यकताभन्दा बढी विश्वास र आवश्यकभन्दा बढी शंका गर्नु भनेको सम्बन्ध सुधार्नु होइन कि सम्बन्ध बिग्रने कुरा हो ।आवश्यकता भन्दा बढी विश्वास वा अन्धभक्तताले सर्व सत्तावादको जन्म हुन्छ भने आवश्यकभन्दा बढी आशंकाले पारिवारिक सम्बन्ध बिग्रन्छ । शंका र विश्वास, समर्थन र आलोचना नै दन्द्वात्मक भौतिकवाद हो । सबैलाई चेतना भया !