ताजा अपडेट »

बजार नपाएपछि अर्घाखाँचीमा लाखौंको बन्दा खेतमै नष्ट

मंगलबार, १६ असार २०७७

अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका–१०, अर्घाका प्रेमनारायण आचार्यले शुक्रबार करिब पाँच रोपनी खेतमा लगाइएको बन्दा खेतमै नष्ट गरे । एक महिनासम्म तरकारीले भाउ पाउने र बिक्री हुने आशमा बसेका आचार्यले अन्तिममा सबै तरकारी खेमै नष्ट गर्न बाध्य भएको गुनासो गरे ।

‘तरकारी खेत–बारीमै कुहिँएपछि खेतमै नष्ट गर्न बाध्य भयौं ।’ उनले भने, ‘अघिल्लो वर्ष त्यहीँ जग्गामा लगाएको तरकारीबाट करिब एक लाख रुपैयाँ आम्दानी भएको थियो । यो वर्ष भने बिक्री गर्न नपाएपछि एक रुपयाँ पनि आम्दानी भएन ।’ पत्रकारीतासँगै कृषि पेशालाई अंगाल्दै अगाडि बढेका आचार्यले पाँच रोपनी क्षत्रलफलमा बन्दा खेती गरेको बताउँदै बिऊ–बिजन र मलखादकै लागि २५ हजार लगानी गरेको बताए । ‘आफ्नो मेहनको फल त पाउने कुनै भएन, खेतीका लागि गरेको आर्थिक लगानी समेत डुब्यो ।’–दुःख व्यक्त गर्दै आचार्यले भने ।

यो समस्या उनको मात्र होइन त्यस क्षेत्रमा रहेका अन्य कृषकको पनि उस्तै छ । सन्धिखर्क नगरपालिका– १० अर्घा कै अर्का कृषक गणेश बन्जाडे पनि तरकारी खेतमै कुहिएपछि चिन्तित बनेका छन् । करीब १५ रोपनी जग्गामा लगाएको बन्दा खेतमै कुहिएर नष्ट गर्न परेको दुखेसो गर्छन् । ‘हप्तामा २ दिन लाग्ने हाट बजार पनि बन्द भयो, तरकारी बिक्री हुन पाएन अनि एकलाख लगानीमा तरकारी खेती गरेका तरकारी सबै कुहिएर गयो’ उनल भने, त्यसमाथि भर्खर धान फाल्न लागेको मकै सलहले नष्ट गर्न थाल्यो । ’ गत वर्ष त्यही जग्गामा तरकारीबाटै २० लाख बराबरको आम्दानी गरेका उनले अहिले एक रुपैँया पनि आम्दानी गर्न नसेको दुखेसो गर्छन् ।

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन गरेको ३ महिना बढी भयो । लकडाउनमा पनि अत्यावश्यक वस्तु एवम् कृषि उत्पादनको ढुवानी सहज बनाएको बताउँदै आएपनि किसान भने आफ्नो उत्पादन बिक्री नभएर खेत बारीमै तरकारी नष्ट गर्न बाध्य भएका छन् । तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा किनेर खान बाध्य भएका बेला ढुवानी समस्याले कृषको उत्पादन बारीमै कुहिएर जाने अवस्था आएको हो ।