ताजा अपडेट »

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीद्वारा स्थापना दिवसमा राहत वितरण

सोमबार, १५ असार २०७७

बुटवल । २२ औं स्थापना दिवशको अवसरमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले रचनात्मक कार्य गरेको छ । संघले सोमवार कोभिड-१९ बाट रेड जोनमा परेको होटल व्यवसायमा लागेका व्यवसायीहरु मध्ये केही अती पीडित व्यवसायीलाई राहात स्वरुप जनही ५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । त्यस्तै संघका पुर्व उपाध्यक्ष लिलाधर वस्याललाई औषधी उपचार खर्चमा राहात हुने गरि नगद ५ हजार प्रदान गरेको छ । वस्याल विगत लामो समयदेखि प्यारालाईसिस रोगबाट पीडित रहेका छन् ।

विगत वर्षहरुमा स्थापना दिवश साता व्यापी रुपमा मनाउदै आएको संघले यस वर्ष कोभिड–१९ को महामारीले गर्दा कार्यक्रमलाई सीमित गरि केही रचनात्मक कार्य गरेको अध्यक्ष समुन्द्र जिसीले बताए । उनले कोभिड-१९ को कारण विगत ३ महिना देखि सरकारले बन्द गराएको होटल व्यवसायले भोग्नु परेका समस्याको सवालमा सरकार जिम्मेवार हुनमाग गरे ।

सरकारले लिने शुल्कहरुलाई मिनाहा गर्न र घर वहाललाई न्यूनतम ५० प्रतिशत मात्र लिने व्यवस्था मिलाइदिन समेत अध्यक्ष जिसीले सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा होटल व्यवसायी महासंघ प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले मुलुकभरका ८० हजार होटल व्यवसायी र ४ लाख कर्मचारी मजदुर कोभिड–१९ का कारण समस्यामा परेको र सरकारले नै रेड जोनमा राखी व्यवसाय बन्द गराएकोले व्यवसायीलाई राहातका कार्यक्रम सरकारले ल्याउन माग गरे । उनले राज्यले पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरेको भन्दै अन्य व्यवसाय संचालन गर्न दिने होटल व्यवसायलाई नदिने गरेकोले समस्या विकराल बन्दै गएको धारणा राखे ।

होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार देवि कुमार श्रेष्ठले कोभिड-१९ ले पारेको समस्याका सवालमा महासंघले घोषणा गरेको कार्यक्रकलाई जिल्ला र प्रदेशले आत्मसाथ गरि अगाडी बढन आग्रह गरे । कार्यक्रममा होटल व्यवसायी महासंघ प्रदेश ५ का सदस्य राम प्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, प्रथम उपाध्यक्ष वाबुराम गौतम द्वितीय उपाध्यक्ष रोमकान्त पाण्डे सल्लाहकार वाबुराम श्रेष्ठ, महासचिव माधव कुमार खनाल लगायतले लकडाउनको समयमा विद्युत प्राधिकरणले साविकको आधारमा विद्युतमा डिमाण्ड शुल्क लिएकोले त्यसलाई सच्चाउन माग गरे ।