ताजा अपडेट »

तिलोत्तमामा सलह किरा व्यवस्थापनको लागि आर.आर.टि गठन

सोमबार, १५ असार २०७७

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले सम्भावित सलह किराको व्यवस्थापनको लागि र्यापिट रेस्पोन्स टिम (आर.आर.टि) गठन गरेको छ । नगर स्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा कृषिविज्ञ, कृषि प्राविधिक, कृषक, सुरक्षाकर्मीको प्रतिनिधित्व रहनेगरी आर.आर. टि. गठन गरेको हो ।

आर.आर.टि का सदस्यहरुमा तेजनारायण गैरे, रामेश्वर मण्डल, धनबहादुर खड्का, लक्ष्मण थापा, नरप्रसाद श्रेष्ठ र सदस्य सचिवमा कृषि शाखा प्रमुख दोमलाल भुसाल रहेका छन् । रुपन्देहीमा समेत सलह किरा देखिएको सन्दर्भमा नगरपालिकाले सम्भावित जोखिम व्यवस्थापनको लागि टिम गठन गरेको हो ।

बैठकले सलह किराको प्रकोप देखिएमा धुवाउन, आवाज निस्कने सामाग्रीहरु थाल, टिन, ड्रमलगायत बजाउन, लामा डोरीहरु खेतबारीको वारपार टाँगेर दुवैतिरबाट बालीनालीका बोट हल्लाउन, झुलको प्रयोग गर्न किसानहरुलाई आग्रह गरेको छ । बैठकमा कृषि विज्ञ तेजनारायण गैरेले सलहमा प्रोटिन पर्याप्त पाइने भएकाले यसलाई संकलन गरी कुखुरा, हास, माछालाई दानाको रुपमा दिन सकिने बताए ।

सलह किराको प्रकोप व्यापक बढेर विषादी छर्कनु पर्ने अवस्था आएमा कृषि प्राविधिकसँग सल्लाह लिन बैठकले किसानलाई आग्रह गरेको छ । बैठकले सलह किराको संभावित प्रकोप व्यवस्थापन पूर्वतयारीको लागि पावर स्प्रे मेसिन, फगिङ मेसिन खरिद गर्ने निर्णय पनि गरेको छ । नगर प्रमुख तथा कृषि व्यवसाय प्रवद्र्धन समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बैठक बसेको हो ।