ताजा अपडेट »

झ्याङ्लाको कृषि भिलेजमा रोपाई गरी मनाइयो राष्ट्रिय धान दिवस

सोमबार, १५ असार २०७७

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकाले १७ औं राष्ट्रिय धान दिवसका अवसरमा वडा नम्बर २ मा रहेको स्मार्ट कृषि भिलेज झ्याङ्लामा रोपाई गरि मनाएको छ । सरकारले तय गरेको ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भता र समृद्धि’ भन्ने मूल नाराका साथ गाउँपालिका अध्यक्ष होमबहादुर घर्ति, प्रवक्ता तथा वडा नम्बर २ अध्यक्ष राजेश श्रेष्ठले खेतमा खोक लगाएर रोपाई सुरु गरिएको थियो । गाउँपालिका तथा प्रदेश ५ सरकारको लगानीमा सञ्चालन भएको स्मार्ट कृषि भिलेज झ्याङ्लामा ७ सय रोपनी जग्गामा खेती गर्ने गरिएको छ ।

दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष घर्तिले तिनाउँलाई कृषिमा आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्न सम्भव भएको उल्लेख गरे । गाउँपालिकाले कृषिलाई व्यवसायीकरण गर्दै कृषकको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुका साथै अनुदानमा विउ विजन तथा उपकरणहरु उपलब्ध गराइरहेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले तिनाउलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताए । कार्यक्रममा झ्याङ्ला टोलविकास समितिका अध्यक्ष लोकबहादुर थापा, कृषि भिलेजका यमानसिंह थापा लगायत कृषकहरुको उपस्थिती रहेको थियो ।