तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोमबार १७ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाएको छ । वडा नं. ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसरको खेतमा धान दिवस मनाइएको हो । दिवसको अवसरमा नगरपालिकाको आफ्नै झण्डै चार विगाहा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए ।
रोपाइँ महोत्सवमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसान लगायतको सहभागिता थियो । रोपाइँको लागि वडागत रुपमा प्लट विभाजन गरिएकोमा जनप्रतिनिधिहरु बिहानैं खेतमा जुटेर उत्साहित रुपमा धान रोपाइँमा सहभागी भएका थिए । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्यदिन सोमबार तिलोत्तमाका जनप्रतिनिधिहरु धान रोपाईंमा जुटेका हुन् । नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफै गर्नेगरी रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकैं तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै कृषिमा व्यवसायिकता हुनुपर्नेमा जोड दिए।
निर्वाहमुखी कृषिले किसानको जीवनस्तर उठ्न नसक्ने चर्चा गर्दै उनले तिलोत्तमाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । वडाध्यक्ष सुखदेव न्यौपानेले रोपाइँमा सहयोग पुर्याउने क्लव, कुलापानी समितिलगायत सबैप्रति आभार व्यक्त गरे ।
यसैबीच तिलोत्तमामा कयौं वर्षदेखि बाँझो रहेका जमिनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो । कुल खेतीयोग्य जमिन ८ हजार ४४९ हेक्टरमध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकोमा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ ।
यस वर्ष जेठ दोस्रो साताबाटैं तिलोत्तमामा रोपाइँ सुरु भएकोमा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको छ । लकडाउनको कारण नगरबासीहरु फुर्सदिला रहँदा धान रोपाइँ विगतका वर्षमा भन्दा यो वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमिन बाँझो नराख्ने निर्णय गरेको हो । तीव्र शहरीकरण भैरहेको तिलोत्तमामा घडेरीको रुपमा विकास भएका कतिपय जग्गा बाँझा छन् ।
मूलतः यस्तै जग्गालाई लक्षित गरी नगरपालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै आफ्नो घर वरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न तिलोत्तमाबासीलाई बाटो खुलेको हो । यो वर्ष धान, तरकारीलगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ ।
प्रतिक्रिया