म दुबईबाट फर्केको हप्ता दिन नपुग्दैं सरकारले भोलिबाट चल्ने एसइई परीक्षा स्थगन गरेको खबर आयो । त्यसबेला बुटवल योगिकुटी स्थित जनजागृती माविमा शिक्षक मित्रहरुसँग भलाकुसारी गरिरहेको थिएँ । कोभिड-१९ को कहरका कारण परीक्षा नहुने भएपछि शुक्रबार नै सबै कक्षाहरु, होटल, होस्टल तथा अन्य सबै ब्यवसाय बन्द गरेर त्यस रात परिवार सहित हामी देवदह स्थित घर बाँस बस्न पुग्यौँ । त्यति बेलासम्म मलाई त्यति ठुलो त्रास थिएन जबसम्म भोलि पल्ट शनिवार राखिएको शैक्षिक परामर्शमा उपस्थित सम्पूर्ण विद्यार्थीहरु मास्क लगाएर कक्षामा अभिमूखिकरण कुरि रहेका थिए । सेशन पूरा भयो । सबै ब्यवसाय औपचारिक रुपमा बन्द गरेर म देवदह फर्किएँ ।
त्यसपछिका हरेक दिन विस्तारामै बसेर, घरमै आँफैलाई थुनेर १४ दिन पूरा कटाएँ । त्यति बेलासम्म लकडाउन, सेल्फ आइसोलेशन र क्वारेन्टिन जस्ता कहिल्यै नसुनिएका शब्दहरु रातारात विश्वभरी चर्चित बनिसकेका थिए । बाँच्नु छ भने यी शब्दलाई अनुशासनपूर्वक आफ्नो नयाँ जीवनशैलिमा उतार्नै पर्ने थियो । उसै समयमा घरमा साबुन पानिले नियमित हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, घर बाहिर ननिस्कने परम्परा शैलीको रुपमा विकास हुँदै गयो । आशा थियो चैत्र मसान्त अघि नै लकडाउन खुल्नेछ र जीवन फेरि सामान्य शैलीमा आउने छ । तर लकडाउन खुकुलो हुनुको सट्टा झन कडा र बढ्दै गयो ।
पहिलो क्रमको लकडाउन थपिएसँगै देशमा ठुला ठुला भ्रष्टाचारका घटनाले छापाहरुको विशेष ठाउँ ओगटे । समाचारमा आएअनुसार सरकार जनतामूखि नभएको स्पष्ट देखिन्थ्यो । तर पनि यस्तो बेला बाहिर निस्कनु हुन्न र सरकारलाई सहयोग गर्नु पर्छ भन्ने भावका साथ एक असल नागरिक सरह जिम्मेवार भइरहेँ । समय बित्दै जाँदा बुटवल घरमा केही समय बसिरहेका थियौँ, मलाई एकाएक बाहिरी घटना क्रम भन्दा पनि स्वयम् आँफैमा ध्यान जान थालेको महसुस गरेँ, मलाई मेरै बदलिएको परिस्थितिले झल्याँस्स ब्युँझ्यायो जब धेरै पछि आँफैलाई ऐनामा हेर्ने मौका पाएँ । म धेरै फेरिएको रहेछु । म एक दशक अघिको निलम भन्दा पूरै बेग्लै रहेछु । मेरा आँखामा डर थियो, प्रतिस्पर्धाको खौफ थियो । मेरा ओठमा कडा जबाफ झुन्डिएका थिए, ती कसैका लागि खस्नै आँटेका जस्तो लाग्थे । मेरो श्वास छिटो-छिटो बढिरहेको थिए ।
कतै ढिलो भएर म दौडिएर त्यहाँसम्म पुग्न खोजे जस्तो गरि स्वाँ स्वाँ गर्थें । मेरो मुटुको धड्कन चाँडो चाँडो गरि धड्किरहेको थियो । लाग्थ्यो कसैले म भन्दा धेरै कमाइसकेछ वा कसैले म भन्दा धेरै अघि पुगेछ । नसाभरी रगतको बेग बेग्लै थियो, आशिर्वाद दिने हातका हत्केलाहरु फरक थिए । मैले ऐनामा देखिएको मेरो आकृतिलाई हेरेँ । आँखा जुधाएँ । थाम्नै नसक्ने गरि आँखाबाट भर्रर आँशु गालाहुँदै हत्केलामा झरे । म मुख छोपेर खुबै बेर रोएँ । मलाई सुन्ने कोहि थिएन । म डाँको छोडेर रोएँ । मलाई देख्ने कोहि थिएन । म आँशु झरिन्जेल रोएँ । ‘मैले मलाई यो के बनाएछु ?’ बिस्तारा मुनि राखिएको वेट मेसिनलाई बाहिर झिकेँ । पुछपाछ पारेँ र जोखिएँ । अविश्वसनीय, मलाई ११० केजि देखायो । यसअघि धेरै अघि जोखिँदा म ७८ किलो को थिएँ । ‘मैले म माथि ठूलो अन्याय गरेछु ।’ त्यहि दिन मैले मलाई अनूभुत गर्ने मौका पाएँ । खुब घोरिएँ । मेरा वालापन सम्झिएँ । हरेक घटनाहरु सम्झिएँ र त्यसै दिन देखि फेरियो मेरो जीवन शैली ।
भोलि पल्ट सबेरै उठेँ । धेरै वर्ष भएको रहेछ विहानी प्रातकालको अनुभव नगरेको । आहा कस्तो मनोरम । सुर्यले आफ्नो प्रकाश छोड्दा आकाशमा देखिने रङ्गले यति मोहित बनायो मलाई त्यो अद्भुत दृश्य जति वर्णन गरे पनि कम हुन्छ । म जुत्ता र गेम ड्रेसमा सज्जिएँ भन्नू पर्छ किन कि मैले जमिन भनेर घरका आगन र अफिस का छत बाहेक धर्ती नटेकेको दशकौँ भइसकेको रहेछ । मर्निङ वाकका लागि, म त्यस दिन चौराहाबाट शिद्धबाबा जाने निधोसँगै घरबाहिर निस्किएँ । बन्द कारमा सवार गर्ने बानि परेकाले होला म आँफैले आँफूलाई असुरक्षित महसुस गरेँ । केही कदम हिँड्दासम्म म आँफूलाई एक दशक अघि झैं हिँड्न सक्छु भन्ने लागेको थियो तर केही कदम मै म थाकिसकेको थिएँ । म एक पटक रोइसकेको थिएँ तर पटक–पटक रुन चहान्नथेँ । तसर्थ थाक्दै, घिर्सिंदै बल गर्दै मैले बुटवल चौराहा देखि सुरु गरेको पद यात्रा सिद्धबाबा पुगी चौराह मै आएर अन्त्य गरेँ । प्रथम दिनमै मैले यो १२ वर्ष पछि पहिलो पटक ६ किलोमिटर २ घण्टामा हिँडेरै पार गरेँ । यस्ता यात्रा कसैका लागि बाध्य होलान्, कसैका लागि रहर होलान् । तर मेरो जीवनका लागि यो यात्रा लक्ष्यको रुपमा विकास भएको थियो ।
सुरुका ३ हप्ता मेरा पैतलामा ठुलै ठेला आए । मेरो शरीर कमजोर र जिर्ण भएको अनुभव हुन्थ्यो । मेरो ओजनका कारण मैले ब्यायम गर्न मिल्दैनथ्यो । तर हेर्दा हेर्दै वैशाख १ गते देखि मसान्तसम्म आइपुग्दा मैले १० केजि पूरै घटाउन सफल भएछु । कस्तो अचम्म, मलाई घिस्रिएर हिँडेको देखेर खिसि गर्ने सहपाठी मलाई भेट्याउन दौडिरहेका देखिन्थे । मैले यो हिँडाइलाई विहान २ र साँझ २ गरि ४ घण्टामा परिणत गरिसकेको थिएँ । हिँडाइसँगै मैले जेष्ठबाट योगा र स्ट्रेचिङ् थप गरेँ भने जेष्ठको पहिलो हप्ताबाट पेटका लागि प्ल्यान्क र ट्विस्ट थपिदिएँ । खाना ४ टाइमबाट घटाएर ३ टाइममा झारेँ । दिनको पहिलो भोजन बेसार, कागति, जिरा र अदुवा मिसाइएको पानि मध्यान्न १२ बजेबाट सुरु गरि अन्तिम भोजन बेलुकि ८ बजे भित्रै सिध्याइ सक्थेँ । मैले मेरो जीवन शैली फेरिँदै गइरहेको दुरुस्त अनुभव गर्ने मौका पाइरहेको थिएँ । म निकै खुशी र सन्तोष लिइरहेको हुन्थेँ। यो मैले अनुभव समेत गर्न थालेँ । जेष्ठ ३२ गते म ९५ किलो भन्दा कम ओजनमा झरेँ । अझै यात्रा बाँकी छ तर प्राप्त गर्न सकिने गरि म तयार भएकोछु फेरीएको मेरो जीजन शैली का कारण ।
भोजन र शारिरिक सुगठनको अलवा जीवनमा धार्मिक शैली पनि विकास भएछ । मैले मन्दिर नटेकेको र भगवानका अगाडि हात जोडेर यो सृष्टिका लागि भगवानलाई प्रार्थना नगरेको पनि कयौँ वर्ष भएका रहेछन् । मैले भगवानका अगाडि उभिएर मेरो स्वार्थीपनका लागि क्षमा मागे र आँफूलाई ईशवरप्रति समर्पित गरेँ । म वृश्चिक राशी, मंगलबार हनुमानको व्रत बस्न लागेको पनि आज ९ हप्ता बितेछ । ब्रतका दिन नुहाउनु अनिवार्य छ । यश दिन ब्रतभर सुत्न निसेधित छ । यस दिन ब्रम्हचारी पालना गर्नु पर्ने हुन्छ र साँझ आरति गरि एउटा भोजन गर्दा नूनसमेत बर्जित छ । आहा ! मेरो फेरिएको जीवन शैली ! म भगवानको ध्यान गर्छु । मन सफा राख्छु । आँफैलाई खुशी बनाउन अभ्यास गर्छु । धर्मको ध्यानमा रमाउनु एउटा त्यस्तो अभ्यास रहेछ जसले मानवको मानसिकतालाई पूर्ण सुद्धताको बाटो उन्मूख गराउँदो रहेछ । धर्मको विज्ञानले हाम्रो शरीर र आत्मा समेत शुद्ध बनाउन दिशा निर्देश गर्दो रहेछ । आत्मा शुद्धहुँदै गएको भएर होला आकाशमा उड्ने चराचुरुङ्गीसमेत आफ्ना साथीहरु झैं लाग्छ । तिनका चिरबिराट सुन्दा मन प्रफूल्लित हुन्छ । हो यिनै साथीहरुका लागि हरेक बिहान ब्यायामबाट फर्केपछि चार्हा र पानी राखेर उनीहरुसँग बातचित गर्ने गरेको छु । यो संसार उनीहरुको पनि हो भन्ने सत्य धेरैपछि फेरि मनन् गरेको छु ।
कहर धेरैका लागि डर लाग्दो रुप बनेर आएको होला तर यसका नकरात्मक असर सँगसँगै यसले अवसर पनि लिएर आएको हो कि भन्ने त्यति बेला लाग्यो जब बिहानी ब्यायमका बेला मैले धेरै पछि कौशिमा विउसँग मित्रता जोड्ने अवसर प्राप्त गरेँ । धेरै वर्ष वितिसकेका रहेछन्, माटोको नरमपन स्पर्श नगरेको, बोट बिरुवा हुर्कंदै गरेको नदेखेको, फलेका फलसँग अनाएकमै गफ्फा नमारेको । साँच्चै भन्दा प्रकृतिको प्रेमबाट वञ्चित भएको रहेछु । म साँच्चै नै परनिर्भरताको शिकार भएको रहेछु । यो पनि बदलिँदो परिवेश अनुसार एउटा मौका बनेर आइदियो । जब आत्मनिर्भरता र विषादिरहित भोजनको कुरा संसारभर उठ्न थाल्यो तब माटोसँगको पुरानो सम्बन्ध गाँस्न पुगेँ । आज कौसिमा म र मेरो परिवारले फलाएका लौका छन् । मिठा घिरिम्ला छन् । खुर्सानी आदि करिब आधा दर्जन वोटविरुवा र तीनका फल छन् । म दशकौंपछि छत चढेको रहेछु तर आजकल जीवन शैली फेरिएकोछ । घरबाट एकै दिन टाढा भएँ भने पनि ती बिरुवालाई पानी हाल्न र तिनिहरु हिजो भन्दा आज कति हुर्किएछन् भनेर हेर्न व्यग्र इच्छा हुन्छ । हरेक साँझ खाना खाएपछि तिनै विरुवाहरुको विचमा बसेर केही लेख्न थालेको छु ।
२०५७ सालमा दिपेन्द्र प्रहरी विद्यालय पोखराबाट एसएलसी पास गरेपछि मैले लेख्ने काम २० वर्ष पछि २०७७ सालमा बल्ल सम्झिएछु । जीवनमा हामी लेख्नेले नलेखिदिँदा अलि अलि लेख्नेले मलाई मेरो हैसियतका बारेमा प्रश्न गर्दै मेरो मन दुखाएको पनि ४ महिना बितेछ । कसैको विचारसँग विमत हुन सकिएला, प्रतिस्पर्धाको संसार छ, कहिले हारजित होला तर कसैको हैसियत उठाइ स्वाभिमान माथि ठेस पुर्याउन खोज्नु पट–मुर्खता हो किनकि यो २१ औँ शताब्दिको आधुनिक युगमा भगवानको सरणमा गएर अर्काको भाग्य र सफलता मा डाहा गरि ढुङ्गामा निधार ठोकि–ठोकि विलाप गरेर प्रगती हुँदैन, त्यसका लागि त कर्म गर्नु पर्छ, कर्म । जसले गर्दा सफलता दास होइन, भक्त बनेर आउनेछ । हामी नजानि–नजानि एउटा गल्ति गरिरहेका हुँदारहेछौँ । लेख्न सक्ने र समाजमा आफ्नो विचार स्वतन्त्र रुपमा राख्न सक्ने खुवि हुँदाहुँदै ब्यस्ततामा अस्तब्यस्त रहनाले नागरिकका माझ सहि र सत्य सुचना सम्प्रेषणमा ह्रास आई समाज गलत दिशान्मोख हुने हुनाले म लेख्ने हरुलाई लेख्न सल्लाह दिन्छु ।
आवाज उठाउनेहरुलाई आवाज उठाउन अनुरोध गर्दछु । जीवन शैली फेरिएछ क्यारे । १० वर्ष पहिले सुरु गरेको ‘बुटवल सक्षम छ अभियान’ मा सक्रिय भई सरकार र समाजका राम्रा पक्षहरुको तारिफ र गलत कामहरुको खबरदारिमा समय निकाल्न थालेको छु । युवाहरुका सयौँ समस्याहरुमा मिटिङ् गर्ने, कुरा मिलाउने र न्यायका लागि अग्रसर हुने काम मा फेरि पनि जोडिएको छु । साथै मैले धेरै पहिले देखि पूरा गर्न खोजेको पुस्तक उपन्यास ‘कियाना’ पनि लेखाइको अन्तिम चरणमा पुगेको सुनाउन पाउँदा निकै हर्सित छु ।
ब्यक्तिगत रुपमा जीवनशैली फेरिएकोसँगै संसारको शैली पनि फेरिएको छ । कस्तो दिन आयो दैब, फिल्ममा मात्र देखिने यस्तो कहर आँफैले भोगिरहनु परेको छ । मेरा मिलनसार साथीहरुले बुटवलबाट पोखरा आएका कारण कोरनाका त्रासकै कारण मलाई छुट्टै टुल बस्नका लागि दिँदा मन सार्है सानो भएको सम्झन्छु । कतिले नमस्कार गर्छन्, म नचिनि कसरी फर्काउँ । कतिलाई नमस्कार गर्छु कोहि चिनेकै पर्छन् कोहि अन्जान । अनि मन थाम्न मनमनै भन्छु, नमस्कार गर्दैमा के बिग्रन्छ र ? जीवनशैली फेरिएको छ । आजकल हुलमुलमा जान छोडिदिएको छु । साथीले म खर्च गर्छु भनेर बोलाए पनि नास्ता-पानी ठ्याक्कै बन्द गरेको छु । के नै रहेछ र जीवन ? बाँच्नका लागि पहिलो पटक काम गर्न छोडिदिएका छौँ । पहिले रोगलाई जितौँ त्यसपछि त जीवन रहे संघर्ष गर्न तयार भएरै बसेका छौँ, कहरले जीवन शैली फेरिदिएपछि !
प्रतिक्रिया